माग सम्बोधन नभए सामूहिक अनशन बस्ने राहत शिक्षकको चेतावनी

राहत शिक्षकलाई स्वतः स्थायी गनुपर्ने मागसहित देशभरका राहत शिक्षक आन्दोलनमा उत्रिएका छन् । 

विरोध कार्यक्रमअन्तर्गत आइतबार काठमाडौंको माइतीघर मण्डलाबाट सुरु भएको विरोध र्याली नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । 

दुई दशकदेखि राहत कोटामा कम सेवासुविधामा पढाउँदै आए पनि सरकारले अहिलेसम्म त्यसको मूल्यांकन नगरेको उनीहरूको आरोप छ । 

देशभर ४० हजारको हाराहारीमा राहत शिक्षक कार्यरत छन् । माइतीघर मण्डलामा जम्मा भएका राहत शिक्षकले आफूहरूलाई सामूहिक रूपमै स्थायी गनुपर्ने माग गरेका छन् । प्रदर्शनका लागि देशभरबाट १० हजारको हाराहारीमा  राहत शिक्षक भेला भएका थिए । 

फरकधारसँग कुरा गर्दै राहत शिक्षक केन्द्रीय संघर्ष समितिका वरिष्ठ सह–अध्यक्ष नवीनसिँह धामी भन्छन्, ‘५९–६० सालमा नेपाल सरकारको अदूरदर्शिताको कारण विद्यालयमा शिक्षकलाई अनुमति दिँदै जाने तर दरबन्दी नदिने गरेका कारण आज यो परिस्थिति सिर्जना भएको छ ।’

शिक्षकको श्रमशोषण गरेर राहत शिक्षकहरूको भविष्य नै अन्योलमा पारेको भन्दै उनले निर्माणाधीन संघीय शिक्षा ऐनमा राहत शिक्षकलाई एकमुष्ट स्थायी गनुपर्ने र तलब वृद्धिसहित औषधि उपचारको व्यवस्था गनुपर्ने माग गरेका छन् । 



‘जबसम्म सरकारले राहत शिक्षकको भविष्य सुनिश्चित गर्दैन, तबसम्म निरन्तर आन्दोलन चलिरहनेछ । सह–अध्यक्ष धामी भन्छन्, ‘राज्यको शिक्षा संयन्त्रलाई सञ्चालन गर्नका लागि जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरेका छौँ । यो आन्दोलनको कार्यक्रमबाट पनि राहत शिक्षकको माग सरकारले सम्बोधन गर्दैन भने थप सशक्त आन्दोलनका लागि तयार छौँ ।’

सरकारले एउटै तहमा काम गरेका शिक्षकबीच असमान तलबको व्यवस्था गरेका कारण यो जनमास काठमाडौंसम्म उत्रिएको राहत शिक्षक केन्द्रीय संघर्ष समिति सचिव रामराजा रिजाल बताउँछन् । 



‘राज्यलाई चाहिने दक्ष जनशक्ति उत्पादन गर्दै आएका छौँ, तर हामीलाई सरकारले नियतवश नै अन्याय गरेको छ,’ उनी भन्छन्, ‘राहत शिक्षकका ऊर्जावान शक्ति शिक्षाक्षेत्रलाई समर्पण गरिसकेका छौँ । सरकारले अझ पनि राहत शिक्षकको समस्यालाई हल नगर्ने हो भने जीवनमरणको संघारमा उत्रिनेछाैँ ।’

आन्दोलनलाई असफल बनाउन सरकारले बाटामा राहत शिक्षक बोकेका बसलाई रोकेर राखेको सचिव रिजालको आरोप छ ।

सरकारले माग सम्बोधन नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने र सामूहिक अनशनसमेत बस्ने आन्दोलनरत शिक्षकहरूले चेतावनी दिएका छन् । 
 

  • प्रकाशित मिति : असोज २१, २०७५ आइतबार १६:५८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया