राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विजया दशमीकै अवसरमा पार्टी एकता हुने गरी प्रयास भइरहेको बताएका छन् ।
सम्पर्क समाज समन्वय विभागद्वारा पार्टी केन्द्रीय कार्यालयमा आयोजित विजया दशमी, शुभ–दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले बडादसैँ, शुभ–दीपावली, छठलगायत नेपालीपन र पहिचान झल्काउने पर्वका साथै नेपाली संस्कृतिको संरक्षण र संवद्र्धनमा राप्रपा निरन्तर क्रियाशील रहेको बताए ।
उनले विजया दशमीका अवसरमा गाउँ जाँदा पार्टीका एजेन्डाहरूबारे चर्चा गर्न उपस्थित नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
नेपाली संस्कृतिमा सदियौँदेखि स्थापित घटस्थापनाजस्तो पवित्र दिनमा पनि सरकारले सार्वजनिक बिदा कटौती गरेकोमा आपत्ती जनाउँदै अध्यक्ष थापाले राप्रपाकै पहलमा कुनै दिन घटस्थापनालाई सार्वजनिक बिदा दिलाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
पार्टीका महामन्त्री एवं सम्पर्क समाज समन्वय विभाग प्रमुख भास्कर भद्राको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका वरिष्ठ नेता बालाराम घर्तीमगर, प्रदेश ३ का अध्यक्ष विक्रमबहादुर थापा, उपाध्यक्ष निना भेटवाल, ललितपुर जिल्ला अध्यक्ष आनन्द अधिकारीलगायतले शुभकामना व्यक्त गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।