नेकपा एमाले विवाद अब टुंगिएको छ । तर, यो विवाद टुंगिदा नेकपा एमालेका लागि सुखद होइन, दुखद अन्त्य भएको छ । नेकपा एमालेमा वरिष्ठ नेता रहेका र एमालेलाई १५ वर्षभन्दा बढी नेतृत्व गरेका माधवकुमार नेपालले पार्टी छोडेका छन्, उनको नेतृत्वमा बुधबार नयाँ दल नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निवेदन दिइएको छ ।
नेकपा एमालेमा केही महिना यता विवादका शृङ्खला चलिरहेका थिए ।
र, यी श्रृङ्खलामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समय दोहोरी चलिरह्यो । कहिले माधवकुमार नेपाल लचिलो बने, कहिले ओली लचिलो बने । कहिले नेपाल कडा बने, कहिले ओली कडा बने ।
तर, पछिल्लो समय यो विवादले कस्तो रुप लियो भने यी दुई नेता एकै दलमा बस्नै नसक्ने भए । फलस्वरुपः बुधबार माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेका छन्, नेकपा एमाले (समाजवादी) । स्मरणीय छ, माधवकुमार नेपालले नयाँ दल दर्ताका लागि जानु अघिल्लो दिन मात्र उनीलगायत १४ जनालाई ओलीले कारवाही गरेका थिए ।
त, माधवकुमार नेपालले नयाँ दल नेकपा एमाले (समाजवादी) दर्ताका लागि निवेदन दिँदा ९५ जनाको नाम दिएका छन्, केन्द्रीय समितिका रुपमा ।
तर, यसमा केही यस्ता नामहरु छुटेका छन् जो यसअघि माधवकुमार नेपाल पक्षको साथमा दह्रोसँग उभिएका थिए ।
तीमध्ये एक नाम हो, अष्टलक्ष्मी शाक्य । शाक्य यसअघि माधवकुमार नेपालको पक्षमा दह्रोसँग उभिएकी थिइन् । बागमती प्रदेशकी प्रदेशसभा सदस्य शाक्य कतिसम्म माधवकुमार नेपालको पक्षमा थिइन् भने यसअघि नेपाल कम्युनिस्ट पार्टी हुँदा माधवकुमार नेपाल पक्षधर र प्रचण्ड पक्षधर सांसदहरुसँग मिलेर उनी बागमती प्रदेशकी मुख्यमन्त्री बन्ने सुरसारमा थिइन् । त्यसका लागि उनले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी समेत गर्न थालिसकेकी थिइन् ।
तर, आज दर्ता भएको नेकपा एमाले समाजवादीमा उनको नाम केन्द्रीय समितिमा छैन ।
केही दिनअघि मात्र सार्वजनिक रुपमा अष्टलक्ष्मी शाक्यले आफूले नेपाललाई साथ छोड्ने संकेत गरिसकेकी थिइन् । बानेश्वरमा भएको केन्द्रीय कमिटी बैठक र स्थायी कमिटी बैठकमा शाक्यले आफू एकताको पक्षमा रहेको बताएकी थिइन् ।
यही संकेत गरेकी शाक्यले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधरलाई आफू एमालेमा नै रहने बताएकी थिइन् ।
उनलाई आफ्नो पक्षमा ल्याउनका लागि नेकपा एमाले अध्यक्ष ओली पक्षधरले त्यसपछि बल्ल मनाएका हुन्, डोरमणि पौडेललाई राजीनामा दिन । नेपालको पक्षमा आफ्ना कुरा राख्न छाडेकी अष्टलक्ष्मी ओली पक्षमा लागेपछि नै मुख्यमन्त्री बन्ने पक्कापक्की भएको हो ।
‘उहाँले आफूलाई खुलेर अहिलेसम्म ओली पक्षमा आएको त बताउनु भएको छैन,’ नेकपा एमालेका एक नेताले फरकधारलाई बताए, ‘तर, अब पछिल्लो परिस्थिति हेर्दा र उहाँले आफू एमालेमा नै रहने बताउँदा उहाँ एमाले हुनु भएको स्पष्ट छ, उहाँ एमाले (समाजवादी) हुनु भएन ।’
शाक्यले अब केही बेरमा बागमती प्रदेशको मुख्यमन्त्री पदको सपथ लिँदैछिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।