अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्न सरकारले बनायो समिति
फाइल तस्बिर

सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गर्न संयोजन गर्नका लागि एक समिति निर्माण गरेको छ । 

सरकारले द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा समस्यामा परेका नेपालीहरुलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकत्वमा एक समिति गठन गरेको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले बताए । 

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै पौड्यालले सो समितिमा गृह मन्त्रालय, अर्थ मन्त्रालय, श्रम मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी र सिसिएमसीको सहसचिव तहको प्रतिनिधित्व हुनेगरी समिति बनाइएको र समितिले आइतबारदेखि नै काम गर्ने बताए । 

पौड्यालले भने, ‘समितिको उद्देश्य के छ भने कदाचित् हामीले कसैलाई हामी आफैले इभाक्वेट गरेर लिएर आउनुपर्यो भनेदेखि त्यसको संयोजन गर्ने, त्यसको व्यवस्थापन गर्ने गरेर सबै सरोकारवाला निकायहरुलाई राखेर यो संयन्त्र बनेको हो ।’

अफगानिस्तानमा औपचारिक क्षेत्रमा करिब १५ सय नेपाली रहेको सचिव पौडेलले बताए । नेपालीहरु अफगानिस्तानको काबुल बाहिर हालसम्म नरहेको रिपोर्ट पाएको उनले बताए । अफगानिस्तानमा औपचारिक क्षेत्रमा आवद्ध रहेका नेपालीहरु स्वयं संस्थाको पहलमा नेपाल आउने सम्भावना रहेको उनले बताए । 

सरकार दुतावास तथा अफगानिस्तानमा रहेका नियोगहरूसँग सम्पर्कमा रहेको पौड्यालले बताए । मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सम्पर्कमा आउनका लागि सूचना जारी गर्ने, जहाँबाट भएपनि आफ्नो अवस्थाबारे जानकारी गराउनका लागि अनलाइन पोर्टल बनाउने तथा कन्सुलर सेवा विभाग र परराष्ट्र मन्त्रालयमा एक÷एक वटा फोनलाई ह्वाट्स एप र भाइबरमा लिंक गरेर सञ्चालन गर्ने पनि सचिव पौड्यालले बताए । 





  • प्रकाशित मिति : साउन ३१, २०७८ आइतबार १८:३९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया