शनिबारदेखि नेपाल मास्क अभियान २०७८ सुरु भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी मानिएको मास्क अभियान निकै तामझामका साथ सुरु भएको हो । यो अभियान एक सातासम्म चल्ने छ ।
यो अवधिमा कोभिड-१९ संक्रमण रोकथाम र नियन्त्रणमा मास्कको महत्व, प्रभावकारिता र मास्कको प्रयोग, यसको पहुँच, सही व्यवस्थापन, मास्कको गुणस्तरका सम्वन्धमा छलफल तथा अन्तक्र्रिया गर्ने र सही तरिकाले लगाउनका लागि सबैलाई उत्प्रेरित गर्न विभिन्न स्वास्थ्य सञ्चार सामग्री उत्पादन, प्रकाशन, प्रसारण तथा प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालन गरिने छ ।
यस अभियानलाई सफल बनाउनका लागि समुदायस्तरमा स्थानीय सरकार, महिला स्वास्थ्य स्वयंसेविका, रेडक्रस, स्काउट, युथ क्लब र अन्य स्वयंसेवक तथा साझेदार निकायको पनि सहभागिता रहने छ ।
यो अवधिमा सामाजिक सञ्जालमा प्रोफाइल परिवर्तन गर्न मिल्ने फ्रेम उपलब्ध गराउने, आमनागरिकलाई आफ्नो सेल्फी खिचेर #MaJimmewarNepali लेखी फेसबुकमा आफ्नो फोटो अपलोड गर्न लगाउने, प्रभावशाली व्यक्तिहरुको भिडियोलाई समावेश गरी मास्क सप्ताह बनाउने, मास्क लगाउने व्यवहारलाई प्रवद्र्धन गर्न भर्चुअल सांगीतिक कन्सर्टको आयोजना गर्ने, मास्क च्याम्पियनहरूको घोषणा र उत्सवको रुपमा मनाउनेसम्मका कार्यक्रम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिम्मा लिएको हो ।
कोभिड-१९ संक्रमण बढ्दै गएको सन्दर्भमा आमनागरिकमा मास्कको सही प्रयोग र यसको महत्व बुझाउँदै आवश्यक सचेतना जगाई व्यवहार परिवर्तन तथा प्रवद्र्धनका लागि प्रोत्साहन र उत्प्रेरित गर्ने उद्देश्यका साथ ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता, मास्क लगाउनु नै हो आजको आवश्यकता’ भन्ने नारासहित अभियान सुरु भएको हो । अभियान शनिबार एक कार्यक्रमका बीच स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले शुभारम्भ गरेका छन् ।
किन आवश्यक पर्यो मास्क अभियान ?
कोरोना महामारी रोकथाम तथा नियन्त्रणको प्रभावकारी माध्यम भनेको नै मास्क लगाउनु हो । महामारीको दोस्रो लहरको अवधिसम्म कोरोना महामारी नियन्त्रणका लागि जारी भएका जनस्वास्थ्य मापदण्डको पूर्ण पालन हुन सकेन । मन्त्रालयले हरेक व्यक्तिलाई अनिवार्य मास्क लगाउन अनुरोध गर्दै आएको छ । तर पनि यसको प्रभावकारी कार्यान्वय हुन सकेको छैन ।
जति आग्रह गर्दा पनि मास्क नलगाउनेको संख्या बढ्दै गएपछि मन्त्रालय मास्क लगाउने कार्यलाई अभियानकै रुपमा अगाडि बढाउन तयार भएको हो । स्वास्थ्य सेवा विभाग प्रमुख डा. आर पी बिच्छा मास्क नै पहिलो खोप भएको बताउँछन् । सरकारको एक्लो प्रयासले महामारी नियन्त्रण गर्न नसकिने भन्दै यसका लागि सबै नागरिक जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ । मास्क लगाउने कार्य प्रभावकारी नदेखिएपछि सचेतना फैलाउने उद्देश्यले अभियान नै सञ्चालन गर्नुपरेको डा. बिच्छा बताउँछन् ।
कोरोना त्रासले विश्व नै आक्रान्त छ । नेपालले पहिलो र दोस्रो लहरको कोरोनाको त्रास भोगिसकेको छ । अब तेस्रो लहरका संकेत देखिन थालिसकेको छ । कोरोना महामारीसँग लड्नका लागि सरकारले सकेसम्म प्रयास गरिरहेको, तर सरकारी प्रयासमा मात्र सम्भव नहुने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ बताउँछन् ।
अभियानबाट के हुन्छ ?
अभियान सञ्चालनपछि आमजनमानसमा मास्कबारे चेतनाको विकास हुने अपेक्षा सरकारको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा. राधिका थपलियाले अभियानपछि आमनागरिकमा मास्कको महत्व बढ्ने, यसबाट हुने फाइदाबारे चेतना बढ्ने, मास्कको विषयमा जनमानसमा परेको नकारात्मक धारणा अन्त्य हुने अपेक्षा राखिएको बताइन् ।
मास्क लगाउने व्यवहारलाई बढावा दिन ह्यास ट्याग ‘मजिम्मेवारनेपाली’ प्रयोग गरी राजनीतिक नेतृत्व, जनप्रतिनिधि, अग्रपंक्तिमा काम गर्ने कर्मचारी, सेलिब्रेटी लगायत आमनागरिकमाझ सामाजिक उत्तरदायित्व बोध गराउन यो अभियानको सुरुवात गरिएको निर्देशक डा. थपलिया बताउँछिन् ।
बोल्ने मुखलाई मास्कले छेक्दैन
स्वास्थ्य मन्त्रालयले जनचेतना फैलाउनका लागि विभिन्न उपाय अवलम्बन गर्दै आएको छ । चलनचल्तीमा रहेका उखान टुक्काको प्रयोग गरेर सचेतनामूलक सामग्री बनाउने काम पनि मन्त्रालयले थालेको छ ।
मास्क त लगाउने, तर यसको सही तरिकाले प्रयोग गर्न सकिएन भने कोरोना सर्नबाट रोकिँदैन । बोल्दा अप्ठ्यारो हुन्छ भन्दै मास्कलाई चिउँडोमा लगाउनेको संख्या निकै छ । ‘बोल्ने मुखलाई मास्कले छेक्दैन, चिउँडोका मास्कले कोरोना रोक्न सक्दैन’ भन्ने भनाइ अघि सारिएको छ ।
मास्क लगाउँदा कोरोना संक्रमण मात्र नियन्त्रण हुँदैन, यसले थुप्रै फाइदा गर्छ । एउटा मास्कका अनेक फाइदा छन् । मास्कको प्रयोगले कोभिड–१९ संक्रमण चक्र तोडिनुका साथै सामाजिक शिष्टाचार समेत झल्किन्छ । लक्षण नभएका व्यक्तिहरुले पनि भाइरस सार्न सक्ने भएकाले सबैले मास्क लगाउँदा सबै नै सुरक्षित हुन्छन् । यसबाट एक अर्काप्रतिको सम्मान भाव पनि झल्किने निर्देशक डा. थपलियाको बुझाइ छ । मास्क लगाएर र जनस्वास्थ्यका अरु मापदण्ड पालना गर्दा जीवन फेरि सामान्य बनाउन सकिने उनको भनाइ छ ।
त्यस्तै, सबैजनाले मास्क लगाउन थाले संक्रमण कम हुने र आर्थिक गतिविधिलाई पनि सहज बनाउन सकिने छ । मास्क लगाउँदा कोभिड–१९ बाट मात्र नभई अन्य सरुवा रोग, धुवाँ-धुलोबाट पनि बच्ने भएकाले शारीरिक स्वस्थता बढ्ने निर्देशक डा. थपलियाको बताउँछिन् ।
मास्क लगाउँदा न त शरीरमा अक्सिजनको कमी हुन्छ न त यसबाट कुनै बेफाइदा हुने भएकाले यसको अनिवार्य प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।
मास्क लगाउँदा विभिन्न कुरामा ध्यान दिनुपर्ने डा. थपलिया बताउँछिन् । मास्क लगाउनुअघि साबुनपानीले राम्ररी हात धुने, मास्क लगाउँदा वा फुकाल्दा मास्कको अगाडिको भाग नछुने, नाक, मुख र चिउँडो छोपिने गरी लगाउने, मास्क फुकालेपछि फेरि साबुनपानीले राम्ररी हात धुनुपर्ने उनले बताइन् ।
महामारी नियन्त्रणमा हाम्रै हात
कोरोना महामारी नियन्त्रणका लागि ९० प्रतिशत जिम्मेवारी आमनागरिकको छ । जसमा सबैले अनिवार्य मास्क लगाउने र दुई मिटरको भौतिक दूरी कायम गरिदिने हो भने महामारी आफैं नियन्त्रणमा आउने कोभिड-१९ युनिफाइड अस्पतालका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत प्रा.डा. जागेश्वर गौतम बताउँछन् । महामारी नियन्त्रणको लागि १० प्रतिशत मात्र अस्पताल, डाक्टर, सरकारजस्ता निकायको काम रहेको उनको भनाइ छ ।
‘अनिवार्य मास्क लगाउने र दुई मिटरको भौतिक दूरी कायम गरिदिने हो भने हाम्रो केही काम हुँदैन । यति गरिदियो भने आइसियू, भेन्टिलेटर, अक्सिजन, डाक्टर, अस्पताल केही पनि चाहिँदैन,’ उनले भने । अस्पतालको जिम्मामा १० प्रतिशत काममात्र दिने हो भने महामारी नियन्त्रणका लागि धेरै समय नलाग्ने उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।