ठूला भ्रष्टाचार काण्डको छानबिन गर्न सरकारसँग कोमल ओलीको माग

राष्ट्रियसभा सदस्य कोमल ओलीले ठूला भ्रष्टाचार काण्डको छानबिन गर्न सरकारसँग माग गरेकी छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद ओलीले देशका ठूल्ठूला भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन गर्न माग गरेकी हुन् । 

ओलीले भ्रष्टाचारको कुरा भोट माग्ने माध्यम मात्रै बनाइएको भन्दै वाइडबडी, अरुण तेस्रो, टनकपुर, बालुवाटार प्रकरण, ओम्नी प्रकरण, आयल निगमको जग्गा खरिद प्रकरण र क्यान्टोनमेन्टको समेत भ्रष्टाचार छानबिन गर्नुपर्ने बताइन् । 

ओलीले भनिन्, ‘यहाँ भ्रष्टाचारका कुरा धेरै भए । भाषण भए । भोट माग्ने माध्यम भए । आउनुहोस् निष्पक्ष छानबिन गरौँ । वाइडबडीको छानबिन गरौँ । अरुण थर्डको छानबिन गरौँ । टनकपुरको छानबिन गरौँ । बालुवाटारको छानबिन गरौँ । ओम्नीको छानबिन गरौँ । आयल निगमको जग्गा खरिदको पनि छानबिन गरौँ । क्यान्टोनमेन्टको पनि छानबिन गरौँ । ठूला ठूला हाइड्रोको पनि छानबिन गरौँ । १६५ सांसदको समर्थन छ के को लागि हो त्यो समर्थन प्राप्त गरेको ? अरुको पार्टी फुटाएको के को लागि हो ? किन ? तथापि अर्कोतिर औँला नठड्याऔँ । सबैले सबैलाई देखेकै छ ।’

सांसद ओलीले सत्ता स्वार्थ र भ्रष्टाचारका निम्ति नेपालका नदीनालाहरु बन्धक बनेको पनि बताइन् । कतिपय जलविद्युत आयोजना विदेशीको इशारामा सम्झौता भएका र अर्बाैँ भ्रष्टाचार भएको पनि उनले उल्लेख गरिन् । 

ओलीले भनिन्, ‘कति जलविद्युतमा विदेशीको इशारामा सम्झौता भए होलान् । अर्बौंको डिल भयो होला । जलश्रोतको विश्वको दोस्रो धनी देशमा आजपनि व्यापार घाटामा हामीले बाहिरबाट ग्याँस ल्याएर चुल्हो बाल्दैछौँ । बिजुली दिन सकेका छैनौँ । हाम्रा नदीनालाहरु बन्धक बनेका छन् । सत्ताको स्वार्थमा र भ्रष्टाचारका निम्ति । त्यो काम गर्नलाई अहिले कसले रोकेको छ ? त्यसको लागि फेरि केपी ओलीको सरकार आउला भनी पर्खने ? जवाफ चाहियो ।’

सांसद ओलीले आफूहरु प्रतिपक्षको रचनात्मक आलोचनात्मक सुझावले मुलुक अगाडि बढ्नसक्छ भन्ने कुरामा विश्वस्त रहेको बताउँदै सरकारको सही कुरालाई सही र गलत कुरालाई गलत भनेर आलोचना गर्ने पनि स्पष्ट पारिन् ।





  • प्रकाशित मिति : साउन २७, २०७८ बुधबार १६:२६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया