पूर्वराज्यमन्त्री कुशवाहा सरकारी गाडीसहित १८ वटा सामान लिएर सम्पर्कविहीन भएको आरोप

प्रदेश २ का पूर्वआन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री सरोजसिंह कुशवाहाले पदमुक्त भएपछि सरकारी गाडीसहित १८ वटा सामान आफूसँगै लिएर सम्पर्कविहीन भएका छन् । राजीनामा दिएर घरफिर्ता भएसँगै उनी आफूले प्रयोग गर्दै आएको प्रदेश २–०२ ००१ झ ००६२ नम्बरको गाडीलगायत १८ वटा महत्वपूर्ण सामान लिएर गएका छन् । 
 
पदमा रहँदा मन्त्रालयभित्र हुने कुनै पनि कामको आफूलाई कुनै जानकारी नहुने गरेको र  राज्यमन्त्रीलाई कुनै अधिकार नै नदिइएको उनले गुनासो गर्दै आएका थिए । आफू मन्त्रालयमा आएर कुर्सीमा बस्नेबाहेक अन्य कुनै काम गर्न नपाएको उनी बताउँथे । 

आफ्नो निवासमा सुरक्षा प्रयोजनका लागि मन्त्रालयकै खर्चमा लगाइएको ५ थान सिसिटिभी क्यामेरालगायत एसी १ थान, सोफा १ सेट, कम्प्युटर १ थान, प्रदेश २–०२–००१ ब ००३५२ नम्बरको मोटरसाइकल १ थान, मोनिटर १ थान, टि–टेबल ३ थान, ट्रेड बिल १ थान, प्रिन्टर १ थान, ल्यापटप १ थान, गाडी धुने मेसिन १ थान, भ्याकुम क्लिनर १ थान, मोबाइल १ थान, स्टिल कुर्सी १ थान, प्लास्टिक कुर्सी १२ थान, जाली कुर्सी ४ थान, कम्प्युटर टेबल १ थानलगायत सामान लिएर उनी गएको मन्त्रालयका सूचना अधिकारी नाजो राम भगतले जानकारी दिए ।
 
उनले सरकारी कोषबाटै खरिद गरिएका ती सामानहरु आफ्नो निवासमा प्रयोग गर्दै आएका थिए । सूचना अधिकारी भगतले राज्यमन्त्री कुशवाहाले मन्त्रालयले उपलब्ध गराएको गाडी पनि अहिलेसम्म प्रयोग गर्दै आइरहेको र मन्त्रालयलाई फिर्ता नबुझाएको जानकारी दिए । 

पटक–पटक सामान फिर्ता गर्न ताकेता गर्दासमेत पूर्वराज्यमन्त्री कुशवाहाले बेवास्ता गर्दै आएको उनले गुनासो गरे ।

यता पूर्वराज्य मन्त्री कुशवाहाले आफूले मन्त्री पदबाट हटेलगत्तै सबै सामाहरु फिर्ता गरिदिएको दाबी गरेका छन् । उनले कुनै सामान आफूमाथि बाँकी रहे मन्त्रालयलाई पत्र पठाउन आग्रहसमेत गरेका छन् । 

प्रदेश २ सरकारले गत आर्थिक वर्ष २०७७–७८ मा पदाधिकारीको पारिश्रमिक, भत्ता तथा इन्धनमा मात्रै २५ करोड भन्दा बढी रकम खर्च गरेको देखिएको छ ।

मुख्यमन्त्री, ६ मन्त्री र ६ राज्यमन्त्री गरी कुल १३ जना पदाधिकारीले १२ महिनाको अवधिमा पारिश्रमिक, बैठक भत्ता, अन्य सुविधा र इन्धनमा गरी कुल २५ करोड ३१ लाख ९२ हजार ३ सय रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरका प्रमुख राधेश्याम गिरीले जानकारी दिए ।



नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री लालबाबु राउतले गत साउन २ गते आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्र यादव र राज्यमन्त्री कुशवाहालाई राजीनामा दिन लगाएर सरकारबाट फिर्ता बोलाएका थिए । 

अहिले सो मन्त्रालयको मन्त्रीमा माओवादी संसदीय दलका नेता भरत साह र राज्यमन्त्रीमा रुवी कर्ण छन् ।



  • प्रकाशित मिति : भदौ ३, २०७८ बिहीबार १७:५८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया