अफगानिस्तानको सत्ता विद्रोही तालिबान समूहको हातमा पुगेको छ । राष्ट्रपति नै देश छाडेर भागेका छन् । अफगानिस्तानमा अहिले त्रासको वातावरण छ । अबको अफगानिस्तान कसरी अगाडि बढ्ने, शासन, सत्ता कस्तो हुने भन्ने केही टुंगो छैन । अन्तराष्ट्रिय मिडियामा आएका खबर अनुसार साढे २ लाख भन्दा धेरैले देश छाडिसकेका छन् ।
अफगानिस्तानमा राजनीतिक संकट निम्तिएपछि त्यहाँका अन्तराष्ट्रिय स्तरका खेलाडीहरु शान्तिको कामना गरिरहेका छन् । देशका लागि खेलिरहेका खेलाडीहरु देशमा उत्पन्न भएको अराजकताको स्थिति र अशान्तिबारे सामाजिक सञ्जालमा टिप्पणी गरिरहेका छन् ।
अफगानिस्तानका खेलाडीहरु आफ्नो देशमा शान्ति र देशवासीको सुरक्षाका लागि अपिल गरिरहेका छन् ।
अफगानिस्तानको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान मोहम्मद नाबीले देशमा चलि रहेको युद्धबाट मुक्ति पाउने इच्छा जाहेर गरेका छन् । लाखौंको संख्यामा रहेका बालबालिका, बृद्धबृद्धा तथा आम मानिस घरबारविहीन भई रहेको अवस्थामा उनी र उनको टोलीले सहयोगका लागि रकम जम्मा गर्न थालेका छन् ।
उनले आफ्नो फेसबुक पेजमा एउटा लामो पोष्ट राख्दै, देशमा शान्तिको कामना गरेका छन् । ‘मोहम्मद नावी वेलफेयर फाउन्डेसन’ले घरबारविहीन अफगानहरूको मद्दतमा जुटेका छन्’ उनले फेसबुक पोष्टमार्फत यदि कोही इच्छुक भएमा उनलाई सहयोग गर्न सक्ने भन्दै सहयोगका लागि अपिल पनि गरेका छन् ।
उनले लेखेका छन्, ‘अफगानिस्तानमा चलिरहेको द्धन्द्धले धेरै जना घरबारविहीन भएका छन् । राम्रो काममा हामीसँग जोडिन चाहनुहुन्छ भने यो लिङ्कमा सम्पर्क गर्नुहा्ेस्।’ भन्दै एक लिंक दिएका छन् ।
राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान शबनम मोबारेजले आफ्नो देशको हालत देखेर पनि विश्वले वास्ता नगरेको र चुपचाप हेरेर बसिरहेको भन्दै गुनासो गरेकी छिन् ।
उनले ट्वीटरमा रोइरहेको एक बच्चाको फोटो सेयर गरेकी छिन् । ‘मेरो प्यारो देशमा अहिले द्धन्द्ध चलिरहेको छ । महिला तथा बालबालिका घरबारविहीन भएका छन् । खाना छैन, औषधी उपचार छैन’ उनले लेखेकी छिन्, ‘कयौँले आफ्नो परिवार गुमाइरहेका छन् । यस्तो बेलामा पनि विश्वले मेरो देशमा बगेको रगतको धारा चुपचापसँग हेरेर बसिरहेको छ ।’
उनले यो स्टाटस फेसबुकमा पनि शेयर गरेकी छिन् ।
उनले त्यसमा पनि केही शब्द थप गर्दै देशको हालत देखेर आफ्नो मन विक्षिप्त भएको लेखेकी छिन् । साना–साना बच्चाहरु भोका नाङ्गा र रोइरहेको देखेर साह्रै दुःख लागेको बताएकी छिन् । आफूले जति सक्दो छिटो शान्ति चाहेको शबनम भनेकी छिन् ।
चर्चित युवा क्रिकेटर रशिद खान पनि देशमा भइरहेको अशान्तिका कारण निकै दुःखी छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘मेरो देशमा अराजकता भइरहेका छ । महिला, बच्चाहरु तथा हजारौं निर्दोष मानिसहरुले हरेक दिन ज्यान गुमाइरहेका छन् । घरहरु भत्किइरहेका छन् । हजारौं परिवार विस्थापित भएका छन् । हामीलाई अराजकतामा नछोड्नुस्, अफगानिस्तानलाई तहस–नहस गर्न बन्द गर्नुहोस् । हामीलाई शान्ति चाहिएको छ ।’
त्यस्तै अर्की फुटबलर नादिया नादिमले पनि साना बच्चाहरुको बिजोग भएकोमा दुःख व्यक्त गरेकी छिन् । ‘ती साना बच्चाको के गल्ती छ? उनीहरुको जिन्दगीमा एकदमै धेरै अन्याय भइरहेको छ’ उनले लेखेकी छिन् । तिनीहरु गलत ठाउँमा जन्मिए।’ यस्तो लेख्दै रोएको बच्चाको फोटो उनले सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् ।
यसरी सामाजिक सञ्जाल मार्फत अफगानी खेलाडीहरूले देशको हालतका बारेमा टिप्पणी गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।