आमा बनेपछि आफ्नै खुट्टाले भर दिएर हिँड्न एक वर्ष लाग्यो

जिन्दगीमा उति धेरै सपना के नै थिए र ? रहर र भविष्यको कल्पनामा सधैं मुस्कुराइरहन्थ्यो शिक्षिकाको अनुहार । उनी शिक्षण पेशामा लागेर उज्यालो बाँढ्न चाहन्थिन् । अरूलाई उज्यालो बाँढ्न पनि त आफूभित्र भण्डारण गर्नु जरुरी थियो । त्यही भण्डारणको लागि सोफिया बेलायत पुगिन् । बेलायतमा बसेर अध्ययन गर्दैगर्दा उनले थुप्रै पटक नेपाल नै फर्किने चाहनाका लेख लेखिन् । नेपाली फिल्म क्षेत्रमा आफ्नो भविष्य खोजिरहेका मनोज पण्डितले सोफियाका लेखमा मन पढेका थिए । 

ठिक यही समय बेलायतमा नेपाली चलचित्र ‘दासढुङ्गा’को विशेष सो गरिएको थियो । प्युठानका विभिन्न स्कुलमा अध्ययनरत बालबालिकाको शिक्षामा सहयोग गर्ने उद्देश्यले प्रदर्शन गरिएको चलचित्रका बारेमा बुझ्न मनोजले सोफियालाई फोन गरे । उनीहरूको पहिलो सम्वाद नै त्यही थियो । 

बिहेको ३ दिनमा हजुरआमाको निधन

सोफिया अध्ययन बिदामा नेपाल फर्किने भइन् । घरमा बुढी हजुरआमा थिइन् । हजुरआमाको रहर नातिनीको गोडा धोएर पानी खाने । उनी जेठी नातिनी । उनी घर आइपुग्दा उनको बिहेको कुरा चलिरहेको थियो । सोफियालाई दवाब नै चाहिँ थिएन । तर उनी पनि आफ्नी हजुरआमाको मनोभावनाको कदर गर्थिन् । 

मनोजको घरमा पनि बिहेको कुरा चलेको । पढाइ सक्ने बित्तिकै नेपाल फर्किन लागेकी सोफियासँग उनी प्रभावित थिए । उनले त्यसताका बनाएका चलचित्रको कथा पनि यस्तै हुन्थ्यो । मनोजले सोफियालाई जीवनसाथीका रूपमा चुने । काठमाडौं आएपछि उनले बिहेको प्रस्ताव राखे । सोफियाले तत्काल प्रस्ताव स्वीकार गर्न सकिनन् । उनको परिवारमा फिल्म हेर्ने चलन थिएन । बुवा आर्मी भएकाले घरमा अनुशासनको घेरामा बस्नुपर्दथ्यो । टेलिभिजनमा फिल्म हेर्दा पुरा हेर्न नदिने बुवाले फिल्म बनाउने मान्छेलाई ज्वाइँ स्वीकार गर्लान् भन्ने लागेन । उनले भनिन्, ‘बुवाममीसँग कुरा गर्नु । उहाँहरूले गर्ने निर्णय नै मेरो हो ।’ मनोजले सोफियाका घरपरिवारसँग कुरा गरे । त्यही साल भाद्र कृष्ण जन्माष्टमीका दिन उनीहरूको विहे भयो । हजुरआमाको प्राण नातिनीको बिहेमा अल्झिएको थियो सायद । उनको बिहेको तेस्रो दिन हजुरआमाको निधन भयो । उनले बिहेको खुशी खुलेर मनाउनै पाइनन् । 



बिहेपछि फर्किएको सपना 

बेलायतबाट फर्किएपछि सोफियाको सपना थियो दुर्गम गाउँमा गएर अध्यापन गर्ने । उनको यो सपना भने विहेसँगै फेरियो । विहेपछि बदलिएको साइनो र सपनाभन्दा प्राथमिकतामा परेको पारिवारिक जिम्मेवारीका कारण सपनालाई तिलाञ्जलि दिइ उनी काठमाडौंमै बसिन्।



परिवारको चाहना नातिनातिनाको मुख हेर्ने । परिवारको चाहना अनुरुप नै सोफियाले आमा बन्ने निधो गरिन् । गर्भवती भएको थाहा पाउँदा सोफिया आफैंसँग लजाएकी थिइन् । मनोज खुशी थिए । सोफिया भने भित्रभित्रै डराएकी थिइन् । कहाँ चेकअप गराउने, कसरी सुरक्षित बच्चा जन्माउने भन्ने एकखालको डर सुरुबाटै सोफियाको मनमा डेरा गरी बसेको थियो । सुत्केरी हुन नसकेर मृत्युवरण गरेका महिलाका समाचार पढेर पनि निकै आत्तिन्थ्यो उनको मन । 

गर्भवती भएका सुरुका ३ महिना उनलाई निकै गाह्रो भयो । केही खान हुँदैनथ्यो । खान नसकेपछि उनलाई गाह्रो हुँदै गयो । उनलाई लाग्थ्यो, ‘म अब यस्तै रोगी हुने भएँ ।’ आमा बन्नुभन्दा पहिल्यै मर्छु क्या हो भन्ने पिरले थिचिरहन्थ्यो छाती । गर्भ बसेको थाहा पाएपछि सोफिया नियमित चेकअपका लागि ओम अस्पताल गएकी थिइन् । चेकअपका क्रममा सबै नर्मल रहेको बताए पनि डाक्टरले थुप्रै औषधि लेखिदिए । सोफियाले घर आएर औषधिका बारेमा गुगल  सर्च गरेर पढिन् ।  औषधिका बारेमा जानेपछि उनले निर्णय गरिन्, ‘यो औषधि खान्न । त्यो अस्पताल पनि जान्न ।’ सोफियाको भित्री मनले निर्णय त गर्यो । तर कुन अस्पताल जाने, कसलाई देखाउने दोधारमा परिन् । उनले एकदिन चाबहिलको स्तुपामा बसेर एक्लै सोचिरहिन् । कुनै टुङ्गोमा पुग्न सकिनन् । साथीलाई फोन गरेर आफ्नो समस्या बताइन् । साथीले पाटन अस्पताल जान सुझाइन् । पाटन अस्पताल गएपछि भने उनलाई निकै सहज महसुस भयो ।

 बच्चा गर्भमै हुँदा नाम

‘एस’बाट आफ्नो नाम । विद्यालयका हरेक जसो कार्यक्रममा भाग लिँदा सधैं अन्तिममा पर्ने । परीक्षामा पछाडि पर्ने । सोफियालाई लाग्यो, ‘मेरो बच्चाको नाम अगाडिकै अक्षरबाट राख्छु ।’ उनले छोरो जन्मिए अग्रिम, छोरी जन्मिए अग्रिमा नाम राख्ने कुरा श्रीमान सामु बताइन् । श्रीमानले उनको रहरमा कुनै विरोध जनाएनन् । मनोज र सोफिया दुबैको रहर छोरी जन्मियोस् भन्ने थियो । तर, उनीहरू दुबैले निर्णय गरेका थिए, ‘जे जन्मियोस् । एउटा मात्रै बच्चा बनाउने ।’
 
डाक्टरले साउनको २५/२६ गतेलाई ‘डेलिभरी डेट’ दिएका थिए । उनलाई साउन ११ गते नै प्रसव व्यथा सुरु भयो । छिनछिनमै ट्वाइलेट जान मन लाग्थ्यो । नजानिँदो तरिकाले पेट दुख्थ्यो । उनलाई प्रसव व्यथा यस्तै हुन्छ भन्ने थाहा थिएन । तर छटपटी बढ्दै गएपछि मनोजले उनलाई अस्पताल लिएर गए । अस्पताल गएपछि बल्ल थाहा भयो, ‘लेबर पेन’ रहेछ त्यो दुखाइ त । त्यही दिन उनी अस्पताल भर्ना भइन् ।  त्यो दिनभरि उनलाई व्यथा लाग्ने र छोड्ने क्रम चलिरह्यो । प्रत्येक पटक व्यथाले च्याप्ने समय छोटिँदै जान्थ्यो । सोफियालाई लाग्थ्यो, ‘जिन्दगी यत्ति रहेछ ।’ उनी फेरि सोच्थिन्, ‘म मात्रै मरेँ, मेरो बच्चा बाँच्यो भने कसरी हुर्कन्छ होला ?’ उनी अस्पतालको बेडमै रुन्थिन् । प्रसव व्यथाले छट्पटिएका अरू महिलालाई हेर्थिन् । उनीहरू आफ्ना श्रीमानलाई गाली गरिरहेका हुन्थे । उनलाई भने लाग्थ्यो, ‘श्रीमानहरू कति अभागी हुँदा रहेछन् । आफू बाबु बन्दै गर्दा श्रीमतीसँगै आएर त्यो दुःख हेर्न पाउँदैनन् ।’ 

प्रसवको अन्तिम चरण पुगेपछि सोफियालाई आफ्नो जिन्दगीको खुब माया लागेर आयो । भोलिपल्ट ११ बजे छोरो जन्मियो । छोरोसँगै जन्मियो सोफियाको अर्को जिन्दगी । उनलाई त्यसबेला लाग्यो, ‘आमा बन्नु भनेको मरेर बाँच्नु हो ।’ रहर छोरीको थियो । जन्मियो छोरा । ‘जन्मिएपछि त के छोरा के छोरी यो मेरो बच्चा भन्ने मात्रै हुने रहेछ’, सोफियाले त्यो क्षण सम्झँदै भनिन् । रगत सहित नर्सले छोरा छातीमा राखिदिए । सोफियाका आँखाबाट खुसीका आँसु झरे । त्यसपछि छोरो सफा गर्न लगियो । सोफियाको मनमा बच्चा साटिदिन्छन् भन्ने परेछ । उनले सकिनसकी बच्चा लगेको स्थानमा आँखा दौडाउन थालिन् । छोराको हातमा उनको नामको ट्याग लगाइएको थियो । त्यसपछि भने सोफियाको मन शान्त भयो । अस्पतालमा उनका आमा, बहिनी र मनोजका परिवार थिए । सबैले खुसीयाली मनाए । त्यही दिनको कान्तिपुर कोसेलीमा मनोजले आफ्नो सन्तानको नाममा लेखेको आर्टिकल छापिएको थियो ।

 आफैं उभिएर हिड्न १ वर्ष लाग्यो

छातीभरि उर्लिएर आउने मातृत्व । आफ्नो छोरा छातीमा बेरिरहन चाहने आमाको मन । आफैंले आफ्नो सन्तान टिपेर काखमा लिन नसक्नुको पीडा । ठिक यही बेला ‘कस्ती आमा होला आफ्नो बच्चा पनि बोक्न मन नगर्ने’ भन्ने आफन्तका वचन । अहो ! आफन्ती जिन्दगीमा काँडा बनेर बिझ्दा रहेछन् । ठ्याक्कै यही परिस्थितिबाट गुज्रनु पर्यो गायिका सोफिया थापाले जिन्दगीको केही समय । जिन्दगीको सबैभन्दा सुन्दर र पूर्णक्षण आमा बन्दा हुनु पर्ने हो । तर जीवन पूर्ण भएर पनि पूर्णको अनुभूति गर्न नपाउँदा निकै कहाली लाग्दो रहेछ । यस्तै कहाली लाग्दो समय झण्डै एक वर्ष रह्यो सोफियाको जीवनमा । यो क्षणले जिन्दगीका बाँकी यात्राका लागि अझै बलियो बनायो ।  सुत्केरी भएपछि उनलाई आफैं उभिएर हिँड्न एक वर्ष लाग्यो ।
 
बच्चा जन्मिँदा भएको घाउ निको भएन । उनी भित्तो समातेर मुस्किलले उठ्थिन् । छोरालाई आमाको दुध खुवाउनु पर्छ भन्ने थियो । उनी दुध त चुसाउथिन् । तर कति दुध आयो, बच्चा अघायो अघाएन थाहा पाउँदैनथिन् । छोरो रातभरि रुन्थ्यो । सुत्केरी भएको एक महिनापछि सोफिया माइत गइन् । माइतमा आमाले नातीलाई दुध नै पुगेको रहेनछ भनेर भैंसीको दुध खुवाउन थालेपछि छोरो रुन छोड्यो । यसपटक सोफियाका आँसु थामिएनन् । उनलाई लाग्यो, ‘म कस्ती आमा छोरो भोकले रुँदा पनि थाहा पाइनँ !’ जन्मिएपछि छोरो दिन प्रतिदिन स्वस्थ  हुँदै हुर्कियो । सोफियाको भने अवस्था परिवर्तन भएन । उनी लामो समय माइतीमै बसिन् । वरिपरिका आफन्तले बिचरा भन्थे । 

मनोज भेट्न जान्थे अनुहारमा अन्यौलता बोकेर फर्किन्थे । कतिले अब ठिक हुँदैन भनिदिन्थे । उनको मनमा निराशाको कालो बादल मडारिएर आउँथ्यो । उनी भित्रभित्रै टुट्थिन् । यही समय आफ्ना लाग्ने आफन्त टाढिए । उनलाई भने तिनै टाढिएका आफन्तले एकवचन कस्तो छ भनेर सोधीमात्रै दिए पनि हुन्थ्यो भन्ने लाग्थ्यो । त्यही बेला उनलाई थाहा भयो, ‘औधी माया गर्ने मानिसले घृणा पनि त्यही लेबलको गर्दो रहेछ ।’

यो अवस्थाबाट माथि उठ्न उनलाई उनका बुवाआमाले निकै साथ दिए । मनोजले पनि समाज र मानिसका बारेमा बताए । उनले आदर्श भन्दा पर रहेर सबै मानक भत्काउँदै जीवन ज्युन सिकाए । एक वर्षपछि भने सोफिया आफैं उठेर हिँड्न सक्ने भइन् । छोरो हुर्काउने क्रममा कति काम सोफियाले छोडिन् । कति काम मनोजले छाडे । संयुक्त परिवारमा हुर्किएकी सोफियाको छोराले हुर्कने बेला बाबुआमा मात्रै पाएनन् । संयुक्त परिवारमा छोरो हुर्काउन नपाएकी उनको मनमा त्यो अभाव भने आज पनि खड्किरहन्छ । उनी चाहन्थिन्, ‘आफ्नो बच्चा बलियो बनोस् ।’ तर एक्लै हुर्किएका कारण उनी सानो सानो कुरामा पनि रुने भए । ठूलो स्वरले बोल्दा पनि डराउने भए । छोरो ३ वर्षको भएपछि मात्रै सोफिया अध्यापनमा फर्किन् । 

कुराकानीको अन्त्यमा सोफियाले भनिन्, ‘बच्चा भएसँगै जीवनका प्राथमिकता र सपना फेरिँदा रहेछन् ।’ आमा भएपछि अगाडिको पढाइ छुट्यो । आमाको काखमा हुर्किन पाउने बच्चाको नैसर्गिक अधिकार टुटाएर सोफिया पढ्न निस्कन सकिनन् । उनलाई अगाडि अध्ययन गर्ने रहर अझै छ । भन्छिन्, ‘सके पढ्छु । नसके पनि दुखी हुँदिन ।’ करिअर की बच्चा ? धेरै महिलाले बच्चा नै रोज्ने गरेका छन । कालान्तरमा धेरै आमाहरू निराश पनि बन्ने गरेका छन । बच्चा हुर्कँदै गर्दा आर्थिक रूपमा सक्षम नभएका कतिपय महिलाको वैवाहिक जीवनमै फाटो समेत आउने गरेको यथार्थ सोफियाले पनि नियालेकी छिन् । सोफियालाई पनि बच्चा छोडेर काममा निस्कँदा निकै गाह्रो भयो । उनलाई अहिले लाग्छ, ‘हरेक अफिसमा बच्चा राख्ने नर्सरी भइदिए आमाहरू पनि सक्षम हुन्थे । परिवारको आर्थिक बोझ आफूले पनि लिन सक्थे ।’ महिलाको शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच हुने हो भने समाजबाट विभेद र असमानता हटेर जाने सोफियाको बुझाइ छ । 
 


 

  • प्रकाशित मिति : साउन २३, २०७८ शनिबार १३:१४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया