क्लब परिवर्तन हुँदा जर्सी नम्बर गुमाएका यी स्टार फुटबलर

जर्सी नम्बर कुनै पनि खेलाडीको पहिचान हो । विश्व फुटबलमा यस्ता धेरै खेलाडी छन्, जसले कुनै जर्सीलाई विशेष बनाइदिएका छन् । 

पछिल्लो समय जर्सी नम्बर १० भन्नासाथ धेरैको स्मरणमा बार्सिलोनाका लियोनल मेस्सीको अनुहार याद आउँछ । त्यस्तै ७ नम्बर जर्सी क्रिस्टियानो रोनाल्डोको पहिचान हो । तर, उनीहरूले आफ्नो करिअरमा यही जर्सी मात्र प्रयोग गर्न पाएनन् । 

विश्व फुटबलका कतिपय स्टार फुटबलरले जीवनमा नचाहरै जर्सी नम्बर परिवर्तन गरेका छन् । यिनै स्टारहरूकाे बारेमा यहाँ चर्चा गरिनेछ ।

डेभिड बेकह्याम​​

आफ्नो करिअरको अघिकांश समय ७ नम्बरको जर्सी प्रयोग गरेका बेकह्यामले बारम्बार आफ्नो जर्सी नम्बर परिवर्तन गरिरहे । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका लागि १५ नम्बरको जर्सीका साथ डेब्यु गरेका बेकह्यामले पछि १४, ७, १० र २४ नम्बरको जर्सी लगाए।



सन् २००३ मा स्पेनिस क्लब रियल म्याड्रिड पुग्दा उनको जर्सी नम्बर परिवर्तन भएर ७ बाट २३ बन्यो । सन् २००८ मा अमेरिकन क्लब लस एन्जलस ग्यालेक्सीबाट इटालियन क्लब एसी मिलन पुगेका उनले त्यहाँ ३२ नम्बरको जर्सी लगाए । उनी त्यही वर्ष २३ नम्बरको जर्सीसहित ग्यालेक्सी फर्किए । यो क्रम सन् २०१० मा पनि दोहोरियो । सन् २०१२ मा लस एन्जलस ग्यालेक्सीबाट पिएसजी पुगेका उनले त्यहाँ ३२ नम्बर जर्सी प्रयोग गरे । 

बेकह्यामले इंग्ल्यान्डको सिनियर टोलीका लागि ७, १७ र १५ नम्बरको जर्सी लगाए । 



जिनेदिन जिदान 

जिदानले फ्रेन्च सिनियर टोलीका लागि १० नम्बरको जर्सी मात्र लगाए, तर क्लब करिअरमा भने उनको जर्सी नम्बर परिवर्तन भइरह्यो । सन् १०९१ मा फ्रेन्च क्लब एएस कान्सबाट व्यावसायिक करिअर सुरु गर्दा उनले ११ नम्बरको जर्सी प्रयोग गरेका थिए । 

सन् १९९३ मा अर्को फ्रेन्च क्लब एफसी ग्रिओडिन्स बोर्डेक्स पुगेका जिदानले त्यहाँ ७ नम्बरको जर्सी लगाए । जिदानले इटालियन क्लब युभेन्टसमा २१ र स्पेनिस क्लब रियल म्याड्रिडमा ५ नम्बरको जर्सी प्रयोग गरे । 

केलियन एम्बाप्पे​​

युवा स्टार केलियन एम्बाप्पे कहिल्यै पनि कुनै एक निश्चित जर्सी नम्बरमा देखिएनन् । उनले बारम्बार जर्सी परिवर्तन गरिरहे । 

पछिल्लो समय फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा ७ नम्बरको जर्सीमा देखिएका उनले क्लबका लागि १७, १४ र २९ नम्बरको जर्सी पनि लगाएका थिए । सन् २०१८ मा अर्को फ्रेन्च क्लब मोनाकोबाट पिएसजी आउँदा एम्बाप्पेले १० नम्बरबाट २९ नम्बरको जर्सी प्रयोग गरेका थिए ।

मोनाकोको सिनियर टोलीका लागि ३९, ३३, १३, ११ र २९ नम्बरको जर्सी प्रयोग गरेका थिए । एम्बाप्पेले फ्रान्सको सिनियर टोलीका लागि १०, १२ र २० नम्बरको जर्सी लगाएका छन् ।

नेयमार​​

पछिल्लो समय  १० नम्बरको जर्सीमा देखिएका नेयमारले पनि आफ्नो जर्सी नम्बर परिवर्तन गरेका छन् । उनी ब्राजिलियन क्लब सान्टोष र स्पेनिस क्लब बार्सिलोनामा रहँदा ११ नम्बरको जर्सी प्रयोग गर्थे ।

सन् २०१८ मा फ्रेन्च क्लब पिएसजी पुग्दा उनले ११ नम्बरको जर्सी छाडेर १० नम्बरको जर्सी प्रयोग गरेका थिए । नेयमारले क्लबमा एक सिजन १२ नम्बरको जर्सी पनि लगाए । उनले ब्राजिलको सिनियर टोलीका लागि १० र ११ नम्बरको जर्सी प्रयोग गरे । 

क्रिस्टियोनो रोनाल्डो  

रोनाल्डोले जर्सी नम्बर ७ लाई विश्व फुटबलमा स्थापित गराउने काम गरे, तर उनले आफ्नो करिअरमा यो बाहेक अन्य नम्बर जर्सी पनि प्रयोग गरेका छन् ।

रोनाल्डो पोर्चुगिज क्लब स्पोर्टिङ सिपीबाट इंग्लिस क्लब म्याचेस्टर युनाइटेड पुग्दा जर्सी नम्बर २८ बाट परिवर्तन भएर ७ नम्बर बन्यो । म्यानचेस्टर युनाइटेडबाट स्पेनिस क्लब रियल म्याड्रिड पुग्दा पनि रोनाल्डोले ७ नम्बर छाडेर ९ नम्बरको जर्सी प्राप्त गरेका थिए ।

रोनाल्डोले पोर्चुगलको सिनियर टोलीका लागि ७, १० र १७ नम्बरको जर्सी लगाएका छन् ।

लियोलन मेस्सी 

जर्सी नम्बर १० लियोन मेस्सीको पहिचान हो । पछिल्ला १३ वर्षदेखि उनले यही नम्बरको जर्सी प्रयोग गर्दै आएका छन् । २१ वर्ष स्पेनिस क्लब बार्सिलोना बिताएर यही सिजन फ्रेन्च क्लब पिएसजी पुगेका मेस्सीले त्यहाँ ३० नम्बरको जर्सी लगाउने भएका छन् ।

मेस्सीले १० नम्बर बाहेकको जर्सी प्रयोग गर्न लागेको यो पहिलोपटक भने होइन । उनले सन् २००४ मा बार्सिलोनाको सिनियर टोलीका लागि डेब्यु गर्दा ३० नम्बर र पछि १९ नम्बरको जर्सी प्रयोग गरेका थिए । मेस्सीले अर्जेन्टिनाको सिनियर टोलीका लागि १०, १८ र १९ नम्बरको जर्सी लगाएका छन् । 

यसै गरी राेबिन भान पर्सी, बुफाेन, राेनाल्डिन्हाे लगायतका खेलाडीहरूले पनि जर्सी नम्बर परिवर्तन गरेका थिए ।

  • प्रकाशित मिति : साउन २८, २०७८ बिहीबार १५:५०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया