(सम्पादकीय नाेट :१४ औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ ।
अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् ।
फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवलाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )
बजारमा चलेको हल्लाजस्तो समस्या नेपाली कांग्रेसभित्र छैन । हाम्रो अधिवेशन हुन्छ नै । यसमा अविश्वास गरिरहनु पर्दैन । अहिलेको नेतृत्वलाई हामी सहयोग गर्छौं । पार्टीको वैधानिकता जोगाउनका लागि हामी सबै नेतृत्वसँगै हुन्छौं । नेपाली कांग्रेसको इतिहास बचाउनका लागि हामी लागेका छौं । हामी बिगार्नेमा होइन, बनाउनेतिर लाग्नुपर्छ ।
एउटा जिल्लाको जिम्मेवार नेताको हैसियतमा म पनि नेतृत्वमा छु । मैले पनि पार्टीका लागि केही सोच्नुपर्छ, केही गर्नुपर्छ । हामी पनि कसलाई चयन गर्दा के राम्रो हुन्छ भनेर हेरिरहेका छौं । सबै कांग्रेसीलाई एउटै नेतृत्व मन पर्छ र पर्नुपर्छ भन्ने पनि छैन । कसैलाई को त कसैलाई को मन पर्नु स्वाभाविक हो । अहिले हामी जुन नेतृत्वलाई सपोर्ट गरिरहेका छौं, त्यो नेतृत्वले हामीलाई बुझ्नपर्छ । आमकार्यकर्ताको भावना अनुरुपको काम गर्न सक्ने नेतृत्व हामी सबैले चाहेका छौं ।
युवा नेतृत्वको बहस
कांग्रेसमा बेलाबेलामा मात्र नभई धेरैजसो समय युवा नेतृत्वको बहस चल्छ । अहिले थुप्रै युवासाथीहरु नेतृत्वमा जाने चाहना राखिरहेका छन् । हाम्रो पार्टीको जुन लाइन छ, जुन स्पिरिट छ, जुन भावना छ, त्यसलाई हेर्दै काम गर्न सक्ने नेतृत्वको खोजी हामीले गरेका छौं । त्यसकारण अहिलेको परिस्थितिमा पार्टी बचाउने, पार्टीलाई जनतामा विश्वस्त पार्ने कुरामा युवाहरुको भूमिका महत्वपूर्ण छ । पार्टीको सुधार र राम्रो गर्नका लागि नेतृत्वले विकसित घटनाक्रमलाई ध्यान दिन सक्नुपर्छ ।
परिवारवादको समस्या
कांग्रेसमा देखिएको परिवारवादको समस्यामा यतिबेला गाउँदेखि केन्द्रसम्म पुगेको छ । यसकै मारमा म आफैं पनि परेको थिएँ कुनैबेला । म त भन्छु, जिल्लैदेखि यो समस्याको समाधान हुनुपर्छ । यसको विरोधमा हामी लागेकै हो । आफू नभएपछि छोरा, छोरा नभए आफन्तसम्मको सेटिङ यहाँ चलाउन खोजिन्छ । जसले पार्टीमा त्याग गरेको छ, सिद्धान्तमा काम गरेको छ, लगानी गरेको छ उसलाई कुनै स्थान नदिने काम हुँदै आएको छ । युवाहरुको पनि यस विषयमा साथ छ ।
मानौँ, म आफैं सभापति भएँ भन्दैमा मेरो छोरालाई नेतृत्वमा तान्ने त हुँदैन नि ! अरु साथीहरु, जो पार्टीमा लगानी गरिरहेका छन् उनीहरुलाई पनि स्थान दिनुपर्यो नि ! त्यसकारण परिवारवादको विरोधमा म छु । बोल्ने एउटा कुरा, गर्ने अर्को काम भइरहेको छ ।
वडाबाट प्रदेश हुँदै महाधिवेशन गर्ने भनेर आएको मान्छे त्यहाँ परेको छैन, नेताहरुको आफ्नो मान्छे परिरहेका छन् । यसको खुलेर विरोध हुनुपर्छ । त्यसकारण आ–आफ्नो स्वार्थमा भन्दा पनि पार्टीको हिसाबमा सबैले सहयोग गरेपछि नेतृत्वले राम्रो काम गर्छ र गर्न सक्नुपर्छ । अहिले म आफू मात्र भए हुन्छ भनेर जुन परिवारवाद देखिन खोजेको छ त्यो हुनु हुँदैन । त्यसको विरोधमा हामी सबै कांग्रेसी उभिनुपर्छ । पार्टीलाई जोगाउने र अघि बढाउने जिम्मेवारी शेरबहादुर देउवाको मात्र होइन । सबैले उहाँलाई सहयोग गर्नुपर्छ ।
अधिवेशन कसरी गर्ने ?
अहिले महाधिवेशनबारे नेतृत्वको ठूलो पंक्ति पूरै गम्भीर छ । गम्भीर हुनुपर्ने बेला पनि हो यो । नेतृत्वपंक्ति गम्भीर भएर वा सभापतिले मात्र चाहेर महाधिवेशन हुँदैन । महाधिवेशन गराउनु सबै पदाधिकारीको दायित्व हो । सबै मिलेर जाँदा राम्रो हुन्छ । पार्टीभित्रको समस्याबारे जति हल्ला भएको छ, अवस्था त्यस्तोचाहिँ छैन । हाम्रो अधिवेशन हुन्छ । जसले शान्त र सुझबुझपूर्ण ढंगमा पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन सक्छ त्यसैलाई नेतृत्व दिनुपर्छ । यसमा हामी सबै कार्यकर्ता गम्भीर हुनुपर्छ ।
अहिलेको अवस्था संकटपूर्ण छ । यसबारे पनि पार्टीमा छलफल हुनुपर्छ । कोरोना महामारीको यो परिस्थितिमा वडादेखि जिल्लासम्म अधिवेशन पहिला सम्पन्न गर्नुपर्छ । यसमा युवापंक्ति अघि सर्नुपर्छ । खाली युवा भनेर मात्र हुँदैन, गरेर पनि देखाउनुपर्छ ।
यतिखेर पार्टी वैधानिकता जोगाउनका लागि हम्मेहम्मे अवस्थामा छ । इतिहास बोकेको पार्टी कांग्रेसका लागि यो सुखद् क्षण होइन । करिब दुई वर्षदेखि कोरोनाले पार्टीका आन्तरिक क्रियाकलाप गर्न अप्ठ्यारो पारेको छ । यति हुँदाहुँदै पनि सहमतिमा पार्टीको आन्तरिक लोकतन्त्र जोगाउने सवालमा अघि बढ्नुपर्छ भन्ने मेरो भनाइ छ ।
(घले नेपाली कांग्रेस, गाेरखाका सभापति हुन् )
यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–
‘भदौमा महाधिवेशन गर्न विधान संशोधन हुनुपर्छ’–गोरखा सभापति
विधान संशोधनका कारण महाधिवेशन हुन सकेन– ओखलढुंगा सभापति
‘अधिवेशन गर्न नसक्नु केन्द्रीय कमिटी र सभापतिको कमजोरी हो’–उदयपुर सभापति
‘वैधानिकता जोगाउनु ठूलो समस्या होइन’–ताप्लेजुङ सभापति
पार्टीमा युवा उमेरको आधारमा होइन, विचारको आधारमा हुनुपर्छ– पाँचथर सभापति
‘उमेरले होइन विचार र दृष्टिकोणले युवा नेतृत्व छान्नुपर्छ’–तेह्रथुम सभापति
‘वंशको आशीर्वाद होइन, कर्मको हिसाबमा नेतृत्व छनोट हुनुपर्छ’– चितवन सभापति
‘१४ औँ अधिवेशनबाटै युवाहरु आउँछन् भन्ने मैले देखेको छैन’– सर्लाही सभापति
‘पाका नेतृत्वसँगै पुस्तान्तरण जरुरी छ’– सिन्धुली सभापति
‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति
पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति
युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति
चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति
‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाैं सभापति
‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापित
‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापत
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।