मुक्वेगे र मुरादलाई नाेबेल शान्ति पुरस्कार

यस वर्षको नोबेल शान्ति पुरस्कार यौनहिंसाविरोधी दुई अभियन्तालाई दिने घोषणा भएको छ ।

नर्वेजियन नोबेल कमिटीले शुक्रबार २०१८ को नोबेल शान्ति पुरस्कार ‘युद्ध तथा सशस्त्र द्वन्द्वमा हतियारका रूपमा प्रयोग हुने यौनहिंसा’लाई रोक्न अभियान चलाएबापत कंगोका डेनिस मुक्वेगे र इराककी नादिया मुरादलाई संयुक्त रूपमा प्रदान गर्ने घोषणा गरेको हाे । पुरस्कारका लागि ३ सय ३१ व्यक्ति तथा संस्था नोमिनेसनमा परेका थिए । 

युद्धको समयमा हुने लैगिंक हिंसा न्यूनीकरणका लागि मुराद र मुक्वेगेले महत्वपूर्ण योगदान गरेको नाबेल कमिटीको ठहर छ ।

‘डेनिस मुक्वेगे ती सहयोगी हुन्, जसले आफ्नो जीवन नै हिंसापीडितको बचाउमा अर्पण गरेका छन् । नादिया मुराद प्रत्यक्षदर्शी हुन्, जो स्वयं र अन्यविरुद्ध भएका दुव्र्यवहारबारे आवाज उठाउँछिन्,’ नोबेल कमिटी भन्छ, ‘दुवैले आ–आफ्ना ढंगले युद्धका वेला हुने यौनहिंसालाई दृश्यता प्रदान गर्न मद्दत गरेका छन्, ता कि अपराधीहरूलाई उनीहरूको कार्यका लागि उत्तरदायी बनाउन सकियोस् ।’

६३ वर्षे गाइनाकोलोजिस्ट मुक्वेगेले आफ्नो जीवनको ठूलो हिस्सा कंगोका यौनहिंसापीडितको सहयोगमा बिताएका छन् । सन् २००८ मा बुकावुमा पान्जी हस्टिलको स्थापना गरेका मुक्वेगे र उनका सहयोगीहरूले त्यसयता ८५ हजारभन्दा बढी यौनहिंसापीडितको उपचार गरिसकेका छन् । यीमध्ये अधिकांश हिंसा लामो समयदेखि कंगोमा जारी गृहयुद्धका दौरान भएका हुन् ।

‘न्याय हरेकको व्यवसाय हो’ भन्ने सिद्धान्त बोकेका मुक्वेगे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा युद्ध तथा सशस्त्र द्वन्द्वमा हुने यौनहिंसाविरुद्धको संघर्षमा सबैभन्दा अगाडि रहेका र एकताका प्रतीक बनेका नोबेल कमिटीको निष्कर्ष छ । 



नादिया मुराद आफैँ एक हिंसापीडित हुन् । उत्तरी इराकको अल्पसंख्यक याजिदी समुदायकी मुरादले सामाजिक मूल्यमान्यताको बन्धनलाई तोड्दै आफूमाथि भएको हिंसाको विरुद्धमा आवाज उठाइन् । आफू मात्र नभई अन्य कैयौँ हिंसापीडितका पक्षमा उनले आवाज बुलन्द गरिरहिन् । उनले देखाएको अतुलनीय साहसको नोबेल कमिटीले प्रशंसा गरेको छ । 

२०१४ को अगस्टमा स्लामिक स्टेट्सले याजिदी समुदामाथि गरेको निर्मम आक्रमणमा उनकै गाउँका सयौँको ज्यान गयो, सयौँ किसोरी तथा बालिकालाई लडाकुहरूले यौनदास बनाएर लगे । यसै दौरान नाजिया मुराद पटकपटक बलात्कारको सिकार भइन् । मुक्त भएपछि आइएसको धम्कीमा बाबजुद आफूजस्तै झन्डै तीन हजार याजिदी किसोरी तथा बालिकाको आवाज बनेर निस्किइन् उनी । 



सन् २०१६ मा संयुक्त राष्ट्रसंघको ‘मानब बेचबिखनमा परेर उम्किएकाहरूको सम्मानका लागि पहिलो गुडविल एम्बेसेडर’को उपाधि पाउँदा उनी २३ वर्षकी थिइन् । उनको साहस र हिंसापीडितका पक्षमा निरन्तर क्रियाशीलताले उनलाई विश्वकै प्रतिष्ठित नोबेल शान्ति पुरस्कार दिलायो । 

  • प्रकाशित मिति : असोज १९, २०७५ शुक्रबार १७:२५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया