राज्यको कुनै सुविधा नलिने घोषणा गर्दै बिदा भए अहिराज

प्रदेश-२ का पूर्व प्रदेश प्रमुख राजेश झा अहिराज बर्खास्तीमा परेपछि आज प्रदेश प्रमुखको कार्यालयबाट बिदा भएका छन् ।

आफूलाई प्रदेश प्रमुख जस्तो सम्मानित पदमा नियुक्त गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी, नियुक्तिका लागि सिफारिश गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाल सरकारप्रति आभार एवं कृतज्ञता व्यक्त गर्दै उनी प्रदेश प्रमुखको कार्यालयबाट बुधबार बिहान बिदा भएका हुन् ।

प्रदेश प्रमुखको रूपमा १८० दिन अर्थात ५ महिना २४ दिन कार्य गर्दा सहयोग गर्ने प्रदेश सरकार, प्रदेशसभा सदस्य, प्रदेश प्रमुख कार्यालयका सम्पूर्ण कर्मचारी, अन्य निजामती कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी, नागरिक समाज तथा प्रदेशवासीमा समेत उनले धन्यवाद ज्ञापन गरेका छन् । 

झाले सवल, सुन्दर, समृद्ध र साझा प्रदेश निर्माणमा आफ्नो भूमिका सदैव रहिरहने भन्दै पदमुक्त भएपश्चात पदीय हैसियतले प्राप्त हुने राज्यको कुनै पनि सुविधा नलिने घोषणा समेत गरे । उनले भने,‘देशमा शान्ति सुरक्षाको अवस्था गम्भीर रहेको र मेरो निजी सुरक्षाभन्दा पनि जनताको सुरक्षा प्राथमिकतामा रहेकाले सरकारद्वारा प्राप्त निजी सुरक्षाकर्मी आजकै मितिबाट फिर्ता पठाउने घोषणा गर्दछु ।’

उनले आफू प्रदेश प्रमुखमा नियुक्त भई प्रदेशको पावन भूमिमा पाइला राख्ने बेलामा ‘शिरमा देश र मनमा मधेश’लाई राखी कार्य गर्नेछु भन्दै सार्वजनिक रूपमा प्रतिबद्धता व्यक्त गरेकोले सो प्रतिबद्धतालाई सदैव आत्मसात गरिरहने बताए ।

प्रदेश प्रमुखको कार्यालयबाट आफ्नो निजी सवारी साधनमा बिदा भएका उनी सिधै काठमाण्डौंतर्फ लागेका छन् । 



उनी गत वर्ष फागुन ७ गते मन्त्रिपरिषद्को निर्णयबाट प्रदेश-२ को प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।

सरकार परिवर्तन भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सोमबार उनलाई पदबाट बर्खास्त गरेको थियो । उनको स्थानमा सरकारले मंगलबार हरिशंकर मिश्रलाई प्रदेश-२ को प्रदेश प्रमुखमा नियुक्त गरिसकेको छ।



नवनियुक्त प्रदेश प्रमुख मिश्रले आजै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

 

  • प्रकाशित मिति : भदौ २, २०७८ बुधबार ११:९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया