आफूमाथि भएका यौन दुर्व्यवहारबारे खुल्दै भारतका महिला पत्रकार, सामाजिक सञ्जालमा #MeToo अभियान

महिलाका लागि कुनै पनि कार्यक्षेत्रमा टिकेर आफूलाई साबित गर्न निकै मुस्किल हुन्छ । खासगरी नेपाल, भारतजस्ता मुलुकमा कामको चुनौतीसँगै उनीहरूले कतिपय अवस्थामा यौन दुव्र्यवहारको समेत सामना गर्नुपर्ने हुन्छ । 

यस मामलामा मिडियाक्षेत्र पनि अछुतो छैन । मिडियाक्षेत्र बाहिरबाट हेर्दा जति आकर्षक र चम्किलो देखिन्छ, यसभित्र नियाल्दा त्यति नै अँध्यारा गल्लीहरूसमेत फेला पर्दछन् । 

पहिलेदेखि नै सानाठूला मिडिया हाउसमा कुनै न कुनै महिलाका साथ भएका दुर्व्यवहारका कुरा भित्रभित्रै चर्चामा आउने गरेको पाइन्छ । तर, आजभोलि भने यसरी भित्रभित्रै चर्चामा रहने विषय खुलेरै बाहिर आउन थालेको छ । पहिलोपटक महिलाहरू आफूमाथिका दुर्व्यवहारका विषयलाई उजागर गरिरहेका छन् ।

पत्रकारितासँग जोडिएका थुप्रै भारतीय महिलाले आफ्नो साथ कार्यक्षेत्रमा भएका दुर्व्यवहारबारे सामाजिक सञ्जालमा खुलेरै लेख्न सुरु गरेका छन् । 

यसमा धेरैजसो महिला देशका चलनचल्तीका ठूला मिडिया हाउसमा रहेर काम गरेका वा गरिरहेका छन् । जो पुरुषमाथि आरोप लाग्दै छ, उनीहरू पनि मिडिया वा पत्रकारिता जगतका चिनेजानेकै अनुहार छन् । 

भारतमा सामाजिक सञ्जालमा #MeToo ह्यासट्यागमार्फत एउटा अभियानकै रूपमा दुर्व्यवहारका कथाहरू बाहिर आइरहेका छन् । 



केही दिनअघि बलिउड अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकरमाथि दशकअघि एउटा फिल्मको सुटिङका क्रममा यौन दुव्र्यवहार गरेको आरोप लगाइन् । त्यसपछि अरु महिलाहरूले पनि धमाधम आफ्ना साथ भएका यौन शोषणका घटनाहरू उजागर गर्न थाले । 

महिलाहरू आफ्नो कार्यस्थलमा भएका यौन दुर्व्यवहारका विषयमा खुलेरै बाहिर आइरहेका छन् । उनीहरू सामाजिक सञ्जालमार्फत ती घटनाबारे बोलिरहेका छन् र आफूलाई दुव्र्यवहार गर्ने पुरुषको नामसमेत उल्लेख गरिरहेका छन् । 



मिडियासँग जोडिएका थुपै महिलाले ट्विट गर्दै आफूमाथि दुव्र्यवहार गर्ने पुरुषसँग भएका च्याटको स्क्रिनसट सेयर गरिरहेका छन् ।  

वास्तवमा यी सबै सिलसिलाको सुरुवात कोमेडियन उत्सव चक्रवर्तीमाथि एक महिलाले लगाएको आरोपबाट भएको थियो । ती महिलाले बिहीबार एक ट्विट गर्दै आरोप लगाएकी थिइन् कि, उत्सवले उनलाई निवस्त्र तस्बिर पठाउन भनेका थिए, साथमा आफ्नो गुप्तांगको तस्बिर पनि पठाएका थिए । 

यसपछि अन्य कैयौँ महिलाले आफ्ना–आफ्ना कहानी सामाजिक सञ्जालमा व्यक्त गर्न थाले । महिला पत्रकार सन्ध्या मेननले ट्विट गर्दै के आर श्रीनिवासमाथि आरोप लगाउँदै लेखिन्, ‘अहिले टाइम्स अफ इन्डियाको हैदराबाद रेजिडेन्ट एडिटर रहेका के आर श्रीनिवासले एकपटक मलाई बेलुका घर छोडिदिने प्रस्ताव गरेका थिए, यो २००८ सालको घटना हो, जब बैंगलुरुमा म अखबारको एक संस्करण लन्च गर्न पुगेकी थिए र मेरा लागि त्यो सहर त्यतिखेर नयाँ थियो ।’ 

यसको जवाफमा श्रीनिवासले लेखेका छन्, ‘टाइम्स अफ इन्डियाको सेक्सुअल हरासमेन्ट कमिटीले यसको जाँच सुरु गरेको छ र वरिष्ठ महिला नेत्रृत्वको मजबुत कमिटीले यसको जाँच गरिरहेको छ । म यस जाँचबुझमा पूरा सहयोग गर्दै छु ।’

भारतीय सर्वोच्च अदालतकी वकिल इन्दिरा जयसिंहले महिलाहरूले यसरी मुख खोल्नुलाई तारिफयोग्य भन्दै ट्विट गरेकी छिन्, ‘म मिडियाका ती महिलालाई सलाम गर्छु, जो आफ्ना साथ भएका यौन शोषणको अनुभवलाई लिएर मुख खोल्दै छन् । न्यायपालिकामा पनि पनि यस्ता धेरै महिला छन्, जो यस्तै मामलामा लडिरहेका छन् । तपाईंहरू सबैप्रति मेरो समर्थन छ ।’

यसैगरी, केही समय पहिलेसम्म हफिंगटन पोस्टमा काम गरेका अनुराग वर्माउपर थुप्रै महिलाले आपत्तिजनक मेसेज पठाएको आरोप लगाएका छन् । उनले स्न्यापच्याटमा यस्तो मेसेज पठाउने गरेको महिलाहरूको आरोप छ । 

यसको सफइमा अनुरागले माफी माग्दै ट्विटरमा लेखेका छन् कि उनले सबै मेसेज मजाकका रूपमा पठाएका थिए । यसले कसैको भावनामा आघात गर्ने अनुमान आफूलाई नरहेको उनले लेखेका छन् । केही महिलालाई उनीहरूको निर्वस्त्र तस्बिर पठाउन भन्दै मेसेज पठाएको समेत उनले स्विकारेका छन् ।  

यस सम्बन्धमा हफिंगटन पोस्टले पनि आफ्नो तर्फबाट बयान जारी गरेको छ । यसमा लेखिएको छ कि, उसका दुई पूर्वकर्मचारी अनुराग वर्मा र उत्सव चक्रवर्तीमाथि थुप्रै महिलाले यौन दुर्व्यवहारको आरोप लगाएका छन् । आफू यसप्रकारको कार्यलाई कुनै पनि ढंगले सही नमान्नेसमेत उसले उल्लेख गरेको छ ।

#MeToo अथवा ‘म पनि’ यौन उत्पीडनको विरुद्धमा चलिरहेको एक ठूलो अभियान हो । सामाजिक सञ्जलमा यस ह्यासट्यागका साथ विशेष गरी कार्यस्थालमा यौन हमलाको सिकार भएका महिलाहरूले त्यसबारे बयान दिइरहेका छन् ।  

यो अभियानले महिलालाई हिम्मत जुटाएर आफूमाथि भएका दुर्व्यवहारबारे बोल्न र पीडकविरुद्ध आवाज उठाउन प्रेरित गर्दछ । 

गतवर्ष हलिउड निर्देशक हार्वी वाइन्स्टाइनमाथि यौन दुर्व्यवहारको आरोप लागेदेखि दुनियाँभरबाट यस अभियानमा हजारौँ मानिस सहभागी भएका छन् । 

  • प्रकाशित मिति : असोज २०, २०७५ शनिबार १६:४४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया