नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कर्णालीको प्रदेशसभा सदस्यबाट पदमुक्त भएका चारजनालाई पुनः जिताएर ल्याउने आश्वासन दिएका छन् ।
मंगलबार अनेरास्ववियुले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता नेपालले उपचुनाव भएमा पुरानै सांसदलाई जिताएर ल्याउने बताएका हुन् । महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउने क्रममा एमालेका प्रकाश ज्वालासहित चार सांसदले फ्लोर क्रस गरेका थिए ।
कर्णालीका चार सांसदको राजनीतिक भविष्य अन्योलमा नपरेको उल्लेख गर्दै नेपालले भने, ‘मैले भनेको छु, यदि तपाईंहरुको सदस्यता खारेज भयो र उपनिर्वाचन भयो भने तपाईंहरुलाई जिताएर ल्याउने जिम्मेवारी मेरो हुनेछ ।’
उनले कसैसँग शीर निहुराएर सम्झौता नगर्ने भन्दै अब कोहीसँग पनि हेपिएर नबस्ने, कसैको टाङमुनि नछिर्ने र नझुक्ने बताए । दम्भी र घमण्डी नबनी सत्य र न्यायको बाटोमा अडिग रहने आफ्नो अठोट रहेको उनको भनाइ थियो ।
कार्यक्रममा सामुदायिक विद्यालयबाट एसइई र कक्षा १२ उत्तीर्ण गरी चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एमबिबिएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट छात्र आंशिक झालाई सम्मान गरिएको थियो ।
सो क्रममा माधव पक्ष अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले पार्टी विभाजन गर्नेविरुद्ध आन्दोलन गर्ने चेतावनी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।