नेपाली कांग्रेसले नै संविधान सच्याउनु पर्दछ : विजयकुमार गच्छदार

सत्तारूढ दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले संविधान त्रुटिपूर्ण रहेको दावी गर्दै त्यसलाई सच्याउने कामको नेतृत्व कांग्रेस आफैले गर्नुपर्ने बताएका छन् ।

पूर्व-उपप्रधानमन्त्री समेत रहेका गच्छदारले आफ्नो ५० वर्षे राजनीतिक इतिहास नै समाप्त पार्ने गरी ललिता निवास प्रकरणको नाममा अख्तियार दुरुपयोग अनुसन्धानले आफूमाथि दुश्मनी साँध्ने काम गर्नु अन्ततः संविधानमा त्रुटि हुनु रहेको उल्लेख गर्दै त्यसलाई सच्याउने कामको नेतृत्व कांग्रेस आफैले गर्नुपर्ने तर्क गरेका हुन् । 

बुधबार विश्व आदिवासी दिवसको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संविधान निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने आफूमाथि संविधानकै आडमा दुश्मनी साँध्ने काम तत्कालीन राज्यले गरेको भन्दै आक्रोश व्यक्त गरे । ‘तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले जग्गाको लालपूर्जा बाँड्छ ? मोहीको जग्गा छुटाउने दायित्व मेरो थियो ?’, उनले भने, ‘त्यो दायित्व भूमि सम्बन्धि मन्त्रालयको होइन र ? तर राज्यले मलाई तह लगाउने नाममा ललिता निवास जग्गा प्रकरणमा फसायो ।’

‘मलाई थाहा पनि थिएन सो विषयमा । तर मलाई तह लगाउने नाममा अख्तियार लगाइयो । मेरो राजनीतिक जीवनलाई समाप्त पार्न खोजियो । यी सब काम संविधान, कानुनको आडमै गरिएको हुनाले यसमा रहेको त्रुटि सच्याउने काम नेपाली कांग्रेसले गर्नुपर्छ । आदिवासी, जनजातिको छोरालाई फसाउने संविधानका ती प्रावधान हटाउनु पर्छ’,उनले थपे ।   

उपसभापति गच्छदारले आफूले वर्तमान संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको कुरा समेत पटकपटक दोहोर्‍याए ।  

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवामाथि गलत सन्देश दिनेगरी प्रचार गरेको भन्दै आपत्ति जनाए । पार्टी सभापति देउवा सधैं पदमा रहिरहन खोजेको सन्देश दिने गरी बाहिर प्रचारबाजी गरिएकोमा उनले आक्रोश व्यक्त गरे ।



सहमहामन्त्री महतले पुरानै प्रतिनिधिबाट महाधिवेशन गर्ने कुरा कसरी वैधानिक हुन्छ ? भनी पौडेल पक्षलाई प्रश्न पनि गरे ।



  • प्रकाशित मिति : साउन २७, २०७८ बुधबार १४:२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया