सबै स्थानीय तहमा सूचना प्रविधिको पहुँच सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन

संसदीय समितिले सबै स्थानीय तहमा सूचना प्रविधिको पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले सबै स्थानीय तहको वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य केन्द्रमा सूचना प्रविधिको पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको हो । 

स्थानीय तहको आफ्नै समन्वयमा मुलुकको सुशासन र समृद्धिका लागि वडा तहसम्मै सूचना र प्रविधिको सुनिश्चित हुने गरी काम गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन् । 

समितिले मुलुकमा सुशासन, समृद्धि र विकासका लागि डिजिटल पूर्वाधार तथा प्रविधिको विकास एवं विस्तार गर्न अर्थ मन्त्रालयसँग समन्वय गरी डिजिटल नेपाल ऐन २०७६ को स्पष्ट कार्ययोजना बनाई प्रभावकारी कार्यान्वयनको लागि समेत सरकारलाई सचेत गराएको छ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण सरकारका विभिन्न अंगबाट सञ्चालन हुने बैठक, गोष्ठी, सेमिनारलगायत सार्वजनिक निकायका कामसमेत भौतिक रुपमा सञ्चालन गर्न कठिनाइ भएकाले परिवर्तित सन्दर्भमा भर्चुअल बैठकको सञ्चालनका लागि नीतिगत व्यवस्था हुनेगरी कानुन निर्माणका लागि सोसम्बन्धी विधेयक तत्काल सदनमा पेस गर्नसमेत समितिले सरकारलाई निर्देशन गरेको सभापति खड्काले बताइन् । 

सूचना तथा प्रविधिको उपयोगलाई बढी विश्वसनीय र सुरक्षित रुपमा अघि बढाउन आवश्यक कार्ययोजना ल्याउन पनि समितिले सरकारको ध्यानाकर्षण गराएको छ । त्यसैगरी, समितिले प्रविधिको उच्चतम उपयोगको माध्यमको रुपमा रहेको मोबाइलबाट हुने नराम्रा कामलाई नियन्त्रण गर्न मोबाइल डिभाइस बैंक सिस्टम स्थापना गरी मोबाइलबाट हुने गरेको अवैध कार्य रोक्ने प्रक्रिया प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ भने हुलाक कार्यालयलाई व्यवस्थित र प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराएको छ ।





  • प्रकाशित मिति : साउन २७, २०७८ बुधबार १८:८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया