२३ फागुन, २०८२ शनिबार
March 7, 2026

काङ्ग्रेस जिल्ला सभापतिसँग फरकधार
'म आह्वान गर्छु : सबै युवा मिलेर नयाँ नेतृत्वका लागि सोचौँ'

(सम्पादकीय नाेट :१४ औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ । 

अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् । 



फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा नेपाली कांग्रेस मोरङ​का सभापति डिकबहादुर लिम्बू​लाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )

नेपाली कांग्रेसले अहिले १४औँ महाधिवेशनका लागि जुन सकस बेहोरिरहेको छ, लोकतान्त्रिक पार्टीका लागि यो आफैँमा राम्रो सन्देश होइन । समयमा हामीले महाधिवेशन गर्न सकेको भए परिस्थिति राम्रो हुन्थ्यो । हामीले समयमा महाधिवेशन गर्न नसकेपछि रस्साकस्सी गरेर आरोप प्रत्यारोपको शृृंखलाबाट अघि बढेको अवस्था छ । त्यसले स्वाभाविक रुपमा कांग्रेस, कांग्रेसका शुभेच्छुक र नेता–कार्यकर्तामा असन्तोष ल्याएको छ । 



अब महाधिवेशनको नयाँ तालिका आएको अवस्था छ । हामीले क्रियाशील सदस्यता सबैभन्दा महत्वपूर्ण कुरा हो, यो मुद्दा नटुंगिएसम्म कार्यतालिका तय नगरौँ भनेका हौँ । कार्यतालिका तोक्दै जाने, क्रियाशीलता नटुंग्याउने हुँदा फेरि पनि महाधिवेशन हुन नसक्ने अवस्था हुन्छ नि त ! 

भदौ २ गतेसम्म क्रियाशील अन्तिम टुंग्याउने भनिएको छ । टुंगिएन भने १८ गतेबाट हुने भनिएको वडाको अधिवेशन प्रभावित हुन सक्ने अवस्था छ । त्यसकारण हामीले जिल्ला तहबाट भनेको कुरालाई बेवास्ता गर्दै केन्द्रीय नेतृत्वले तालिका सार्वजनिक गरेको छ । तर, क्रियाशीलताको विवाद यथावतै छ । त्यसकारण यो क्रियाशीलको समस्या नटुंगिँदा महाधिवेशन प्रभावित हुने शंका उत्पन्न भएको छ । 

यस्तो संगीन अवस्था छ, तर हामीलाई महाधिवेशन गर्नैपर्ने बाध्यता छ । पार्टीले बेलामा गर्नुपर्ने महाधिवेशन नगर्दा यो समस्या आएको हो । कार्यकर्तामा नयाँ जोस र जाँगर भरेर जनताबीचमा जानुपर्ने अवस्थामा यसलाई टुंगोमा पुर्याउनैपर्ने बेला छ । कांग्रेसले महाधिवेशनको माध्यमबाट आमकार्यकर्ता र जनतालाई आशाको सन्देश दिनुपर्ने बेला थियो । तर, यसमा क्रियाशील विवादको कार्यतालिका तलमाथि गरेर समस्या सिर्जना गरिएको छ । 

एउटा जिम्मेवार कार्यकर्ताको हिसाबले महाधिवेशन कार्यतालिका आयो, त्यसमा तिक्तता पोख्नु छैन, तर क्रियाशीलको मुद्दा टुंगिनुपर्यो । तर, केन्द्रीय समितिले हाम्रो कुरा सुनेन । यो सबै अपजसको भागीदार केन्द्रीय नेतृत्व नै हो । समग्रमा कांग्रेसको महाधिवेशन नगरी हामीलाई धरै छैन । 



युवा नेतृत्वको बहस

कांग्रेसमा युवा नेतृत्वको भूमिकालाई सार्थकतापूर्ण ढंगले पार्टीमा लिएर जानुपर्छ भन्ने मुद्दा हामीले पहिल्यैदेखि उठाएका छौँ । १३औँ महाधिवेशनमा पनि थुप्रै युवा साथीहरु आउनुभएको थियो । तर, परम्परावादी ढंगबाट, पुरानो शैलीबाट नेतृत्वले नै पार्टी हाँकिसकेपछि त्यसैमा युवा पनि बाँधिन बाध्य भएका छन् । त्यो समस्या पार्टीमा छ । 

महाधिवेशन प्रतिनिधि जो–जो आउनुहुन्छ, त्यहाँ ५० प्रतिशत युवा सहभागिता हुनुपर्छ । हामीले भनेका पनि छौँ, ५० प्रतिशत युवाहरु महाधिवेशन प्रतिनिधि भएर आउनुस् । अनि मात्र हामीले चाहेको जस्तो परिवर्तन हुन सक्छ । 

युवाहरु भरपुर ढंगबाट महाधिवेशनमा आउनुभयो भने स्वभाविक रुपमा हामीले चाहेको परिवर्तन आउँछ, आउँछ । प्रतिनिधित्व नै नगराउने हो भने फेरि पनि पुरानै नेतृत्व आउँछ, पुरानै ढर्राबाट पार्टी चल्छ र नेता कार्यकर्ताले चाहेकोजस्तो पार्टी फेरि बन्न सक्दैन । कार्यकर्ताको स्पिरिटमा पार्टी अघि बढ्न सक्दैन । त्यसकारण युवाहरुको भरपूर सहभागिता हुनुपर्छ । 

म आह्वान गर्न चाहन्छु, तपाईंहरु महाधिवेशन प्रतिनिधिको रुपमा आउनुस्, हामी सबै युवा मिलेर नयाँ नेतृत्वको लागि सोचौँ । अनि हामी नयाँ ढंगबाट पार्टी स्थापित गर्न सक्छौँ । पार्टी नयाँ ढंगबाट निर्माण भएमा देश अघि बढ्न सक्छ, देश राम्रो हुँदा जनताले सुख पाउँछन् । 

परिवारवादको समस्या

परिवारवादको समस्या त पार्टीमा देखिइरहेको अवस्था छ । हिजो परिवारवाद भनेर नयाँ नेतृत्वका लागि हामीले आवाज उठायौँ । अहिले पनि नयाँ नेतृत्व परिवारवादकै समस्यामा बाँधिएको देखिन्छ । हाम्रो नेतृत्व बोल्न सकेको छैन । जसरी नयाँ ढंगबाट परिवर्तन खोजिएको छ, त्योअनुसार निर्णय हुन सकेको छैन । त्यो त देखिएको अवस्था छ । 

नेतृत्वले फरक ढंगले उठेका कुरालाई सम्बोधन गर्न सक्नुपर्छ भन्ने हाम्रो चाहना हो । तर, नेतृत्वले सम्बोधन गर्न सकेको छैन । फेरि पनि परिवार र किचन क्याबिनेटको वरिपरि राजनीति घुमिरहेको छ । त्यसले सबैको भावना सम्बोधन गर्न सक्दैन । त्यसकारण फरक ढंगबाट काम हुनुपर्छ भनेर हामीले आह्वान गरिरहेका छौँ । 

महाधिवेशन कसरी गर्ने ? 

केन्द्रीय समितिले प्रतिनिधिमूलक रुपमा महाधिवेशन गर्ने भनिरहेको छ । जस्तोः क्षेत्रीय प्रतिनिधिले पालिकाको सभापति चुन्ने भन्ने आइरहेको छ । पत्रकार महासंघले जसरी आफ्नो अधिवेशन सम्पन्न गर्यो, त्यसैगरी जिल्लाबाट केन्द्रीय नेतृत्व छनोट गर्नेसम्म हुनुपर्छ । यसो हुँदा भिड पनि हुँदैन । कोभिडको प्रोटोकल पनि पालना हुन्छ । महाधिवेशन पनि हुन्छ, हामीले नेतृत्व पनि पाउँछौँ । 

अहिले बाढी–पहिरोजस्ता प्राकृतिक प्रकोपको पनि समस्या छ । त्यसलाई नियमित हो भन्ने ठानेर समयअनुसार पार्टीको नेतृत्वले काम गर्नुपर्यो । अहिले नेतृत्व गम्भीर हुनुपर्ने बेला हो । तर पनि वैधानिकताको कुरा उठाएर कोकोहोलो गर्ने कुरा पनि भएन । समयमा महाधिवेशन गर्नेतिर सबैले सोच्नुपर्यो । 

यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–

क्रियाशीलताको विवाद अन्त्य नभए महाधिवेशनमा भाग लिँदैनौं– कपिलवस्तु सभापति

तेरो र मेरो भनेर क्रियाशीलको फाइल नै खोलिएन– सप्तरी सभापति

परिवारवादको विरोधमा सबै कांग्रेसीजन उभिनुपर्छ-सिरहा​ सभापति

‘भदौमा महाधिवेशन गर्न विधान संशोधन हुनुपर्छ’–गोरखा सभापति

विधान संशोधनका कारण महाधिवेशन हुन सकेन– ओखलढुंगा सभापति

‘अधिवेशन गर्न नसक्नु केन्द्रीय कमिटी र सभापतिको कमजोरी हो’–उदयपुर सभापति

‘वैधानिकता जोगाउनु ठूलो समस्या होइन’–ताप्लेजुङ सभापति

पार्टीमा युवा उमेरको आधारमा होइन, विचारको आधारमा हुनुपर्छ– पाँचथर सभापति

‘उमेरले होइन विचार र दृष्टिकोणले युवा नेतृत्व छान्नुपर्छ’–तेह्रथुम सभापति

‘वंशको आशीर्वाद होइन, कर्मको हिसाबमा नेतृत्व छनोट हुनुपर्छ’– चितवन सभापति

‘१४ औँ अधिवेशनबाटै युवाहरु आउँछन् भन्ने मैले देखेको छैन’– सर्लाही सभापति

‘पाका नेतृत्वसँगै पुस्तान्तरण जरुरी छ’– सिन्धुली सभापति

शेरबहादुरजी, रामचन्द्रजीहरुले धेरै अवसर पाउनुभयो, दोस्रो पुस्तालाई नेतृत्व दिनुपर्ने बेला आएको छ- धनुषा सभापति

‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति

पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति

युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति

चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति

‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाै‌ं सभापति

‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापित

‘नयाँ नेतृत्व, नयाँ विचार, नयाँ ढंग, नयाँ कार्यक्रमका साथ कांग्रेस अगाडि बढ्नुपर्छ’— सिन्धुपाल्चाेक सभापति

‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापत

 

  • प्रकाशित मिति : ३१ साउन, २०७८ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया