धनगढीका अधिकांश बस्ती जलमग्न, सडकमै बग्यो नदी

बुधबार रातिदेखि लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन् । सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम समेत रहेको धनगढीका मुख्य सडक नै जलमग्न हुँदा आवत-जावतमा समस्या उत्पन्न भएको छ । प्रदेशसभा अगाडिकै सडक पार्क मोड आसपासका पसल भित्र पानी गएको छ । सडक खोला जस्तै भएका छन् ।

धनगढीमा सबैभन्दा बढी एलएनचोक, पार्कचोक, विशालनगर, मिलनचोक, चौराह, उत्तरबेहडी, मित्रनगर लगायतका अधिकांश क्षेत्र जलमग्न भएका हुन् । यस्तै, धनगढी उपमहानगरको वडा नं. २ र ३ का दर्जनभन्दा बढी घर तथा पसल डुबानमा परेका छन् । 

पानी निकास हुने गरेका पुराना खोल्सा, कुलेसा घर निर्माण हुने क्रममा पुरिएपछि स्थानीयबासीका घर तथा पसलभित्र पानी पस्नुका साथै मुख्य सडकसमेत जलमग्न भएको धनगढी–३ का शेर बहादुर धामीले बताए । उनले भने, ‘उपमहानगरपालिकाका सहायक सडकमा पानीको निकास नभई डुबानमा पर्नुका साथै विभिन्न मुख्य सडकमा समेत पानी जमेर स्थानीयबासीलाई आवतजावतमा समेत समस्या भएको छ ।’

वर्षाले स्थानीयबासीका धानबाली डुबानमा परेका छन् भने खेतबारी जलमग्न भई तलाउजस्तै देखिएका छन् । धनगढीमा ६ लेन सडक र अर्कोतिर रिङरोड निर्माणसँगै पानीको उचित निकासको व्यवस्थापन हुन नसकेका कारण पनि थप समस्या निम्तिएको छ ।
धनगढी उपमहानगरपालिका-१ एलएनचोकका व्यापारी राजिव गुप्ताले तीन दिनदेखि अत्यधिक वर्षा भएको र पानी निकासको व्यवस्था नहुँदा स्थानीयबासीका घरभित्र पानी पसेको बताए । पार्कचोकका धेरै व्यापारीका पसल भित्र पानी पसेको छ ।



उपमहानगर भित्र भएका खोला नाला अतिक्रमण भएपछि डुबान समस्या वर्षेनी दोहोरिने गरेको छ । धनगढीका मुख्य कैलाली नाला, सुकुटी नाला, सबैभन्दा अतिक्रमणमा परेका क्षेत्र हुन् । पानी निकास हुने स-साना नालाहरु हराउँदै जादा डुबान समस्या हुने गरेको धनगढी उपमहानगर-२ कि धना बटालाले बताइन् । ‘२ दशक अगाडिसम्म धेरै नालाहरु खुल्ला थिए । पानी सहजै बग्ने गर्थे । तर, अहिले स–साना नालाहरु मात्र नभएर मुख्य भनिएको कैलाली नाला नै साघुँरिदै जादा समस्या बढ्दै गएको छ ।’ 



नालाखोला अतिक्रमणले वर्षातमा धनगढी नगरका घर डुबानमा पर्ने समस्या वर्षौदेखि ज्यूँका त्यूँ छ । धनगढी-३ चटकपुरको श्रीकेदार टोल पानीको निकास हुँदा वर्षेनी डुबानमा पर्ने गरेको छ । ‘चटकपुरभन्दा दक्षिणतर्फ पनि निकास हुनुपर्छ । त्यसपछि केही सहज हुने छ ।’ 

डुबान क्षेत्र वर्षेनी फेरिँदै
धनगढीमा डुबान क्षेत्र वर्षेनी फेरिँदै गएको छ । एक दशक अगाडि डुबानमा पर्ने धनगढीका धेरै बस्ती अहिले डुबानमुक्त भएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर २ शिखर टोलमा ललितबहादुर हमालले २०५६ सालमा घर बनाए । दुई दशकदेखि डुबानमा नपरेको क्षेत्रमा रहेको हमालको घर दुई वर्षदेखि डुबानमा पर्दै आएको छ । ‘घर लगाएको २० वर्ष बढी भयो’, घर भित्र पसेको पानी फाल्दै गरेका उनले भने, ‘तर, पछिल्लो दुई वर्षमा घरको सबै कोठामा पानी पुग्ने गरेको छ ।’ 

हमालले मोहना–अत्तरिया सडक निर्माणले गर्दा आफ्नो घर डुबानमा पर्ने गरेको गुनासो व्यक्त गरे । ‘विशाल नगर देखिको पानी निकास मालिका टोल र शिखर टोल पठाएको छ’, उनले भने, ‘अगाडि पानीको निकास छैन । अनि डुबान नभएर के हुन्छ ?’ 

धनगढी विद्युत प्राधिकरणको कार्यालय भएको क्षेत्र मित्रनगर दुई वर्ष अगाडि डुबान नपर्ने क्षेत्र हो । तर, पछिल्लो दुई वर्षयता लगातार डुबानमा पर्ने गरेको छ । विद्युत कार्यालय डुबान पर्दा ठूलो समस्या उत्पन्न हुँदै आएको छ ।

  • प्रकाशित मिति : साउन २९, २०७८ शुक्रबार १६:१८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया