तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि त्यहाँका राष्ट्रपति असरफ गनी देश छाडेर भागेका छन् । अहिलेसम्म उनी कुन देशमा गए भन्नेबारे एकिन रिपोर्टहरु आएका छैनन् ।
अधिकांशले गनी उज्बेकिस्तान गएको हुनसक्ने अनुमान गरेका छन् ।
उनी आफैंले पनि एक फेसबुक पोस्टमा आफूले देश छाडेको बताएका छन् । तर, उनले आफू कहाँ गएको हो भन्नेबारे चाहिँ केही बताएका छैनन् ।
गनीले देश छाडेपछि र तालिबानले पूरै देश कब्जा गरेपछि नेपाली नेताहरुले पनि यसबारे विभिन्न प्रतिक्रिया दिएका छन् । तिनैमध्ये एक हुन्, नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटा ।
बाँस्कोटाले सोमबार विहान एक ट्विट गर्दै यो प्रसंगलाई नेपालको राजनीतिसँग पनि तुलना गरेका छन् ।
उनले विदेशीले अनेक स्वार्थ पूरा गर्न कमजोर देशलाई भुँवरीमा हालिदिन सक्ने बताउँदै काम सकिएपछि आफ्नै पपेटलाई पनि उद्धार गर्न नसक्ने उल्लेख गरेका छन् । विभिन्न नेताहरुको उदाहरण दिँदै बाँस्कोटाले गनीको प्रसंग पनि निकालेका छन् । अनि अन्तिममा उनले जोडेका छन्– हाम्रो देशले दुःख पाए पनि कम्फरटेवलतिर लाग्नु हुन्न ।
केही समयअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अब भारतका लागि कम्फर्टेबल सरकार बन्ने अभिव्यक्ति दिएको चर्चा आएको थियो । बाँस्कोटाले यो ट्विटमा यही प्रसंगलाई जोडेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।