Mon, 19 Nov, 2018


काठमाडौंमा रात्रि व्यवसायः गुन्डाभन्दा प्रहरीको बढी डर !
सागर चन्द  |  असोज १९, २०७५

काठमाडौं– काठमाडौंका चहलपहल हुने ठाउँमा अहिले पनि केही व्यक्ति व्यवसाय चलाइरहेका हुन्छन् । सानो ठेलामा विभिन्न खानेकुरादेखि लिएर चियासम्म बेच्छन् उनीहरू ।

रातभर सडकमा बसेर सानोतिनो व्यापार गरेर गुजारा चलाइरहेका उनीहरूलाई सहज भने छैन । हामीले एक रात चक्रपथ पूरै घुमेर रातभर सडकमा व्यापार गरिरहेकाहरूको कथाव्यथा समेट्ने प्रयास गरेका छौँः 


धोबीखोला 

मदन भण्डारी मेमोरियल कलेज अगाडिको सडक किनारमा साँझ ४ बजेपछि ठेला गुडाउँदै आइपुग्छन् चौधरी दाजुभाइ । 

सप्तरीका सुरेश चौधरी र सुनसरीका नूतन चौधरीले धोबीखोला किनारमा ठेला चलाउन थालेको तीन महिनाजति भयो । 

सुरेश भर्खर २० वर्ष पुगे भने नूतन २६ वर्ष । सुरेश गाउँमै प्लस टु सकेर उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका हुन् । नूतन भने साढे तीन वर्षअघि कामको खोजीमा काठमाडौं छिरेका थिए ।

कामकै खोजीमा नूतनले एक वर्ष निर्माण मजदुरको काम गरे । त्यसपछि नूतनले कुकिङ तालिम लिएर साढे दुई वर्ष ‘बाजेको सेकुवा’मा काम गरे । गत जेठ ३० गते सरकराले बाजेको सेकुवामा सिलबन्दी गरेपछि नूतनले आफै व्यवसाय गर्ने योजना बनाए । अनि उनले ठेलामा मःम, ससेजलगायतका फास्ट फुडको व्यापार गर्न थाले ।

व्यवसाय चलाउनका लागि उनले नातेदार भाइ सुरेश चौधरीसँग सहकार्य गरे । बाजेको सेकुवा बन्द भएपछि रोकिएको नूतनको नियमित आम्दानी अब आफ्नै व्यवसायबाट हुन थालेको छ । उच्च शिक्षा अध्ययन गर्न काठमाडौं आएका सुरेशलाई पनि पढाइ खर्च घरबाट माग्ने अवस्थाबाट मुक्ति मिलेको छ ।

यसअघि बाजेको सेकुवामा काम गर्दै आएका नूतन बाजेको सेकुवामा सिलबन्दी गरिएपछि भने मारमा परे । उनले बाजेको सेकुवामा साढे दुई वर्ष काम गरे ।

नूतनले बाजेको सेकुवाबाट जेठ महिनाको तलबको आधा रकम मात्रै पाएका छन् । ‘कम्पनी बन्द भयो भनेर आधा तलब मात्रै दिए,’ नूतनले भने । 

अहिले दैनिक तीन हजार रूपैयाँ आम्दानी गर्ने ठेलाबाट जीवन निर्वाह गर्ने सोचमा चौधरी दाजुभाइ पुगेका छन् । 

नूतनले विदेश जान भनेर पासपोर्ट पनि बनाइसकेका थिए । उनले पासपोर्ट बनाउनु र बाजेको सेकुवा बन्द हुनु एकै समय भयो । विदेश जानुको सट्टा उनले आफूले जानेको सीपले नेपालमै उपयोग गर्ने निधो गरे । अनि उनले रोजे– मःम ठेला ।

ठेलाका लागि चौधरी दाजुभाइले ९० हजार रूपैयाँ लगानी गरेका छन् । ‘सबै ऋण गरेका हौं,’ सुरेशले सुनाए । ठेलाबाट हुने आम्दानीबाट पहिले ऋण तिर्ने सोचमा छन् चौधरी दाजुभाइ । 

१२ कक्षासम्म पढाइ गरेका नूतनको परिवारमा आठ जना छन् । नूतनले ठेला चलाउन थालेपछि नूतनका बुबा काठमाडौं आएर छोराका व्यापार हेरेर फर्किए । ‘आफ्नै दुकान देखेपछि बवा पनि खुस हुनुभएको छ,’ नूतनले मुस्कुराउँदै सुनाए ।

ठेला पसलबाट जीवन निर्वाह गर्ने सोच बनाएका चौधरी दाजुभाइलाई प्रहरीको भने डर लागिरहन्छ । ठेला पसलमा बसिरहँदा चौधरी दाजुभाइका आँखा र कान चनाखो भइरहन्छन् कतै प्रहरी आउँछ कि भनेर ।

काठमाडौं महानगरपालिका र नेपाल प्रहरीले सडक किनारका ठेला र अन्य पसललाई हटाउँदै आएको छ । प्रहरीले आजसम्म चौधरी दाजुभाइलाई केही भनेको छैन । तर, उनीहरूले सडकमा प्रहरीले ठेला हटाएको भने देखेका छन् । ‘चार–पाँच महिना पुलिसले केही नगरे हुन्थ्यो,’ सुरेश गम्भीर हुँदै भन्छन्, ‘त्यति समयमा त ऋण पनि तिर्न सकिन्थ्यो ।’

त्यसो त चौधरी दाजुभाइले सटरमै मःम पसल सञ्चालन गर्न खोजेका थिए । तर, पैसा नपुगेपछि आँट गरेनन् । ‘गाउँमा विदेश जाने भनेपछि, जो पनि ऋण दिन्छन् । आफ्नै व्यापार गर्छु भनेपछि कोही ऋण दिदैनन्,’ नूतन भन्छन् ।

बिहान ७ बजेदेखि नै चौधरी दाजुभाइ ठेलाको काममा व्यस्त हुन्छन् । दिनभरको तयारी गरेपछि साँझ ४ बजे धोबीखोला किनार आइपुग्छन् । साँझ ९ बजे घर नजाँदासम्म चौधरी दाजुभाइको एउटै कामना हुन्छ– ‘प्रहरी नआइदिए हुन्थ्यो ।’


कोटेश्वर

काठमाडौंको आकाशबाट सूर्य ढल्किएपछि निस्कन्छन् बलराम बस्नेत । कोटेश्वर चोकमा उनको मःम व्यापार सुरु हुन्छ साँझ ६ बजेपछि । ‘६ बजे अघिसम्म नगरपालिकाको प्रहरी हुन्छन् । उनीहरू गएपछि मात्रै हामी आउँछौं,’ बलरामले साँझ आउनुको कारण बताए ।

कोटेश्वरबाट सातदोबाटोतर्फ जाने सडक किनारमा साँझ ६ बजे लगाएपछि बलरामको मनमा पनि बेचैनी सुरु हुन्छ । ‘कतै प्रहरीले जफत गर्ने त होइन ?’ राति १० बजेसम्म ठेला पसलमै हुन्छन बलराम । प्रहरीले बलरामलाई ठेला हटाऊ भन्दै निर्देशन दिन्छन् । प्रत्येकपटक कोटेश्वरमा ट्राफिक प्रहरी प्रमुख र प्रहरी प्रमुख फेरिएपछि बलराम चिन्तित हुन्छन् । ‘नयाँ प्रहरी आउँदा नयाँ नियम लगाउन खोज्छन्,’ बलराम भन्छन्, ‘पहिलाको प्रहरीले ११ बजेसम्म चलाउन दिएका थिए, अहिले १० बजेसम्म मात्र चलाउन पाउने कानुन छ ।’

परिवारसहित कोटेश्वरमा बस्दै आएका बलरामले ठेलामा मःम बेच्न थालेको तीन वर्ष भयो । २०७२ को भूकम्पपछि उनले ठेला चलाउन थालेका हुन् । यसअघि उनी पोखरामा होटलमा काम गर्थे । 

भूकम्पले रामेछापको घर भत्किएपछि उनी घर बनाउने भन्दै गाउँ गए । घर बनाउन २० लाख रूपैयाँ खर्च भयो । घर बनाउन खर्च भएको २० लाख रूपैयाँ कमाउन विदेश जाने सोच बनाएका बलरामले पनि पासपोर्ट बनाइसकेका थिए । तर, उनलाई लाग्यो विदेशमा कमाइ हुन्छ नै भन्ने पनि त छैन । ‘विदेशमा सबैले कमाएकै कहाँ छन् र ? कति त उल्टै विदेशबाट ऋण गरेर घर फर्केका छन्,’ ग्याँसको ज्योति धीमा गर्दै बलरामले भने । 

ठेला चलाउन थालेको तीन वर्षमा उनले ठेलामा गरेको लगानी ६० हजार रूपैयाँ आम्दानी गरिसकेका छन् । १२ कक्षा पढ्दापढ्दै पढाइ छाडेका बलराम अहिले मःम ठेलाबाटै मासिक ४० हजार रूपैयाँ जति आम्दानी गर्छन् ।

प्रहरीले राति अबेरसम्म ठेला राख्न दिए अझै धेरै आम्दानी गर्न सकिने बलराम बताउँछन् । ‘राति पनि प्रहीले चाँडै बन्द गर भन्छ,’ बलराम भन्छन् । 

बलराम बेलाबेला प्रहरी आए÷नआएको नियाल्छन् । ‘ढुक्कसँग व्यापार गर्न पाइँदैन, कतिखेर आउँछन् र हटाउँछन् भन्ने पीर परिरहन्छ,’ बलराम भन्छन्, ‘गुन्डा चोरभन्दा धेरै डर त प्रहरीसँग लाग्छ ।’ 

‘प्रहरीले ठेला जफत गरेपछि फिर्ता गर्दैन । फेरि नयाँ ठेला बानाउनुपर्छ, सामान नयाँ जोड्नुपर्छ,’ बलरामले प्रहरीसँग डराउनुको कारण बताए । 


कलंकी

राजधानी प्रवेशको मूल नाका कलंकीमा रातको १० बजेपछि मगर दम्पतीको चिया व्यापार सुरु हुन्छ ।

उमेरले ७० काटिसकेका यी मगर दम्पती आठ वर्षदेखि यसरी नै चिया बेच्दै आइरहेका छन् । यी आठ वर्षका सबै रात उनीहरू प्रहरीको त्रासमा बाँचेका छन् । ‘अरू त कसैले केही गर्दैनन्, पुलिस आएर सामान लगिदिन्छ,’ कान्छी मगरले सुनाइन् ।

उनीहरूको आम्दानीको एउटै स्रोत चिया व्यापार हो । कान्छी मगर टोकरीमा चाउचाउ, बिस्कुट, चुरोट सुर्ती बेच्छिन् । कान्छीका श्रीमान् चन्द्रबहादुर मगरको काम भनेको प्रहरी आए÷नआएको हेर्ने हो ।

सडक किनारमा धूलोधुवाँसँग जुध्दै चिया बेच्ने मगर दम्पतीलाई सधैँ एउटै पीर हुन्छ– ‘कतै प्रहरीले पसल जफत गर्छ कि !’

मकवानपुर पालुङका मगर दम्पतीको चिया राख्ने थर्मस धेरैपटक प्रहरीले लगेको छ । ‘महिनाभरि कमाएको पैसाले थर्मस किन्छौं त्यही पनि पुलिसले जफत गरिदिन्छ,’ कान्छी मगरले भनिन्, ‘नगरपालिकाले दिउँसो पसल गर्न दिँदैन, राति गर्न खोज्छौं त्यही पनि पाइए पो !’ 

दिनभरि अरू चिया, खाजा पसल खुल्छन् । तर, अरू सबै पसल बन्द हुन्छन् । लामो दूरीको यात्रा गरेर आएका यात्रु र ट्याक्सीचालकलाई मगर दम्पतीले पसल खोलेर चिया र पानीका लागि सजिलो भएको छ ।

पहिले मगर दम्पती रातभरि नै चिया बेचेर बस्ने गर्थे । तर, एक वर्षयता उनीहरू रातभरि बस्न पाउँदैनन । रातभर पसल गर्दा ६ सयभन्दा धेरैको व्यापार हुन्थ्यो । अहिले व्यापार घटेको छ । ‘अहिले त रातमा मुस्किलले ३ सयको व्यापार हुन्छ,’ कान्छीले रातभर बस्न नपाएर व्यापार घटेको कुरा सुनाइन् । व्यापार गर्न नपाएपछि मगर दम्पतीको परिवारमा आर्थिक संकट आइलाग्छ ।

उनीहरूकी एउटी छोरी सुस्त मनस्थितिकी छिन् । ३५ वर्षीया छोरीको स्याहार गर्ने जिम्मा पनि यी वृद्ध दम्पतीकै हो । यिनीहरूलाई छोरीको पिर लागिरहन्छ । ‘हामी बाँचुन्जेल त छोरीलाई जसोतसो पालौँला, हाम्रो शेषपछि के हुने हो ?’ चन्द्रबहादुर मगर आफैसँग प्रश्न गर्छन् । कतैबाट जवाफ नपाएपछि उनी भाग्यलाई सराप्न थाल्छन्– ‘के गर्नु कर्म खोटी भएपछि... ।’ यति भनिसकेपछि चन्द्रले लामो सुस्केरा काढे ।

रातभर बसेर व्यापार गर्न पाए सबै सामान बिक्री हुने कान्छी मगर बताउँछिन् । रातभर व्यापार गर्न नपाउँदा उनीहरूले बेच्न राखेको अन्डा र चिया धेरैपटक फाल्नु परेको छ । ‘रातभरि बस्न पाए त सबै बिक्री हुन्थ्यो ।’ कान्छीले यति भनिनसक्दै श्रीमान् चन्द्रले इसारा गरे ।

परबाट प्रहरीको गाडी आइरहेको थियो । श्रीमान्को इसारा देखेपछि कान्छीले हतार हतार थर्मस लुकाइन् । सलले नांग्लो छोपिन् । प्रहरीको गाडी अगाडि पुगेपछि उनले राहतको लामो सास फेरिन् अनि भन्न थालिन्– ‘यसरी नै सधैँ डरैडरमा बाँचेका छौं ।’ प्रहरीले सामान लगेपछि फिर्ता दिँदैन । ‘सामान लगेर फिर्ता गरे त हुन्थ्यो नि, फिर्ता गर्दैनन् ।’ कान्छीले गुनासो गरिन् ।

चन्द्रबहादुर मगर नारायणहिटी दरबारमा सैनिकको रूपमा काम गर्थे । २०२० सालमा आर्मीमा भर्ना भएका मगरले जम्मा सात वर्ष मात्रै सैनिकको जागिर गर्न पाए । २०२७ सालमा मगरका बा बितेपछि उनी काजक्रियाको लागि गाउँ गए । दुर्भाग्यवश यही समयमा चन्द्रका भाइ पनि बिते । यी सबैको काजक्रिया गर्दा लामो समय लाग्यो । लामो बिदा बसेको भन्दै चन्द्रलाई जागिरबाट निकालियो । 

यहीँबाट चन्द्र मगरका दुःखका दिन सुरु भए । आर्मीको जागिर छँदा उनको तलब थियो २९ रूपैयाँ । ‘त्यतिखेर त्यही २९ रूपैयाँ पनि कति धेरै हुन्थ्यो,’ चन्द्र मुस्कुराउँदै भन्छन्, ‘आजभोलि २९ रूपैयाँ त केही होइन ।’ 

अब चन्द्रलाई लाग्न थालेको छ, जिन्दगी जसरी पनि चल्छ । ‘आइपरेपछि चल्दो रहेछ । परान पाल्नै प¥यो,’ उनले भने । मगर दम्पतीलाई एउटै भय हुन्छ– कतै प्रहरीले सामान जफत पो गर्ने हो कि ?

मगर दम्पतीको नांग्लो पसलमा उधारो खानेको समस्या पनि उस्तै छ । उनीहरूले अझै ६ हजार रूपैयाँ उधारो उठाउन बाँकी छ ।

 

ठमेल

ठमेल नेपाल आउने पर्यटकको पहिलो केन्द्र हो । बेलाबेला ठमेललाई २४ सै घण्टा खुला राख्ने चर्चा पनि चल्ने गर्छ । तर त्यही ठमेलमा ठेला व्यापार गर्नेलाई भने सहज छैन ।

१२ वर्षदेखि ठमेलमा ठेला चलाइरहेका रमेश कार्की आज पनि प्रहरीसँग लुक्दै र भाग्दै ठमेलका गल्लीमा ठेला गुडाइरहेका हुन्छन् । बर्दिवासका रमेश कार्कीको ठेला धेरैपटक प्रहरीले जफत गरेको छ । नगरपालिका र प्रहरी दुवैको उत्तिकै डर हुन्छ रमेशलाई । त्यही भएर उनी ठमेलका गल्लीमा लुक्दै–छिप्दै ठेला चलाउँछन् । 

एक महिनाअघि मात्रै उनले नयाँ ठेला बनाउनुपरेको थियो । ‘नगरपालिकाले ठेला जफत ग¥यो । माग्न जाँदा पनि दिएन । अनि नयाँ ठेला बनाउनुप¥यो,’ रमेशले सुनाए । नयाँ ठेला बनाउन उनको २५ हजार रूपैयाँ खर्च भयो ।

केही वर्ष अघिसम्म रमेश रातभरि ठेलामा व्यापार गर्थे । तर, अहिले भने त्यस्तो छैन । ‘कतिखेर आएर ठेला लग्ने हो थाहै हुँदैन,’ रमेश भन्छन्, ‘चोरलाई बरु सजिलो छ । हामी त चोरभन्दा पनि बढी सतर्क भएर लुक्दै हिँड्नुपर्छ ।’

रमेशका लागि दुई छोरी र एक श्रीमती अनि आफू पालिने भाँडो ठेला नै हो । ढुक्कसँग काम गर्न पाए महिनामा ५० हजार रूपैयाँसम्म आम्दानी हुने उनी बताउँछन् । भुरुङखेलमा बस्दै आएका रमेशले काठमाडौं छिरेपछि सानो किराना पसल चलाएका थिए । तर, किराना पसलको भाडा तिर्ने पनि व्यापार नभएपछि उनले ठेला सुरु गरे ।

ठमेलमा प्रहरी प्रमुख फेरिदाँसाथ रमेशजस्ता ठेला व्यवसायी थप अतालिन्छन् । प्रहरी प्रमुख फेरिएसँगै प्रहरीको नयाँ नियम लागू हुन्छ । ‘नयाँ प्रहरीको नियम बुझ्नै केही दिन लाग्छ । अनि बिस्तारै बानी पर्छ ।’ रमेशले मुस्कुराउँदै सुनाए ।

३६ वर्षीय रमेशले १२ कक्षा पनि पास गरेका छैनन् । प्रहरीको नियमितको दमनले वाक्क भएका रमेशले ठमेलमै सटर भाडामै लिएर पनि पसल गर्न खोजेका थिए । तर, ठमेलमा सटर भाडामा लिनका लागि पहिले नै ४० लाख रूपैयाँ सलामी तिर्नुपर्ने भएपछि उनले सटर सपना त्यागे ।

अहिले ठमेलमा करिब ९ वटा जति ठेला छन् । नांग्लो पसल पनि प्रशस्तै छन् । यी सबै पसलले यसरी नै प्रहरीसँग लुक्दै भाग्दै पसल चलाउने गर्छन् ।

ठेला दर्ता गराउने कानुन नभएकै कारण रमेश आफूहरू गैरकानुनी हुनुपरेको ठान्छन् । जनप्रतिनिधि आएपछि ठेला र साना पसल दर्ता गराउने व्यवस्था ल्याउँछन् कि भन्ने सोचेका थिए । तर, त्यसको विपरीत काठमाडौं महानगरपालिकाले गत असारयता फुटपाथ व्यापारीप्रति कडा नीति अपनाएको छ । 

महानगरले यसरी जफत गरिएका सामग्री लिलाम गर्ने नीति लिएको छ । महानगरपालिकाका अनुसार गत साउनयता मात्रै काठमाडौं महानगरबाट ४ सय १५ वटा ठेला र नांग्लो पसल जफत गरिएका छन् ।

नगरपालिका र प्रहरीको दमन देख्दा त रमेशलाई विदेश जाउँ पनि लाग्छ । विदेश जाने भन्दै उनले पासपोर्ट पनि बनाएका थिए । तर, परिवारले विदेश नजाऊ भनेपछि उनी नेपालमै रोकिए । प्रहरीको ज्यादतीले उनलाई विरक्ति लाग्छ । ‘हामीजस्ता गरिबलाई काम गरेर खान पनि दिँदैनन्,’ रमेश भन्छन्, ‘सानो मान्छे पनि मान्छे हो, हामीले पनि बाँच्न पाउनुपर्छ ।’

सरकारले ठेला दर्ता गर्ने र कर तिर्ने नियम बनाइदिए रमेश कर तिर्न तयार छन् । ‘हामीलाई त मान्छेजस्तो व्यवहार नै गर्दैनन्,’ रमेश जनप्रतिनिधिप्रति गुनासो गर्दै भन्छन्, ‘हामीजस्ता गरिबको भोटले सत्तामा पुग्छन् अनि हामीलाई नै मार्न खोज्छन् ।’
०००
नयाँ बसपार्कको प्रवेशद्धारमा ठेलामा चिया पसल चलाउने महिला रातभर गस्तीमा खटिने प्रहरीलाई चिया, अन्डा निःशुल्क खुवाउने गर्छिन् । यति गर्दा पनि प्रहरीले उनको पसल जफत गर्ने र हटाउने काम भने छाडेका छैनन् ।

भन्नलाई त सरकारले स्वदेशमै काम गर्नुपर्छ भन्छ । तर, यसरी सानो लगानी गरेर स्वदेशमै आम्दानी गरिरहेकालाई भने सधैं सरकारकै डर हुन्छ । नेपालमा अझै पनि २५ प्रतिशतभन्दा धेरै जनसंख्या गरिबीको रेखामुनि छ । तसर्थ पनि यस्तो जनसंख्याले ठूलो लगानी गर्न सक्दैन । उनीहरूले गर्ने सानो लगानी नै हो । सरकारले त्यही सानो लगानी संरक्षण गर्न नसक्दा विदेश जानुको अर्को विकल्प हुँदैन ।
 



सागर चन्द

साहित्यमा पनि दर्शनका पुस्तक अध्ययन गर्न रुचाउने सागर चन्द फरक धारका लागि सामाजिक विषयसँग सम्बन्धित रिपाेर्टिङ गर्छन् ।

यो पनि नछुटाउनुहोस्