मन्त्री बन्न गगनको ‘गनगन’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हाल्न थालेको एक महिना पुगिसकेको छ । एक महिना पुगे पनि देउवाले अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् । 

सत्ता साझेदार अरु दलबाट मन्त्रीहरुको सूची नआएको बताउँदै आएका देउवाले कांग्रेसबाट कसकसलाई मन्त्री बनाउने भन्ने पनि अहिलेसम्म टुंगो लगाउन सकेका छैनन् । कांग्रेसमा १४ औं महाधिवेशनको रौनकलाई समेत ‘व्यवस्थापन’ गर्न नसकेका देउवाले अहिलेसम्म पार्टीमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासँग सरकारमा कसकसलाई समावेश गर्ने भन्नेबारे सल्लाह समेत गरेका छैनन् ।

आफूले प्रधानमन्त्री पदको सपथ लिने दिनमा नै उनले गृहमा कांग्रेसबाट बालकृष्ण खाँण र कानुनमा ज्ञानेन्द्र बहादुर कार्कीलाई जिम्मेवारी दिएका छन् । त्यसको केही दिनपछि उनले स्वास्थ्यमा उमेश श्रेष्ठलाई राज्यमन्त्रीका रुपमा ल्याएका छन् ।

कोरोनाभाइरस महामारीको दोस्रो लहरको जोखिमबीच बनेको सरकारले स्वास्थ्यमा ‘फुल मन्त्री’ नल्याएको भन्दै देउवा सरकारको आलोचना पनि भएको थियो । कांग्रेसकै कतिपय नेताहरुले स्वास्थ्यमा कांग्रेस नेता गगन थापालाई ल्याउन प्रधानमन्त्रीलाई सुझाव पनि दिएका थिए ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस नेता थापालाई मन्त्रिपरिषदमा समावेश गर्न प्रधानमन्त्री देउवालाई सल्लाह दिएको एक कांग्रेस केन्द्रीय सदस्यले फरकधारलाई जानकारी दिएका छन् । ‘पब्लिकमा इमेज राम्रो छ, यसले प्रधानमन्त्रीलाई सहज हुन्छ भनेर उहाँहरुले देउवालाई भेटेर यो सल्लाह दिनु भएको हो,’ ती नेताले भने, ‘तर, यसमा देउवाले कुनै जवाफ दिएका छैनन् ।

अर्कोतिर, थापा आफैंले पनि मन्त्री बन्न पाऔँ भन्दै देउवालाई भेट गरिरहेका छन् ।



‘मैले सिस्टम बुझिसकेको छु, यसअघि मन्त्री बन्दा धेरै राम्रो काम गरेको छवि बनेको छ,’ थापाले यसअघि मन्त्री बनाउन अनुरोध गर्दै देउवालाई भनेका यी लाइन एक नेताले उद्धृत गरे, ‘यसपटक पनि म डेलिभरी दिन चाहन्छु, मलाई मन्त्री बनाउनु होला ।’

 



गगनले भने– सिटौला क्याम्पबाट मन्त्री बन्दिनँ

आफूलाई मन्त्री बनाउन अनुरोध गर्दै देउवा निवास बूढानिलकण्ठ र प्रधानमन्त्री निवास बालुवाटार पुगेका थापाले चाहिँ आफूलाई मन्त्री बनाए पनि सिटौला क्याम्पबाट आफू मन्त्री नबन्ने देउवालाई बताएका छन् ।

स्रोतका अनुसार १४ औं महाधिवेशन अगाडि नै थापाले सिटौला क्याम्प पनि छोड्ने तयारी गरेका छन् ।

‘उहाँले आएर आफूलाई मन्त्री बनाउनु तर सिटौला कोटाबाट आफूलाई मन्त्री नबनाउन अनुरोध गरेको हामीले पनि थाहा पाएका छौँ,’ कांग्रेसमा देउवा निकट एक नेताले फरकधारलाई बताए । उनले थापाको भनाइलाई उद्धृत गर्दै भने, ‘म मन्त्री बन्न चाहन्छु तर प्रधानमन्त्रीले रोजेको र जनताले खोजेको मन्त्रीका रुपमा मन्त्री बन्न चाहन्छु, सिटौलाको गुटबाट आएर मन्त्री बनेको हुँ भन्न चाहन्नँ ।’

गगन थापाले प्रधानमन्त्री देउवासँग आफूलाई स्वास्थ्य मन्त्रलायको जिम्मेवारी दिनका लागि ‘गनगन’ गरेको ती नेताले बताए ।

 

किन चाहन्छन् विश्वप्रकाश र पूर्णबहादुर खड्का थापालाई मन्त्री बनाउन ?

कांग्रेसको १४ औं महाधिवेशनमा थापा महामन्त्रीका उम्मेदवारका रुपमा आफूलाई उभ्याउन चाहन्छन् । यसका लागि उनले कसरत पनि सुरु गरिसकेका छन् । यही सन्दर्भलाई लिएर देउवानिकट दुई नेता विश्वप्रकाश शर्मा र पूर्णबहादुर खड्का थापालाई सिटौला क्याम्पबाट निकाल्न चाहन्छन् ।

त्यसो त थापा केही समय यता सिटौला गुटका बैठकमा सहभागी भए पनि कांग्रेस नेता शेखर कोइरालासँग नजिकिएको अनुमान हुन थालेका छन् । सिटौलाका पछिल्ला बैठकमा उपस्थित भए पनि उनी आगामि महाधिवेशनमा शेखरको क्याम्पबाट महामन्त्रीका उम्मेदवार हुने लगभग तय भइसकेको एक नेता बताउँछन् ।

‘उनलाई सिटौला क्याम्पबाट निकाल्न सकियो भने देउवालाई बलियो बनाउन मात्र होइन, देउवा इतर पक्षलाई पनि कमजोर बनाउन सकिन्छ वा उनलाई देउवा क्याम्पमा सेटल गराउन सकिन्छ कि भन्ने प्रयासमा शर्मा र खड्का लागेको बुझ्न सकिन्छ,’ एक नेताले भने, ‘तर, गगन अहिले पनि सिटौला गुटका बैठकमा सहभागी भइरहेका छन् ।’

यही विषयमा प्रश्न गर्दा शर्माले आफूले अनौपचारिक विषयमा केही नबोल्ने बताए । ‘अनौपचारिक विषयमा म केही पनि बोल्दिनँ,’ शर्माले भने, ‘पार्टीका औपचारिक बैठक र अहिले चलिरहेको केन्द्रीय कमिटी बैठकबारे जे सोधे पनि भन्छु, अनौपचारिक विषयमा अहिले म केही बोल्दिनँ ।’

त्यस्तै, खड्काले पनि यस विषयमा आफूलाई केही बोल्न मन नभएको बताए । 

‘यस विषयमा बोलेर केही फाइदा पनि छैन,’ फरकधारसँग उनले भने, ‘अब कसलाई मन्त्री बनाउनुहोस् भनेर सुझाव दिइएको छ भन्ने कुरा औपचारिक पनि होइन, बाहिर थाहा दिएर हुने पनि केही होइन ।’

 

गगनलाई देउवाको जवाफ– मन्त्री बन्ने भए सिटौलालाई सोध्नुस्

३ साउनमा प्रतिनिधिसभामा विश्वासको मत लिँदा देउवालाई नेकपा एमालेका केही नेताले पनि विश्वासको मत दिएका थिए । तीमध्ये केही नेताले देउवालाई भेटेर आफूलाई मन्त्री बनाउन अनुरोध गरिरहेका छन् ।

स्रोतका अनुसार प्रेम आले, किसान श्रेष्ठलगायत नेताले देउवालाई आफूलाई मन्त्री बनाउन अनुरोध गरिरहेका छन् । त्यस्तै, एमालेमा माधवकुमार नेपाल निकट नेताहरुले पनि आफूलाई पनि मन्त्रिपरिषद्मा समावेश गर्न अनुरोध गरिरहेका छन् । 

तर, यी सबैको अनुरोधलाई देउवाले दिने जवाफ एउटै छ– माधवकुमार नेपाललाई सोध्नुस् ।

ठ्याक्कै यस्तै आफूलाई मन्त्री बनाउन अनुरोध गर्दै थापा देउवाकहाँ पुग्दा देउवाले उनलाई जवाफ दिएका थिए– सिटौलाजीलाई सोध्नुस् ।

 

देउवासँग मन्त्री पद मागेर, सिटौलासँग थापाले भने– यो सरकारमा सहभागी हुनुहुन्न

देउवासँग आफूलाई मन्त्री बनाउन अनुनय गर्न पुगेका थापाले चाहिँ गुट बैठकमा यो सरकारमा आफूहरु सहभागी हुन नहुने तर्क गर्दै आइरहेका छन् । सरकारको आयु छोटो रहेको बताउँदै देउवाले यो सरकारले जनतालाई डेलिभर पनि गर्न नसक्ने हुँदा सरकारमा सहभागी हुन नसक्ने तर्क गर्दै आइरहेका हुन् ।

एक नेताका अनुसार सिटौलाले उमाकान्त चौधरीलाई मन्त्रीमा सिफारिस गर्ने छनक पाएपछि थापाले देउवा नेतृत्वको सरकारमा आफूहरु सहभागी हुन नहुने बताउँदै आएका हुन् ।

तर, सिटौलाले यो सरकारमा सहभागी हुन आफ्नो तर्फबाट कसलाई मन्त्रीमा सिफारिस गर्छन् भन्ने अहिलेसम्म टुंगो लागेको छैन ।

  • प्रकाशित मिति : साउन ३०, २०७८ शनिबार १६:४२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया