नेकपा एमाले माधव नेपाल समूहका कर्णाली प्रदेश संयोजक प्रकाश ज्वालाले एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराजा ज्ञानेन्द्रले ल्याएको प्रतिगमन समान रहेको बताएका छन् । शनिबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वमन्त्री ज्वालाले राजतन्त्र ढालेर ल्याएको लोकतान्त्रिक व्यवस्थालाई ओलीले कुल्चन खोजेको आरोप लगाए ।
कर्णाली प्रदेश कमिटीले शनिबार नेकपा एमालेको युवा संघ नेपाल कर्णाली प्रदेश कमिटी तथा पिपुल्स भोलिन्टियर (पिभी) घोषणा गरेको छ । सो कार्यक्रमलाई सम्बोधन गर्दै ज्वालाले भने, ‘हामीले लडेर ल्याएको गणतन्त्र बहुआयामिक छ । जनप्रतिनिधिमूलक संस्थामाथि केपी ओली र राजा ज्ञानेन्द्रले गरेको प्रतिगमनमा केही फरक छैन ।’
राजाले गरेको प्रतिगमन हानिकारक हुने तर कम्युनिस्टको नाममा ओलीले गरेको प्रतिगमन सुन्दर र लोकतान्त्रिक नहुने उल्लेख गर्दै उनले भने, ‘जसरी राजा ज्ञानेन्द्रलाई नारायणहिटीबाट नागार्जुन पुर्याइएको थियो, त्यसैगरी केपी ओलीको प्रतिगमन ढालेर बालुवाटारबाट बालकोटको बार्दलीमा पुर्याइयो ।’
‘दुई–दुईपटक प्रतिगमन पराजित गरेर लोकतन्त्रलाई बचाएको दाबी गर्दै उनले ओलीको प्रतिगमनलाई पराजित गर्न युवाहरुको अहं भूमिका रहेको बताए ।
ओलीको प्रतिगमनको अन्त्य माधव नेपालकै अगुवाइमा भएको जिकिर गर्दै । नेता ज्वालाले केपी ओलीलाई भारतले एउटा पात्रको रुपमा प्रयोग गरिरहेको आरोपसमेत लगाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।