पछिल्लो समय राजनीतिक मुद्दामा सर्वोच्च अदालतले गरेका निर्णयबारे राजनीतिक दलहरुले आफूखुसी व्याख्या गर्न थालेका छन् । स्वतन्त्र न्यायापालिकाले दिएको फैसला आफूअनुकूल भए स्वागत गर्ने प्रतिकूल भए विरोध गर्ने प्रवृत्ति बढ्दै गएको छ ।
यसैबीच प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायपालिकामाथि दोष दिने काम नगर्न आग्रह गरेका छन् । नेपाल कानुन व्यवसायी परिषदले बुधबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले न्यायपालिकाले जहिले पनि समाजलाई हेरेर फैसला गरिरहने हुनाले दोष दिने ठाउँ नहुने बताए ।
न्यायपालिकाले गर्ने फैसला समाज र नागरिकसँग अभिप्रेरित हुने भएकाले त्यसलाई दोष दिने काम गर्न नहुने प्रधानन्यायाधीश जबराको तर्क छ । प्रधानन्यायाधीश जबराले आफूले कहिल्यै पनि दबाब र प्रभावमा परेर फैसला गर्ने नगरेको दाबीसमेत गरे ।
न्यायपालिकालाई दोष पनि दिन नहुने र महत्व पनि दिन नहुने उल्लेख गर्दै उनले भने, ‘न्यायपालिकालाई निरन्तर अघि बढिरहन दिनुपर्दछ । यो आफैँ महत्वपूर्ण निकाय हो । यसले नागरिकलाई जहिले पनि माग निर्देशन गर्दछ । नागरिकभित्र देशका सबै नागरिकहरु राष्ट्रपतिदेखि सबै पर्दछन् । देशका सबै निकायहरु यसैअन्तर्गत पर्दछन् ।’
कार्यक्रममा बोल्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानको रक्षाका निम्ति सर्वोच्च अदालतले पछिल्लो समयमा खेलेको भूमिका विश्वकै लागि उदाहरणीय भएको बताए । कानुनी राज्यको स्थापना गरी मुलुकलाई समृद्ध बनाउने अभियानमा सबैलाई लाग्न पनि उनले आह्वान गरे ।
मुलुकको समृद्धि र विकास सबैको चाहना भएको उल्लेख गर्दै मन्त्री कार्कीले त्यसमा हरेक क्षेत्रको योगदानको आवश्यकतामा जोड दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।