[सम्पादकीय] मुख्यमन्त्री पोखरेलमाथि उब्जिएका प्रश्न

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता भएपछि अस्वाभाविक र गैरराजनीतिक चलखेल आरम्भ भएको छ । प्रदेश प्रमुखमा अमिक शेरचन आएपछि विपक्षी गठबन्धन उत्साही भएको छ भने मुख्यमन्त्रीमा पोखरेललाई कायमै राख्न र उनलाई हराउन दाउपेच थालिएको छ । यही दाउपेचमा केही दिनअघि एउटा डरलाग्दो र चिन्ताजनक विषय बाहिर आयो । प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री निवासमा नै बन्धक बनाइएको आरोप लगाइन् । 

लुम्बिनी प्रदेशसभामा अहिले ८० सदस्य छन्, बहुमतका लागि ४१ मत आवश्यक पर्छ । अहिले विपक्षी गठबन्धन र सत्तापक्षबीच सांसद तान्ने होडबाजी चलेको छ । लुम्बिनीमा जीत–हारमा एक मत पनि बहुमूल्य हुन पुगेको छ । यही होडबाजीमा सांसद वलीलाई सत्तापक्षले ५ दिन (साउन १५ देखि २० गतेसम्म) बन्धक बनाएको आरोप लागेको छ । स्वयम् वलीले आफूलाई मुख्यमन्त्री निवासमा बन्धक बनाएको भन्दै पत्रकार सम्मेलन नै गरेर जुन तथ्य बाहिर ल्याइन्, त्यसले सत्यता प्रमाणित गर्न सकेको खण्डमा उक्त घटना नेपालको राजनीतिको सबैभन्दा विद्रुप दृश्य हुने निश्चित छ । 

 

याे पनि पढ्नुहाेस्—

‘अपहरित’ सांसद विमला वलीले भनिन्– मलाई मुख्यमन्त्री कार्यालयमा ‘बन्धक’ बनाइयो

 



प्रदेशसभाको उपनिर्वाचनमा जित हासिल गरेकी वलीलाई विजयी बनाउन नेकपाले महत्वपूर्ण भूमिका खेलेको थियो । उनी सूर्य चिह्न लिएर निर्वाचनमा उठेकी थिइन् । माओवादी र एमाले एकता भएर त्यस बखत नेकपा बनिसकेको थियो । तर, गत फागुन २३ गते सर्वोच्च अदालतले ती दुई पार्टीलाई पुनः पुरानै दलमा फर्किन आदेश दिएपछि सांसदहरु यताउता गर्ने क्रम अहिले पनि जारी छ । वली आफू माओवादीमै रहने दृढता व्यक्त गरिरहेकी छन् भने मुख्यमन्त्री पोखरेललगायत एमाले नेताहरु उनलाई आफ्नो पार्टीमा राखिराख्ने प्रयासमा छन् । र, वली एमालेमा रहँदा मुख्यमन्त्री पोखरेलको पक्षमा बहुमत पुग्ने हिसाब पार्टीले गरिरहेको छ । यही कारण पनि वलीलाई मुख्यमन्त्रीको निर्देशनमा अपहरणको शैलीमा बुटवल पुर्याइएको आरोपलाई बल मिलेको छ । 

बन्धक बनाउने जस्तो गैरकानुनी हर्कतको आरोप–प्रत्यारोप चलिरहेको छ । त्यसबारे खोजबिन र जाँच पड्ताल होला नै । तर, प्रश्न के उठाउन सकिन्छ भने, अविश्वासको प्रस्ताव आइरहेका बखत एकजना सांसदलाई मुख्यमन्त्री निवासमा ६ दिनसम्म किन राखियो ? दाङदेखि बुटवलसम्म प्रमुख सचेतक भूमीश्वर ढकालले आफ्नै गाडीमा हालेर लैजानु र ६ दिनसम्म बाहिर निस्कन नदिनुको पछाडिको कारण के हो ? वलीले आफूलाई अपहरणको शैलीमा उठाएर मुख्यमन्त्री निवासमा बन्धक बनाएको गम्भीर आरोप लगाएकी छन् । यसबारे मुख्यमन्त्री पोखरेल अहिलेसम्म केही बोलेको छैनन् ।



कुनै एक जना सांसदलाई आफूतिर तान्न सक्दा प्रदेश सरकार नढल्ने एमालेको ठम्याइ छ । अवस्था पनि त्यस्तै देखिन्छ । यसकारण पनि मुख्यमन्त्री पोखरेल यो खेलमा लागेका हुन् भन्ने आशंका गर्न सकिन्छ । यदि यो खेल सत्य हो भने नेता पोखरेल मात्र होइन, उनको दल नेकपा एमाले पनि सांसद किनबेच र अपहरण तथा बन्धक बनाउने फोहोरी दाउपेचमा लागेको स्पष्ट हुने छ । 

 

याे पनि पढ्नुहाेस्—

अपहरणको आरोप लागेका एमाले नेता भूमिश्वर ढकाल भन्छन्- हातखुट्टा बाँधेर ल्याएको हो र अपहरण भन्ने ?

 

शंकर पोखरेल विगतमा एमालेका प्रभावशाली मात्र होइन, सिद्धान्तनिष्ठ नेताको छवि बनाएका व्यक्ति हुन् । उनको इमानदारीमा पनि पार्टीमा चर्चा हुने गरेको थियो । तर, सत्ता र पदका निम्ति अहिले जुन खेलमा मुछिन पुगेका छन्, त्यसले उनको राजनीतिक भविष्यलाई धूमिल पारिदिएको छ । सत्यतथ्य छिट्टै बाहिर आउला नै, त्यसअघि पोखरेलले आफ्ना धारण सार्वजनिक गर्नु आवश्यक छ । अन्यथा, नेपाली राजनीतिमा पोखरेलले उनको दल नेकपा एमालेको छविमा समेत ठूलो आँच ल्याउने निश्चित छ ।

के एमालेले मात्र होइन, नेपालले नै आशा गरेका नेता पोखरेलले यसबारे बोल्नु पर्दैन ? 

 

याे पनि पढ्नुहाेस्—

विमला वली प्रकरण : अपहरणमा परेको उजुरी दिए के हुन्छ सजाय  ?

  • प्रकाशित मिति : साउन २४, २०७८ आइतबार ८:२५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया