कैलाली मालपोतमा अनलाइन मार्फत सेवा

कैलालीकाे मालपोत कार्यालयले आफ्नो सेवा अनलाइनमार्फत सञ्चालन गर्ने भएको छ । 

मुलुकका विभिन्न जिल्लामा अनलाइन सेवा केन्द्र विस्तार भइरहेको बेला कैलाली मालपोतले पनि आफ्ना सेवा मंगलबारबाट परीक्षणका रूपमा सुरु गरेको हो ।

सेवा सुचारु गर्नका लागि १९ जनालाई तालिम दिएर प्रमाणपत्र दिएको कैलाली मालपोत कार्यालयका प्रमुख सुरेन्द्र केसीले बताए । ‘मालपोतले अनुमति दिइसकेपछि युजर आइडी र पासवर्ड उपलब्ध गराउनुहुन्छ’, उनले भने, ‘उहाँहरूले अनलाइनबाट जताबाट पनि काम गर्न सक्नुहुनेछ ।’ 

अनलाइन सेवा प्रणालीबाट सेवाग्राहीले आफू अनुकूल तरिकाले इन्टरनेटको माध्यमबाट सहजतापूर्वक घर जग्गा सम्बन्धी कारोबारको लागि अनलाइन फाराम भर्न सकिने तथा कार्यालयबाट अनुमति प्राप्त अनलाइन सेवा केन्द्रहरूमा गई लेखापढी कानून व्यवसायीमार्फत आफ्नो कारोबार अनलाइनमार्फत गर्न सकिने केसीले बताए । ‘लेखापढी व्यवसायीको एकाधिकार भयो । उहाँहरुले सेवाग्राहीबाट मनलाग्दी तरिकाले शुल्क लिने गरेका छन्’, उनले भने, ‘अनलाईन सेवा सुरु भएपछि त्यो नियन्त्रण हुन्छ ।’

सुरुवाती चरणमा लिखित पारित अन्तर्गत राजीनामा, अंशवण्डा, हालैदेखिको बकस पत्र, अंश बुझेको  भरपाई,  छोडपत्र, दर्ता फारी सेवा दिने भएको छ । रोक्का र फुकुवा अन्तर्गत बैंक, वित्तीय संस्था, फाइनान्स तथा सहकारी संस्थाबाट हुने धितो रोक्का, व्यक्तिगत दृष्टि बन्धकी रोक्का र फुकुवा सम्बन्धी कार्य पनि अनलाइन सेवा केन्द्रमार्फत गरिने तयारी भएको कार्यालयले जनाएको छ । 

तर सुरुवाती चरणमा लिखित पारित अन्तर्गतको कारोबारहरू मात्र गरिने प्रमुख केसीले बताए । अन्य कार्यहरू क्रमिक रूपमा थप गरिने उनले जनाएका छन् । अनलाइन प्रविधिबाट सेवा प्रदान भएमा कम समयमा प्रभावकारी सेवा प्रवाह हुने कुरामा केसीले जाेड दिए ।



अनलाइन सेवाले सेवाग्राहीलाई सहज हुने मालपोत कार्यालयबाट अनुमति पत्र लिएकी रमिता चौधरीले बताइन् । ‘अनलाइनबाट सेवा सुरु भएको छ’, उनले भनिन्,‘यसले सेवाग्राहीहरूलाई कार्यालय पुग्नुपर्ने झन्झटको अन्त्य हुने छ ।’

मालपोतबाट अनुमति लिएमा जताबाट पनि काम गर्न सक्ने हुँदा धेरै सहज हुने उनले विश्वास गरिन् ।
 



  • प्रकाशित मिति : भदौ १, २०७८ मंगलबार १३:३९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया