बेलायती दूतावासले अफगानिस्तान रहेका सुरक्षागार्डलाई अर्को ‘रेसिडेन्सियल एरिया’ लैजाने भनेको थियो । दूतावासमा रहेका अढाई सय सुरक्षागार्ड त्यसकै प्रतीक्षामा थिए । तर, एकाएक एयरपोर्ट लगियो । एयरपोर्ट लैजानेबेला मात्र अब बाहिर जानुपर्छ भन्ने जानकारी गराइयो । पाल्पाका धनबहादुर दर्लामी मगरसहित झण्डै डेढ सय नेपाली कोही ड्युटीमा थिए त कोही काम सकेर फुर्सदमा थिए ।
त्यही बेला एकाएक भ्यानमा हालेर एयरपोर्ट पुर्याइयो । एयरपोर्ट लैजानुभन्दा १० मिनेटअगाडि मात्रै जानकारी गराइयो– ‘अब हामी काबुल छोड्दैछौं । दुबई जान्छौं,’ धनबहादुरले फरकधारसँग भने, ‘समयमै जानकारी दिएको भए त हामी आफ्नो सर–सामान समेत ल्याउथ्यौं । धेरै सामान काबुलमै छुट्यो । अहिले एकजोर कपडाको भरमा नेपाल आइपुगेका छौं ।’

उनीहरूलाई काबुलबाट सेनाको जहाजमा राखेर दुबई पुर्याइएको थियो । दुबईबाट फेरि लन्डन लगियो । दुई दिन लन्डन बसेर उनीहरू बुधबार बिहान नेपाल आइपुगेका छन् ।
धनबहादुर काबुलस्थित बेलायती दूतावासको सुरक्षागार्डको रूपमा काम गर्दै आएको आठ वर्ष भयो । यो अवधिमा उनले तालिवानलाई राम्रोसँग बुझ्ने–चिन्ने मौका पाए । तर, जसरी अहिले सहजै तालिबानलले अफगानिस्तान कब्जा गर्न सफल भयो, त्यो भने उनले सोचेका पनि थिएनन् ।
केही समय अगाडिदेखि तालिबान जताजतै बम विस्फोट, कार बम, आत्मघाति हमलाजस्ता विध्वंश मच्चाउँदै आएको थियो । बम पड्किएका आवाज त उनीहरूले दिनहुँ सुन्नुपरेको थियोे । हरेक दिनजसो विस्फोटको आवाज सुन्ने आदत परेका उनलाई केही समयपछि त बम विस्फोट हुँदा पनि सामान्य लाग्न थालेको थियो ।
तालिबानले अफगान राजधानी काबुलमा १५ अगस्टमा कब्जा गरेको थियो । तर, उनीहरूले १४ तारिखको राति १२ बजेभन्दा पहिला नै काबुल छोडिसकेका थिए । तालिबानले कब्जा गर्दैगर्दा उनीहरू भने दुबई पुगिसकेका थिए ।
पोखराका प्रेम गुरूङ दुई वर्षदेखि अफगानिस्तानमा थिए । दुई वर्षको अवधिमा उनले पनि तालिबानको आक्रमण नजिकबाट नियाले ।
डरैडरमा बस्नुपरेको अवस्था थियो । तर, बाहिरतिर वा मिडियामा आएजस्तो अवस्था त्यहाँ नरहेको प्रेमको भनाइ छ ।

श्रम स्वीकृति लिएर दूतावास, विभिन्न नियोगहरूमा काम गर्दै आएका विदेशी कामदारलाई त सम्बन्धित निकायले उद्धार गर्दै आएको छ । तर, गैरकानुनी रूपमा आफ्नै पहलमा अफगानिस्तान पुगेका नेपालीको अवस्था कहाली लाग्दो छ । उनीहरू अहिले पनि बाँचिन्छ कि मरिन्छको अवस्थामा बसिरहेको धनबहादुर बताउँछन् ।
ब्रिटिस र अमेरिकन सेना फर्किन थालेसँगै तालिबानले आक्रामकतालाई तीव्रता दिएको थियो । एक÷दुई क्षेत्र सहजै कब्जा गर्न सफल भएपछि तालिबान थप हौसियो । यसले एकपछि अर्को गर्दै सहज रूपमा नै जिल्ला र प्रान्त कब्जा गर्दै गएको थियो ।
तालिबानले कब्जा गर्दै आएसँगै काबुलमा रहेका विदेशी दूतावासले सुरक्षाव्यवस्था निकै कडा बनाएको धनबहादुरको भनाइ छ । ‘हामीहरूलाई दूतावासको कम्पाउन्डबाहिर जान समेत रोक लगाइएको थियो । दूतावासभित्रै रहँदा धेरै डर थिएन,’ उनले भने ।
तालिबानले युद्धविना नै सत्ता कब्जा गरेको थियो । उनीहरुले सत्ता कब्जा गरेपछि मानिसहरू निकै डराइरहेका छन् । आखिर मानिसहरूमा तालिबानप्रति किन डर छ त ? प्रेम भन्छन्, ‘यो अवधिमा तालिबानले सामान्य हिंसात्मक गतिविधि भन्दा पनि ठूल्ठूलो आत्मघाति हमला, कार बम विस्फोट गराउने जस्ता काम गर्दै आएको थियो ।
जुन दृश्य देख्दा हामी आफ्नो ज्यानमाथि जतिबेला पनि तल–माथि हुन सक्ने भन्दै चिन्तित हुन्थ्यौं । तालिबानको डर लाग्दा क्रियाकलापका कारण मानिसहरू अहिले पनि डराइरहेका छन् ।’

गैरकानुनी रूपमा अफगानिस्तान गएका नेपालीहरू उद्धारको पर्खाइमा छन् । ‘उनीहरूको अवस्था एकदमै दयनीय छ । हामी त दूतावासले सबै व्यवस्थापन गरेर घर फर्किन सफल भयौं । तर, ती गैरकानुनी रूपमा गएकाहरू कसरी घर फर्किन पाउलान्, उनीहरूको अवस्था कस्तो छ ? भन्ने जानकारी पनि छैन,’ गुरुङले भने ।
आफ्ना नागरिकप्रति सरकार जिम्मेवार बन्दै अग्रसर हुनुपर्ने उनको भनाइ छ । दूतावासमा रहेका नेपालीहरूको उद्धारमा कुनै समस्या नरहेको उनी बताउँछन् । गैरकानुनी रूपमा अफगान गएका नेपालीहरू डरैडरमा बसिरहेको भन्दै तत्काल उद्धार प्रक्रिया अगाडि बढाउन अफगानबाट फर्किएका नेपालीले माग गर्दै आएका छन् ।
उद्धारका लागि पाँच सय जनाले भरे फाराम
अफगानिस्तानमा गैरकानुनी रूपमा रहेका झण्डै पाँच सय नेपालीले घर फिर्तीका लागि अननलाइन फाराम भरेका छन् । परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको कन्सुलर सेवा विभागका अनुसार तीन दिनको अवधिमा झण्डै पाँच सय जनाले अनलाइन फाराम भरेका हुन् ।
सूचना संकलनको काम सकिएपछि उद्धार गर्ने तयारी सरकारको छ । परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीको यकिन जानकारी आएसकेपछि उद्धार थालिने जनाएको छ ।
मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अहिले सूचना संकलनको काम भइरहेको र केही दिनमा नै उद्धार प्रक्रिया अगाडि बढ्ने बताइन् ।
भिडियो
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।