संयम पुरीको टुटेको ‘त्यो प्रेम’

अहिले सम्झँदा अनौठो लाग्छ । त्यो बेला अहिलेका नायक संयम पुरी सानै थिए। सूर्योदय स्कुलमा पढ्थे । नर्सरी क्लासका विद्यार्थी । स्कुल छुटेपछि लामबद्ध भएर गेटबाट निस्कनु स्कुलको नियम नै थियो । सधैंझैं त्याे दिन पनि उनी लाइनमा बसेका थिए । उनीसँगै एक छात्रा थिइन् । संयमले आफूसँगै रहेकी साथीलाई भने, ‘आजदेखि तिमी मेरो गर्लफ्रेन्ड, म तिम्रो ब्वाइफ्रेन्ड है ।’ संयमको यो प्रेम त्यही लाइनमा सकियो ।

किशाेर अवस्थामा प्रवेश गरेपछि संयमका आँखामा ठोक्किन थुप्रै युवती आए । उनले धेरैलाई दिलमा सजाए पनि । संयम आफू सात कक्षामा पढ्थे । उनले ब्याचलर पढ्ने युवतीलाई मन पराए । ती युवतीलाई देखेर उनी भित्रभित्रै दंग पर्थे । तर, उनको त्यो बेलाको आकर्षण एउटालाई देखे, भेटेपछि अर्को भुल्ने खालको हुन्थ्यो । त्यो आकर्षण क्षणिक थियो। 

समय आफ्नै गतिमा चल्दै गयो । बढ्दो उमेरसँगै चञ्चल मन पनि परिवर्तन हुँदै थियो । बढ्दो उमेरसँगै एउटा राम्रो देख्दा अर्को राम्रो बिर्सने मन परिवर्तन भयो । संयम ८ कक्षामा पढ्ने भए । ठिक त्यही बेला उनको परिवार बस्ने कोलोनीमा अर्को परिवार थपियो । थपिन आउने परिवारमा उनकै उमेरकी छोरी थिइन् । केही दिनमा संयम र उनी मिल्ने साथी भए।

एकै उमेरका भएकाले उनीहरूका धेरै कुरा मिल्थे । कोलोनीभरिका केटाकेटी भेला पारेर उनीहरू लुकामारी, छोइडुम खेल्थे । उनीहरूसँगै मर्निङवाक जान्थे । एकै सरसँग ट्युसन पढ्थे । स्कुलमा भएका रमाइला प्रसंग एकअर्कासँग आदान प्रदान गर्थे । अप्ठ्यारो पर्दा एकअर्कासँग सहयोग माग्थे । 

संयम अलि तन्नेरी भए । युवती झन् सुन्दरी देखिने भइन् । संयमलाई ती युवतीको सुन्दरताले निकै लोभ्याउँथ्यो । दिनप्रतिदिन उनीप्रति संयमको आकर्षण बढ्दै गयो । त्यो आकर्षण सम्झँदै संयम भन्छन्, ‘गोरो वर्ण, हल्का कर्ली कपाल, चिटिक्क परेको अनुहार । अझ मुस्कान त झन् आधा चन्द्रमाजस्तो, साह्रै सुन्दर लाग्थिन् उनी मलाई ।’

कहिलेकाहीं उनको आनीबानीले भने संयोगलाई झस्काउँथ्यो । उनको दोहोरो चरित्रजस्तो देखिन्थ्यो । संयाेग थोरै बिरामी हुनासाथ निकै केयर गर्ने, चिन्ता गर्ने उनकी साथी संयाेगलाई सन्चो हुनासाथ आफ्नो ब्वाइफ्रेन्डको चर्चा गर्थिन् । उनले ब्वाइफ्रेन्डको प्रशंसा गर्दा संयोगको मन अमिलो हुन्थ्यो । रिस र डाहले संयमको मुटु भतभती पोल्थ्यो । खास उनकी साथीले ब्याइफ्रेन्ड भनेको केटो संयम पनि चिन्थे । उनी असल थिएनन् । त्यतिबेला उनलाई लाग्थ्यो, ‘उनले मन पारेको केटा जाती भए त हुन्थ्यो नि ! एक नम्बरको लफङ्गो छ । मलाई मन नपराए त ठिकै छ । तर त्यस्तो केटा चाहिँ किन मन पराउनु होला ?’ संयम आफैसँग प्रश्न गर्थे र भित्रभित्रै भुतभुताउथेँ ।



संयमको भित्री मनमा उनले पनि आफूलाई माया गर्छिन् कि भन्ने थियो । उनी सोच्थे, ‘मलाई मन नपराउने भए त मेरो केयर नै नगर्नु पर्ने ! सधैं किन होमवर्क गर्न सिकाउँथिन् होला र ? मनै नपर्ने भए छोइडुम खेल्दासमेत मलाई किन बचाउँथिन् ?’ उनको मनले पक्का गर्यो उनले पनि मलाई मन पराउँछिन्। सोचे, ‘अब चुप लागेर बस्नु हुँदैन ।’ उनले त्यही दिन म्यासेज पठाए, ‘आइ लभ यू डियर !’ 

उनले संयमको प्रस्तावलाई तत्कालै स्वीकार गरिन् । उनले प्रस्ताव स्वीकार गरेसँगै संयमको जीवनमा बहार आयो । यतिका वर्ष सँगै खेली हुर्केका उनीहरू यसपछि भने एकले अर्कोलाई देखेपछि लाजले भुतुक्क हुन थाले । लामो समयसम्म उनीहरू एकअर्कासँग बोल्न सकेनन् । बोलचालको गतिलाई पुरानै लयमा फर्काउन समय लाग्यो । केही समयपछि उनीहरू पहिलेभन्दा झन् धेरै निकट भए । 



दिन आफ्नै गतिमा बित्दै गयो । उनीहरूको एसएलसीको रिजल्ट आयो, दुबै पास भए । दुवैजना छुट्टाछुट्टै कलेज भर्ना भए । कलेज छुट्टी हुँदा एकले अर्कोलाई सुनाउने थुप्रै कथा हुन्थे । दिनहरू निकै सुन्दर लाग्थे । तर ती सुन्दर दिनहरू संयमको जीवनमा लम्बिन पाएनन् । संयमका साथी उनलाई भनिरहन्थे, ‘तेरो गर्लफ्रेन्डले तँलाई मूर्ख बनाइराछ । उनको त अर्कैसँग अफेयर छ ।’ संयम पत्याउन तयार थिएनन् । भन्थे, ‘हैट ! त्यस्तो पनि हुन्छ ! उनी मलाई साँचो प्रेम गर्छिन् ।’ उनले साथीहरूलाई हप्काएर पठाउँथे । 

केही समयपछि नै सत्य उदाङ्गो भयो । एकदिन उनकी प्रेमिकालाई भेट्न कोलोनीमै एक युवक आयो । संयमले साेचे, ‘कोही आफन्त होला ।’ त्यसको भोलिपल्ट उनले प्रेमिकाको मोबाइल चेक गरे । त्यसपछि भने उनी छाँगाबाट खसेझैँ भए । नभन्दै उनकी प्रेमिका त अरू कसैको प्रेममा रहिछन् । त्यो पल सम्झँदै संयम भन्छन, ‘म खङ्ग्रङ्ग भएँ । मुटु त छाती चिरेर बाहिर आउलाझैँ भयो । महिना दिनसम्म आलस्यले थलिएँ म ।’

प्रेम वियोगले उनलाई जँड्याहा समेत बनायो । धेरै पछिसम्म उनको मन बारम्बार भ्रममा फर्किन्थ्यो र सोच्थ्यो, ‘उनी त्यस्तो धोकेवाज खालको केटी त थिइनन् ।’ उनी आफैसँग प्रश्न गर्थे, ‘उनले किन मलाई यसरी झुक्याइन् होला ?’

  • प्रकाशित मिति : साउन २९, २०७८ शुक्रबार १२:२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया