प्रदेश २ : ओली पक्षभन्दा माधव पक्षको अवस्था मजबुत

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेलगत्तै त्यसको असर सातवटै प्रदेशमा परेको छ ।
 
नेकपा एमाले विभाजित हुँदा ७ मध्ये ६ वटा प्रदेशमा ओली पक्ष मजबुत स्थितिमा रहे पनि प्रदेश २ मा भने माधव समूह राम्रो स्थितिमा छ । यस प्रदेशमा ओली पक्ष लगभग अल्पमतकै अवस्थामा रहेको देखिन्छ । 

निर्वाचन ताका नेकपा एमाले र नेकपा माओवादी मिलेर बनेको नेकपा दोस्रो ठूलो शक्तिको रुपमा स्थापित भए पनि अहिले सो दल पुछारमा पुगेको छ  । प्रदेश २ मा १०७ सदस्यीय प्रदेशसभामा अहिले १०४ जना छन् । नेकपा विभाजित भएपछि ३ जना प्रदेशसभा सदस्य एमालेतर्फ फर्किंदा माओवादी केन्द्रले उनीहरुलाई कारबाही गरेको थियो ।
 
प्रदेश २ सभामा एमालेका २१ जना प्रदेशसभा सदस्य छन् । एमाले विभाजित हुँदा प्रदेशसभामा नेकपा एमाले (समाजवादी) मजबुत स्थितिमा छ । २१ मध्ये माधव पक्षमा १३ जना प्रदेशसभा सदस्य छन् । बाँकी ८ जना भने ओलीको पक्षमा छन् ।
 
प्रदेशसभा सदस्यमध्ये अशोककुमार यादव, गोविन्दबहादुर न्यौपाने, डिल्लीप्रसाद उप्रेती, नागेन्द्र राय यादव, प्रमोदकुमार यादव, मदनसेन श्रीवास्तव, मञ्जु यादव, रवीन्द्र बैठा, बेची लुंगेली, शत्रुधन महतो, सीता गुरुङ, सुन्दरबहादुर विश्वकर्मा र हसिमा खातनु नेपाल समूहमा छन् । 

त्यस्तै, सत्यनारायण मण्डल, अनिताकुमारी यादव, किशोरी साह कमल, जगतारैन देवी सुडी, मनोजकुमार सिंह, लगनलाल चौधरी, शारदादेवी थापा र त्रिलोकी प्रसाद ओली समूहमा छन् ।
 
केन्द्रीय सदस्यको मामिलामा दुवै समूह ५०–५० को स्थितिमा छ । प्रदेश २ बाट केन्द्रीय सदस्यमा एमालेका ३२ जना छन् । जसमध्ये १६ जना ओली समूहमा र १६ जना माधव समूहमा छन् । 

उता, प्रदेश कमिटीमा भने माधव समूहको नै मजबुत स्थिति छ । १ सय सदस्यीय प्रदेश कमिटीमा ६० जना माधव समूहमा र ४० जना ओली समूहमा छन् । त्यस्तै प्रदेशका ६ जिल्लामा पनि माधव समूह नै मजबुत स्थितिमा छ । जसमध्ये ५ वटा जिल्लामा माधव समूहले जिल्ला कमिटीको नेतृत्व नै गरिरहेको छ ।
 
दल विभाजनसम्बन्धी अध्यादेश जारी भएपश्चात् माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि नेकपा एमाले विभाजन हुने निश्चित भएको छ । 

अहिले नै ओली पक्ष वा माधव पक्षमध्ये कुन पक्ष मजबुत रहने कुराको विषयमा बोल्नु हतार हुने प्रदेश २ का नेताहरु बताउँछन् । यद्यपि, दुवै समूहका नेताहरु आ–आफ्नो पक्ष मजबुत रहेको दाबी गर्न भने पछाडि परेका छैनन् ।  

प्रदेशसभा सदस्य शत्रुधन महतोले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाण पत्र नपाएसम्म र हेड काउण्ट नभएसम्म कुन समूह मजबुत छ भन्ने विषयमा बोल्नु हतार हुनसक्ने बताए । उनले भने,‘अहिले नै केही भन्न मिल्दैन, २१ दिन अझै पर्खिनुस्, कुन समूह मजबुत छ भन्ने जवाफ आफैँ पाउनुहुनेछ ।’



ओली समूहका प्रदेशसभा सदस्य शारदादेवी थापासँग बुझ्दा उनले गणितीय हिसाबमा आफूहरु कमजोर देखिए पनि जनाधार भने आफूहरुकै मजबुत रहेको दाबी गरिन् । 

उनले भनिन्, ‘सूर्य चिन्हलाई माया गर्नेहरु पक्कै ओलीको साथमा उभिनेछन् । प्रदेश २ मा अहिले हाम्रो स्थिति कमजोर छ । तर, पदको लोभमा माधवसँग लागेकाहरु कति दिनसम्म टिक्लान् त्यो हेर्न बाँकी छ ।’



माधव पक्षका नेता श्रीप्रसाद साहले प्रदेश २ मा आफूहरुको स्थिति मजबुत रहेको दाबी गरे । आगामी निर्वाचनमा पार्टी विभाजनको प्रत्यक्ष असर परे पनि ओलीभन्दा आफ्नो पक्षको स्थिति मजबुत नै रहने उनको दाबी छ ।
 
उनले भने, ‘हामी आउने निर्वाचनमा ओलीको प्रतिगमनको विषयमा जनतालाई सम्झाउने छौँ, जनताले पक्कै हाम्रो विश्वास गर्नेछन् ।’

  • प्रकाशित मिति : भदौ ३, २०७८ बिहीबार २०:३७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया