राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाढीबाट विस्थापित भएका मेलम्ची र त्यस वरपरका नागरिकलाई सुरक्षित बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
शनिबार प्रधानमन्त्री शेर बहादुर देउवालाई उनकै सरकारी निवास बालुवाटारमा भेट गरी राप्रपाका अध्यक्ष पशुपति शमशेर राणासहितका नेताहरुले बाढीबाट विस्थापित भएकाहरुलाई तत्काल सुरक्षित बाससहितको राहतको व्यवस्था गर्न माग गरेका हुन् ।
बाढीबाट ठूलो दुःख र पीडा भोगेर बसेका त्यहाँका स्थानीयलाई सुरक्षित बासको व्यवस्था मिलाउन प्रधानमन्त्री देउवालाई भेटेर ध्यानाकर्षण गराइएको अध्यक्ष राणाले जानकारी दिए । राप्रपाले बाढीबाट ज्यान गुमाएका र बेपत्ता भएका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
त्यसैगरी, बाढीले बगाएको स्थानीय पुल, सडक, विद्युत, खानेपानी लगायतका स्थानीय पूर्वाधार पुनर्निर्माण गर्न पनि ढिलाइ नगर्न सरकारलाई सचेत गराइएको छ । अध्यक्ष राणाले भन्नु भने, ‘पुल, बाटोघाटो लगायतका स्थानीय संरचना सम्पूर्ण निर्माण हुनु प¥यो । विस्थापित परिवारलाई राखिदिने उचित ठाउँको व्यवस्था हुनुप¥यो । क्षति भएका मानिसहरुलाई क्षतिपूर्तिको व्यवस्था गर्नु प¥यो । त्यो मेलम्चीका जनताको चित्कारलाई तत्काल सम्बोधन गर्न प्रधानमन्त्रीसँग आग्रह गरिएको छ ।’
राप्रपाले बाढीको कटानबाट मेलम्ची र त्यस वरपरको खेतीयोग्य जमिन जोगाउनका लागि तत्काल तटबन्ध निर्माण गरिदिन पनि सरकारसँग अनुरोध गरेको छ । अध्यक्ष राणाले सरकारले बाढीग्रस्त क्षेत्रका नागरिकलाई छिट्टै उचित राहतको व्यवस्था गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।