अपराधको राजधानी बन्दै उपत्यका, एउटै प्रकृतिका अपराध बढी

प्रहरी प्रधान कार्यालयको तथ्यांकमा राजधानीको उपत्यका नै अपराधको केन्द्र बनेको छ। दुई वर्षयताको प्रहरी आँकडामा देशभरिमा सबैभन्दा बढी आपराधिक गतिविधि उपत्यकामै र एउटै प्रकृतिको भएको पाइएको छ।

देशभरिमा भएको कूल अपराधको संख्यामध्ये २० प्रतिशत उपत्यकामा भएको प्रहरी तथ्यांकले देखाउँछ। यो तथ्यांकले देशको राजधानी ‘क्राइम’ को खुल्ला मैदान बन्दै गएको पुष्टिसमेत गर्छ। 

सामान्यदेखि गम्भीर प्रकृतिका अपराधको ग्राफ उकालो चढिरहेको छ, जसमा एउटैखाले अपराधले निरन्तरता पाएको देखिन्छ। त्यसलाई नियन्त्रण गर्न भने राज्य गम्भीर बनेको देखिँदैन।

दुई वर्षको अपराध ग्राफ

प्रहरी ऐन २०१२ को प्रस्तावनामा प्रहरीको काम, कर्तव्य र अधिकारबारे उल्लेख छ। त्यसमा भनिएको छ– प्रहरी संगठन अपराध रोक्ने र पत्ता लगाउने अर्थात् अपराध अनुसन्धान र प्रचलित ऐन–कानुनको कार्यान्वयन गर्दै शान्ति र व्यवस्था कायम राख्नु नेपाल प्रहरीको मुख्य कर्तव्य हो। 

यसको सीधा अर्थ– देशमा अपराध रोक्ने र शान्ति–सुव्यवस्था कायम राख्ने जिम्मेवारी प्रहरीको हो। तर, प्रहरी अहिले ‘पुलिसिङ’ मा निकै कमजोर हुँदै गएको तथ्यांकबाट पुष्टि हुन्छ। घटना रोक्ने र पत्ता लगाउने दुईवटै काममा प्रहरीको प्रगति निराशाजनक देखिन्छ। 



दुई वर्षको अपराधको तथ्यांक हेर्दा देशभरिमा ८२,०१८ वटा जघन्य तथा विभिन्न प्रकृतिका अपराध भएका छन्। आव ०७६/०७७ मा ४१,८९८ र ०७७/०७८ मा ४०,१२० वटा घटना भएको प्रहरीको तथ्यांक छ। 

७४ जिल्लामा ८० र तीन जिल्लामा २० प्रतिशत अपराध



यी अपराधमध्ये यही अवधिमा उपत्यकामा मात्रै १६,५६२ वटा घटना भएका छन्, जुन अन्य प्रदेशमा भएको अपराधको संख्या भन्दा धेरै हो। देशका ७४ जिल्लामा हुने अपराधको प्रतिशत ८० छ भने तीनवटा जिल्लामा २० प्रतिशत छ। 

७४ जिल्लामा हुने कूल अपराधको प्रत्येक जिल्लामा भाग लगाउने हो भने सरदर १ प्रतिशत भन्दा अलि बढी हुन जान्छ, तर उपत्यकाका तीन जिल्लाको अपराधको तथ्यांक भने प्रत्येक जिल्लामा झण्डै ७ प्रतिशत अपराध भइरहेको देखिन्छ। 

दुई वर्षयता एउटै प्रकृतिका अपराध

विगत दुई वर्षको अवधिमा देशभरिमा एउटै प्रकृतिको अपराध बढी भइरहेको प्रहरी तथ्यांकले देखाउँछ। प्रहरी आँकडामा हुने अपराधको शीर्षकमध्ये सबै भन्दा बढी सामाजिक र ज्यानसम्बन्धी अपराध रहेको छ। 

आव ०७६/०७७ मा भएको कूल अपराध ४१,८९८ मध्ये सामाजिक अपराध ११,४८१, ज्यानसम्बन्धी ७,१५५ वटा र विविध अपराधमा ३,८२१ वटा रहेका छन्। 

यसैगरी आव ०७७/०७८ मा भएको कूल अपराध ४०,१२० मध्ये सामाजिक अपराध ८,१६८ र ज्यानसम्बन्धीको अपराधतर्फ ८,०५९ भएको तथ्यांक छ। 

उपत्यकामा पनि ‘उही’ अपराध

उपत्यका पनि सामाजिक, ज्यानसम्बन्धी र विविध अपराध यो दुई वर्षमा बढी भएको प्रहरी तथ्यांक छ। आव ०७६/०७७ मा कूल सामाजिक अपराध ११,४८१ मध्ये उपत्यकामा मात्रै २,५३० र ज्यानसम्बन्धी कूल अपराधमध्ये ९३८ र विविधतर्फ भएका जम्मा अपराधमध्ये ३,८२१ मध्ये ३,०९७ वटा घटना भएको छ। 

यसैगरी ०७७/०७८ मा भएको सामाजिक अपराध ८,१६८ मध्ये उपत्यकामा १,६५५, ज्यानसम्बन्धी ८,०५९ मध्ये उपत्यकामा मात्रै ९७४ वटा घटना भएको छ भने विविधतर्फको कूल अपराध २,८३६ मध्ये उपत्यकामा २,११० वटा अपराध भएको देखिन्छ।

बर्सेनी देशभरिमा हुने बढी अपराधका शीर्षकहरु सामाजिक र ज्यानसम्बन्धीका साथै विविधतर्फको अपराध बढी भइरहेको तथ्यांकले देखाएको छ। 

सामाजिक, ज्यानसम्बन्धी र विविधतर्फको अपराधमा केके पर्छन् ?

विविध अपराधमा संगठित, अपहरण तथा कर्तव्य, विद्युतीय कसुर, अपहरण तथा जबर्जस्ती करणीजस्ता १९ वटा मुद्दाका शीर्षक रहेका छन्। 

यसैगरी, सामाजिक अपराधमा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर, राज्यविरुद्धको कसुरसहित ११ मुद्दाका शीर्षक छन्। ज्यान सम्बन्धीमा भने ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, खुन डाँकासहित ९ शीर्षक छन्।

किन नियन्त्रणमा भएन ? 

प्रहरी मुख्यालयका अनुसार अपराध नियन्त्रणमा नआउनुका पछाडि विभिन्न कारण छन्। प्रहरी आकलनमा विशेषगरी सामाजिक सञ्जाल तथा आफ्नैबाट बढी आपराधिक गतिविधि हुने गरेकाले नियन्त्रण गर्न कठिनाइ हुने गरेको छ। यी सबै अपराधको मुख्य जडको रुपमा आर्थिक र मानसिक कारण रहेको प्रहरी प्रधान कार्यालयको भनाइ छ।

प्रहरी मुख्यालयका प्रवक्ता वसन्तबहादुर कुँवरले स्रोतसाधनको ‘लिमिटेसन’ का कारण पनि केही हदसम्म अपराध रोकथाममा समस्या आउने गरेको बताए। 

आर्थिक र मानसिक कारणले नेपाली समाजमा बढी एउटै प्रकृतिको अपराध गर्ने ‘ट्रेन्ड’ बसेको कुँवरको भनाइ छ। ‘अपधार नियन्त्रणका लागि अनुसन्धान गर्ने निकायदेखि अन्य जिम्मेवार निकाय एकीकृत भएर लागे मात्र यो सम्भव हुनेछ,’ उनले भने, ‘तर, यो भनिरहँदा प्रहरी भने अरुलाई देखाएर चुप लागेर बसेको छैन।’ अपराध नियन्त्रणका लागि प्रहरीले आफ्नो स्तरबाट गर्नेसम्मको काम गरिरहेको उनको दाबी छ। 

अपराध ‘ट्रेन्ड’बारे राज्यबाट अध्ययन भएन : सुरक्षाविद् मल्ल

सरकार र समाजका कारण यी अपराधहरु बढी हुने गरेको सुरक्षाविद्हरुको बुझाइ छ। अपराध मामिलाका जानकार पूर्वडिआइजी हेमन्त मल्लका अनुसार पछिल्लो समय देशमा दण्डहीनता र अनुशासनको कमी हुँदै गएको छ। जुन कारणले नेपाली समाजमा एउटै प्रकृतिको अपराध हुन थालेको उनी बताउँछन्। 

उनको बुझाइमा यसमा मुख्य कमजोरी राज्यको हो। उनी भन्छन्, ‘विदेशमा कुनै अपराध बढ्यो भने त्यसको अनुसन्धान राज्यले गर्न थाल्छ, किन भइरहेको छ त्यो पत्ता लगाउँछ। अनि त्यसको न्यूनीकरणका लागि ठोस रणनीति बनाउँछ र कदम चाल्छ। तर, हाम्रो देशमा त एउटा अपराधको कुरै नगरौं, कुनै पनि अपराध ट्रेन्डबारे राज्यले अध्ययन नै गर्दैन। 

जुन कारणले गर्दा कुनै अपराध किन बढिरहेको छ त्यसको कारणबारे कसैलाई थाहा हुँदैन। अनि त्यो अपराध झन्झन् बढ्दै जान्छ।’ 

त्यसैले अपराध रोकथामका लागि सरकारीस्तरबाट अध्ययन भएर त्यही अनुरुप नीतिहरु अवलम्बन गर्नु जरुरी रहेको उनको भनाइ छ। साथै, यस्ता अपराध न्यूनीकरणका लागि नैतिक शिक्षा पठनपाठन हुनुपर्ने मल्लको सुझाव छ।

  • प्रकाशित मिति : साउन २८, २०७८ बिहीबार ११:१५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया