कांग्रेस महाधिवेशन समयमै सम्पन्न गर्न प्रदीप पौडेलका पाँच सुझाब

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको महाधिवेशन समयमै सम्पन्न गर्न माग गरेका छन् ।  बिहीबार केन्द्रीय समिति बैठकमा बोल्दै नेता पौडेलले पार्टीको वैधानिकता समाप्त हुने अवस्था आइसक्दा पनि नेतृत्व गम्भीर नभएको भन्दै चिन्ता व्यक्त गरेका थिए । 

पार्टीले गठन गरेको क्रियाशील सदस्यता छानबिन समितिका प्रवक्तासमेत रहेका पौडेलले समयमै महाधिवेशन सम्पन्न गर्नका लागि पार्टीलाई पाँचवटा सुझाब दिएका छन्  । 
उनले छानबिन समितिले लामो मिहिनेत गरेर टुंग्याइसकेको विषयलाई नखोतल्न नेतृत्वलाई सुझाब दिएका छन् । समितिले सकेसम्म सहमतिमा र नसकेका ठाउँमा मापदण्ड प्रयोग गरेर विवाद टुंग्याएकाले त्यसमा तलमाथि गर्न लागेमा झन् समस्या आउन सक्ने पौडेलको भनाइ थियो ।  

पौडेलको दोस्रो सुझाब थियो, सहमतिका आधारमा निर्णय हुन नसकेका विषयलाई छानबिन समितिले माथि पठाएको छ, सक्नुहुन्छ, ती विषय टुंग्याउनुहोस्, नसकेमा त्यसलाई स्थगन गरेर अगाडि बढाउनुहोस् ।

तेस्रो सुझाबका रुपमा पौडेलले छानबिन समितिले टुंग्याएको विषयलाई वेबसाइटमार्फत सार्वजनिक गर्न आग्रह गरेका थिए । त्यसमा गम्भीर त्रुटि देखिएमा  नेतृत्वले त्यसलाई सहमतिमा तत्काल सच्याएर सदस्यता विवाद बाँकी नराख्न उनले भनेका थिए । 

जारी केन्द्रीय समिति बैठकले १४औँ महाधिवेशनसम्बन्धी सम्पूर्ण विषय टुंग्याउनैपर्ने पौडेलले बताए । बैठकमा बोल्दै उनले भने, ‘पार्टीलाई वैधानिक संकट आउने ठाउँमा कसले पुर्यायो ? वैधानिक संकट आउने अवस्थामा पुगिसक्दा पनि तपाईंहरु गम्भीर नहुने ? अझै पनि महाधिवेशनलाई अर्जुनदृष्टि बनाएर नलाग्ने ? वैधानिक संकट आउन नदिन के गर्न सकिन्छ यो कार्यसमिति बैठकले निर्णय गर्नुपर्छ ।’ त्यसका लागि महाधिवेशनका प्रक्रियाहरु घटाएर २३ गतेभित्रै महाधिवेशन गर्न सकिने उनको सुझाब थियो ।  त्यो सम्भव नभए २३ गतेभित्र कम्तीमा वडा अधिवेशन सुरु गरेर केन्द्रीय महाधिवेशन छिटो सम्पन्न गर्ने गरी कार्यतालिका प्रकाशन गर्न पौडेलले सुझाब दिए । 

यसअघि उपसभापति विमलेन्द्र निधिले अन्य पार्टीबाट आएकाहरुको समायोजनबारेको विवाद सुल्झिसकेको बताएका थिए । क्रियाशील विवाद सुल्झन नसकेको मुख्य विषय नै समायोजन विषय भएकाले यदि त्यो पनि सैद्धान्तिक रुपमा मिलेको हो भने क्रियाशील सदस्यता विवाद करिब–करिब टुंगिएको पौडेलको भनाइ थियो । 
 
मतदाता नामावली तयार भइसकेकाले निर्वाचन समितिले तयार गरेको निर्देशिका पास गरेर अधिवेशनको प्रक्रिया छिटो अघि बढाउनले उनले बैठकमा माग गरे ।



क्रियाशील सदस्यता विवादका कारण कांग्रेसले साउन १२ गतेका लागि तय गरेको वडाअधिवेशन स्थगित गरेको थियो । पदाधिकारी बैठकले वडाअधिवेशन स्थगित गरेपछि बिहीबारबाट केन्द्रीय समितिको बैठक सुरु गरिएको हो । बैठक शुक्रबार बिहान ११ बजेबाट पुनः सुरु हुने गरी टुंगिएको छ ।



  • प्रकाशित मिति : साउन २८, २०७८ बिहीबार २१:५३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया