प्राधिकरणमा पदभार ग्रहण गर्दै कार्यकारी निर्देशक घिसिङले के भने ?

नेपाल विद्युत प्राधिकरणमा ११ महिनापछि पुनः कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै करिब ३० मिनेट ‘कमेन्टमेन्ट’ धारणा राखेका थिए । 

पहिलो कार्यकाल समाप्त भएको करिब एक वर्षपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले सोमबार घिसिङलाई पुनः प्राधिकरणमा नियुक्त गरेको हो । 
 
नवनियुक्त कार्यकारी निर्देशक घिसिङलाई कर्मचारीले स्वागतका लागि औपचारिक कार्यक्रम राखेका थिए । निर्देशक घिसिङले धेरै नबोल्ने सोच बनाए पनि पत्रकारको बाक्लो उपस्थिति देखिएपछि २७ मिनेट बोलेका थिए ।
 
कार्यकारी निर्देशक घिसिङले विशेषगरी विद्युत् प्राधिकरणको अवस्था, अहिलेका समस्या, ऊर्जा क्षेत्रमा भइरहेको परियोजना, भोलिको अवसर, सफलताका लागि कर्मचारीको टिम, आगामी योजना र रिजल्टको विषयमा धारणा राखेका थिए ।

उनले अघिल्लो चारवर्षे कार्यकालमा अधुरा रहेका काम आफ्नो दोस्रो कार्यकालमा नयाँ ढंगले पूरा गर्ने प्रतिज्ञा गरेका थिए ।

‘दोस्रो पटक प्राधिकरण सम्हाल्न आइपुग्नु नै जीवनको मुख्य चुनौती महसुस भएको छ । यो चुनौती मेरो जीवनका लागि ठूलो परीक्षा भएको छ,’ उनले भने, ‘प्राधिकरणको आवश्यकता, सरकारको जिम्मेवारी र आमसर्वसाधारणको अपेक्षाले गर्दा चुनौतीको जोखिम उठाउने प्रयास गर्नेछु ।’

सरकारको विश्वासका कारण नेपालको ऊर्जा क्षेत्रलाई नयाँ हाइटमा पुर्याउने प्रतिबद्धतासमेत उनले गरेका थिए । प्राधिकरणको सेवालाई प्रभावकारी बनाउनका लागि सबैको उत्ति नै जिम्मेवार हुने उनको भनाइ थियो ।

संस्थालाई डिजिटलाइजेसन गर्ने, स्मार्ट मिटर देशभर प्रयोग गराउने, सहरी क्षेत्रमा विद्युतीय तारहरु अन्डरग्राउन्डिङ गर्नुपर्नेजस्ता विषयले प्राथमिकता पाउने उनको भनाइ थियो ।



सहरलाई पोलरहित, ताररहित बनाउन सडक विभागसँग मिलेर कार्यान्वयन गर्ने बताए । बुटवल– गोरखपुर ट्रान्समिसन लाइन निर्माणका लागि मन्त्रिपरिषदबाट स्वीकृत भई आएकाले त्यो काम तत्काल अघि बढाउने उनको भनाइ थियो ।

उनले नेपालको पानी जनताको लगानी, अपर अरुण, चैनपुर सेती, तामाकोसी पाँचजस्ता आयोजना छनोट गरेर अघि बढ्नुपर्ने बताए।



डेडिकेटेड र ट्रंकलाइनको शुल्क, विद्युत चुहावट, विद्युत उत्पादनपछि त्यसको खपतका लागि बजारको व्यवस्थापनलगायत विषयमा धारणा राखेका थिए ।
उनले भारत र बंगलादेशसँग बिजुली निर्यातका लागि समेत पहल गर्ने बताए ।

  • प्रकाशित मिति : साउन २७, २०७८ बुधबार १७:१६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया