काबुलमा रहेका नेपालीको उद्धारमा विदेशीकै भर
नेपालबाट चार्टर्ड जहाज पठाउने अवस्था छैन

अफगानिस्तानको काबुलमा रहेका नेपालीको उद्धारमा विदेशीको भर पर्नुपर्ने भएको छ । सरकारले काठमाडौंबाट तत्काल चार्टर्ड जहाज पठाउन नसक्ने भएपछि यस्तो अवस्था सिर्जना भएको हो । 

‘हामीले तत्काल अफगानिस्तानमा नेपालीको उद्धारको लागि जहाज पठाउन सक्ने अवस्था छैन। हाम्रो सम्पर्क सञ्जाल नहुँदा अफगानिस्तानका बिभिन्न स्थानमा रहेका नेपालीलाई एकत्रित गर्न सक्ने अवस्था छैन। यसकारण उद्धारको लागि बिदेशीलाई गुहार्नु परेको छ,’ परराष्ट्र मन्त्रालय स्रोतले फरकधारलाई बतायो । 

काबुलबाट हालसम्म उद्धार गरी ३ सय ५ जना नेपालीलाई काठमाडौं ल्याइएको छ। उनीहरु सबैलाई मित्रराष्ट्रहरुको समन्वयमा उद्धार गरिएको हो। अमेरिका, बेलायत लगायतका देशको सहयोगमा उनीहरुलाई काठमाडौं ल्याइएको हो। 

‘मित्रराष्ट्रहरुलाई आफ्ना नागरिकको उद्धार गर्दा हाम्रा नागरिकको पनि उद्धार गर्न अनुरोध गरेका छौं। मित्रराष्ट्रले काबुलबाट अर्को देशसम्म लगे, त्यहाँबाट नेपालीलाई उद्धार गरी काठमाडौं ल्याउन सजिलो हुन्छ,’ स्रोतले भन्यो। 

मित्रराष्ट्रहरुसँगको समन्वयमा मंगलबार विहान विहान ११८ जना, मंगलबार राति ८४ जना,  बुधबार विहान ६१ जना, बुधबार अपरान्ह २५ जना र बिहीबार विहान १७ जना  नेपाली नागरिकहरू अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुगेका छन्। 

‘काबुलमा रहेका नेपालीलाई जम्मा गरी विमानस्थलसम्म ल्याउने संयन्त्र हाम्रो छैन। तालिबानले काबुल कब्जा गरेपछि हाम्रा सम्पर्क संयन्त्र टुटेको छ। अहिले त्यहाँ जथाभावी हिड्नसक्ने अवस्था पनि छैन,” स्रोतले थप स्पष्ट पार्यो। श्रम स्वीकृति लिएर गएकाहरुको उनीहरु रहेको स्थान पहिचान भए पनि अवैध तरिकाले गएका नेपालीहरु को कहाँ छन् भन्ने अझै यकिन हुन नसकेको भनाई स्रोतको छ।  



अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न गठित कार्यदलका संयोजक तथा परराष्ट्र मन्त्रालयको मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुख हरिस्चन्द्र घिमिरेले भने उद्धारको लागि छिट्टै चार्टर्ड जहाज पठाइने बताए। उनले अहिले अफगानिस्तानमा रहेका नेपालीको तथ्याङ्क संकलन कार्य भइरहेको र यो सकिएपछि सोही अनुसार योजना बनाई विमान पठाउने जनाए। 

‘स्वदेश फर्कनको लागि अफगानिस्तानबाट ३ सयभन्दा बढीले अनलाइन नाम दर्ता गरिसकेका छन्। दर्ता प्रक्रिया सकिएपछि हामी जहाज पठाई उहाँहरुको उद्धार गर्छौ,’ घिमिरेले फरकधारसँग बताए। 



  • प्रकाशित मिति : भदौ ३, २०७८ बिहीबार १८:६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया