को हुन् प्रदेश २ का चौथो प्रदेश प्रमुख मिश्र ?

प्रदेश २ का चौथो प्रदेश प्रमुखका रुपमा नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद हरिशंकर मिश्र आउँदै छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राजेश झा अहिराजलाई हटाएर मिश्रलाई सोमबार प्रदेश प्रमुखमा सिफारिस गरेको हो । 

प्रदेश २ मा साढे ३ वर्षअघि पहिलो प्रदेश प्रमुखका रुपमा रत्नेश्वरलाल कायस्थ नियुक्त भएका थिए । ०७४ को निर्वाचनपछि सत्ताबाट बाहिरिने तरखरमा रहेको देउवा सरकारले पहिलो प्रदेश प्रमुख नियुक्त गरेको थियो । 

कायस्थले ०७४ साल माघ ३ गतेदेखि ०७६ साल कार्तिक १८ गतेसम्म प्रदेश प्रमुखको रुपमा काम गरेका थिए ।

त्यसपछि ओली प्रधानमन्त्री भएपछि दोस्रो प्रमुखका रुपमा तिलक परियार नियुक्त भए । तत्कालीन नेकपामा पूर्वमाओवादी कोटाबाट प्रदेश प्रमुख बनेका परियार ०७६ साल कार्तिक १८ गतेदेखि ०७७ साल फागुन ७ गतेसम्म पदमा रहे। 

गत फागुनमा मात्रै केपी ओलीले प्रदेश २ को तेस्रो प्रदेश प्रमुखका रुपमा राजेश झा अहिराजलाई नियुक्त गरेका थिए । गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन नेकपा विभाजन आयो ।



त्यसपछि ओली नेतृत्वको सरकारले माओवादीनिकट तिलक परियारलाई प्रदेश प्रमुखबाट हटाएर राजेश झालाई नियुक्त गरेकाे थियाे । झा ०७७ फागुन ७ गतेबाट ०७८ साउन ३२ गतेसम्म जिम्मेवारीमा रहे । 

चौथो प्रदेश प्रमुखका रुपमा हरिशंकर मिश्र आउन लागेका हुन् । 



को हुन् मिश्र ? 

हरिशंकर मिश्रको जन्म वि.सं. २००२ सालमा महोत्तरीको पिपरा गाउँमा भएको थियो । 

५९ वर्षदेखि राजनीतिमा सक्रिय मिश्र बिपी कोइरालाका समकक्षी कांग्रेसी नेता रामनारायण मिश्रका छोरा हुन् । ०१६ सालमा बिपी ​नेतृत्वको सरकारमा रामनारायण मिश्र उद्योगमन्त्री थिए । राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरेपछि रामनारायणलाई समेत बिपीसँगै सुन्दरीजल कारागारमा बन्दी बनाइएको थियो।

बुबा जेलमा परेपछि ०१९ सालबाट हरिशंकर मिश्र राजनीतिमा सक्रिय भएका थिए । ०१९ सालमा बुबा जेलमा परेपछि प्रजातान्त्रिक आन्दोलनको झण्डा फहराउनकै लागि आफूले आन्दोलनको झण्डा बोकेको उनले बताए । ‘बुबा जेलमा परेपछि आन्दोलन सिथिल हुने र पिपरा गाउँकै नाम डुब्ने डरले बुबाको पथमा अगाडि बढेको थिएँ,’ हरिशंकरले भने । 

रामनारायण मिश्र पक्राउ परेका बेला हरिशंकर मिश्रले नै सो वर्ष प्रजातन्त्र दिवसका अवसरमा आन्दोलनको झण्डा फहराएका थिए । त्यसबेला उनी कक्षा ९ मा अध्ययनरत थिए । प्रजातन्त्र दिवसको अवसरमा झण्डा फहराएको भन्दै हरिशंकरलाई पनि पक्राउ गरी जलेश्वर कारागारमा राखिएको थियो । उनी साढे दुई महिना जेलमा बसे । पछि नाबालकलाई कारावासमा राखिएको भन्दै आलोचना भएपछि उनलाई छाडिएको थियो । त्यसपछि अनवरत रुपमा उनी प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहे । 

देशमा प्रजातन्त्रको पुर्नवहालीपछि ०४८ सालमा मिश्र महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको निर्वाचन लडे । उनी विजयी पनि भए । त्यसपछि दुईपटक नेपाली कांग्रेसले सोही क्षेत्रबाट उनलाई चुनाव लड्नका लागि अवसर दियो, तर उनले जित हात पार्न सकेनन् । 

०५१ र ०५६ सालको निर्वाचनमा उनी पराजित भएका थिए । 

७६ वर्षीय मिश्रले आफूमाथि पार्टी र गठबन्धन सरकारले विश्वास गरेर नियुक्त गरेको भन्दै आभार प्रकट गरे । उनले प्रदेश सरकार र जनतासँग छलफल गरेर मात्रै आफ्नो योजनाको विषयमा खाका तयार पार्ने बताएका छन् ।

  • प्रकाशित मिति : साउन ३२, २०७८ साेमबार १८:३६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया