जनप्रतिनिधि र कर्मचारी भ्रमणमा निस्केपछि नगरपालिकाको कामकाज ठप्प

महोत्तरीको एक स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी देशव्यापी भ्रमणमा निस्केपछि नगरपालिकाको कामकाज नै ठप्प भएको छ । जिल्लाको बलवा नगरपालिकाका नगर प्रमुख विनोदकुमार यादवलगायत कार्यालयका ६० जना कर्मचारी विगत ५ दिनदेखि सरकारी खर्चमै भ्रमणमा निस्केका हुन् । 

बलवा नगरपालिकाको ११ वडा मध्ये ८ वडाका वडाध्यक्ष, कार्यकारी सदस्य, नगरप्रमुख विनोद यादव, उपप्रमुख रीतादेवी झा, प्रमुख प्रशासकीय अधिकृत रमेश अधिकारी, इन्जिनियर कार्तिकेश झा, लेखा अधिकृत शत्रुधन ठाकुरसहित ६० जना कर्मचारी देशव्यापी भ्रमणमा निस्केका हुन् ।

जनप्रतिनिधि नै जनताको समस्यालाई बेवास्ता गर्दे भ्रमणमा गएपछि स्थानीयवासी रनभुल्लमा परेको स्थानीय अशोककुमार यादवले बताए । उनले भने, ‘वर्षातको समयमा गाउँ घर डुबानमा परिरहेको बेला यसरी जनप्रतिनिधिदेखि कर्मचारी करिब एक सातादेखि सरकारी खर्चमै भ्रमणमा जानु अशोभनीय काम हो ।’

महोत्तरीस्थित रातु नदीको किनारामा रहेको बलवा नगरपालिका क्षेत्रको अधिकांश भाग डुबान र कटान भइरहेको बेला जनप्रतिनिधि भने आफ्नो जिम्मेवारी बिर्संदै पोखरा, बागलुङ, चितवन, सौराहा, रामपुरलगायत स्थानको भ्रमणमा छन् । 

जिम्मेवार पदाधिकारीसमेत भ्रमणमा हुँदा नगरपालिकाको सम्पूर्ण कामकाज नै ठप्प छ भने सेवाग्राहीको समस्या दिनदिनै बढ्दै गइरहेको यादवले बताए ।

यता, नगरप्रमुख विनोदकुमार यादवले भने निर्वाचित भएको करिब ४ वर्षदेखि आफूहरु कतै पनि भ्रमणमा नगएको र यसपालि मौका मिलाएर भ्रमणमा निस्केको बताए ।
 
आर्थिक मसान्त समाप्त भएपछि नयाँ आर्थिक वर्षको सुरुवातसँगै बलवा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी भ्रमणमा निस्केका हुन् ।





  • प्रकाशित मिति : साउन ३२, २०७८ साेमबार १७:३६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया