संन्यासपछि पारस खड्काको मोडिएको बाटो, अब के गर्लान् ?

नेपालको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले दुई साताअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास  लिए । उनले संन्यास लिएको घोषणाको भोलिपल्ट पत्रकार सम्मेलन गरी आफ्ना भावी योजना सुनाएका थिए । 

पारसको सो घोषणालाई अधिकांश क्रिकेटप्रेमीले ‘हतारमा सन्यास’को रूपमा लिए ! त्यसबखत उनले भनेका थिए, ‘म ३३ बर्षको भएँ, तर नेपाली क्रिकेटलाई ५० वर्षभन्दा पनि पाको मानिसले जसरी चिनेको छु ।’ उनले क्रिकेट सुधारका लागि अब व्यवस्थापकीय पक्षमा जोडिने प्रतिज्ञा गरे । 

पत्रकार सम्मेलनमा पारसलाई सोधिएको थियो, ‘तपाईं राजनीतिमा आउने सम्भावना कति छ ?’ यस प्रश्नमा पारसको जवाफ थियो, ‘मैले कुनै क्षेत्रमा शतप्रतिशत योगदान गर्न सक्छुजस्तो लागेमा म त्यस क्षेत्रमा हात हाल्छु । यदि राजनीतिमा नै आएर पनि मैले केही गर्न सक्छु जस्तो लागेमा किन नआउनु ?’ यो भनाइलाई केही पुष्टि गरेको छ- पछिल्लो समय नेपाली कांग्रेसका दुई नेता विश्वप्रकाश शर्मा तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग उनको भेटले । के पारस खड्काको आगामी गन्तव्य कांग्रेस पार्टी प्रवेश हो ? पारसले राजनीतिमा पसेर क्रिकेट उत्थानमा जोड दिन सक्छन् त ? तर, यी प्रश्नहरूका उत्तर अहिले नै खोज्नुचाहिँ केही ‘हतार’ हुने छ । 

यसै सन्दर्भमा एपिवान टेलिभिजनसँगको अन्तरवार्तामा पारसले भने, ‘कुनै पनि पार्टीको झन्डा बोकेर म हिड्दिनँ । म क्रिकेट उत्थान र क्रिकेटकै सेरोफेरोमा रहने छु ।’ कप्तानको रूपमा रहँदा धेरै पटक उनलाई यो पार्टीको त्यो पार्टीको भन्ने ट्याग लागेको थियो । तर, उनले भने हरेक कुरा क्रिकेटकै कारणले भएको भन्दै प्रष्ट्याएका थिए । उनले अन्तर्वार्तामा भनेका छन्, ‘राजनीति हरेक क्षेत्रमा आवश्यक कुरा हो । नेपाली क्रिकेट अघि बढ्न पनि सबै पार्टीको साथ र सहयोग चाहिन्छ । कुनै जिम्मेवारी सम्हालेपछि जिम्मेवारी निर्वाह गर्न सक्नुपर्छ ।’ उनले थपे, ‘म नेपाली क्रिकेटको उत्थानमा नै लागिरहन्छु ।’ 

पारसले एकेडेमी नै खोलेर नेपाली क्रिकेटमा योगदान गर्ने बताइसकेका छन् । पारसको अबको लक्ष्य नेपालको हरेक क्षेत्रमा क्रिकेट फैलाउने हो । करिब दुई दशक लामो क्रिकेट खेलयात्रा टुंग्याएपछि उनले अब प्रशिक्षक, व्यवस्थापकको भूमिकाबाट क्रिकेटमा जोडिने प्रतिज्ञा गरेका छन् । 

नेपाली क्रिकेटमा पारस व्यवस्थापक कि प्रशिक्षक ?



पारसको संन्यासपछि धेरै मानिसको चाहना रह्यो- पारस खड्का क्रिकेट एसोसियसन ‘क्यान’मा आइदिए हुन्थ्यो । पारस भन्छन्, ‘कुनै पनि क्षेत्र एकजनाले मात्र बनाउन सक्दैन । मलगायत क्रिकेट बुझ्ने र क्रिकेटको दुःख बुझेकाहरू संघमा आउनुपर्छ, तब मात्र काम गर्न सकिन्छ । एक्लैले केही गर्न सकिँदैन ।’ ‘क्रिकेट उत्थानका लागि म प्रशिक्षक बनेर पनि आउन सक्छु,’ उनले थपे । उनी केही समय विश्रामपछि नयाँ क्रिकेट एकेडेमी खोल्ने सोचमा छन् । दुई दशक लामो खेलाडी जीवनबाट सिकेको कुरा उनी नयाँ पुस्तामा हस्तान्तरण गर्न चाहन्छन् । प्रशिक्षक बनेर आगामी दिनमा नेपालमा धेरै बलिया खेलाडी उत्पादनमा जोड दिने उनले बताएका छन् । 

पारस व्यवस्थापकको रुपमा क्यानमा आउने सम्भावना पनि निकै बलियो छ । उनले भनेका छन्, ‘क्रिकेटमा धेरै कुरा यस्ता छन्,  जसलाई अब व्यवस्थापनको पक्षबाट सोच्नुपर्छ ।’ उनले पत्रकार सम्मेलनमा पनि यी कुरा जोडदार रूपले प्रस्तुत गरेका थिए । पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘म एक्लै क्यानमा आएर केही गर्न सक्दिनँ । संस्था अथवा नीतिमा सुधार ल्याउन पूरै टोलीले काम गर्नु पर्छ ।’



२००९ मा कप्तान बनेपछि पदको महत्व बुझेको पारसले बताएका थिए । ‘कुुनै पनि पदमा बसेर कतिसम्म गर्न सकिन्छ भन्ने कुरा मैले कप्तानी सम्हाल्दै गर्दा थाहा पाएँ,’ उनले भने । पारस २००२ देखि नेपाली क्रिकेटमा आवद्ध छन् । नेपाली क्रिकेटको दयनीय अवस्थादेखि प्यासनको रूपमा क्रिकेट खेल्न थालेका उनले २०२० सम्म सक्रिय रुपमा योगदान गरे । उनलाई नेपाली क्रिकेटमा खेलाडीले भोग्नुपरेका दुःखको बारेमा राम्ररी थाहा छ । त्यसैलाई अब संघमा आएर सुधार्ने इच्छा पनि पारसले देखाएका छन् ।

मस्तमौलाना पारस

खेल जीवनबाट बिदा मागेका पारसले पहिल्यैदेखि फुटबल फलो गर्थे । हालै उनले फुटसल खेल्दै गरेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । पछिल्लो समय रिल्याक्स मुडमा देखिएका पारस विभिन्न रेस्टुराँहरूमा गएर साथीभाइसँग रमाइलो गरिरहेका छन् । उनले एक अन्तर्वार्तामा भनेका थिए, ‘केही समय आफैलाई समय दिइरहेको छु । त्यसपछि करिअरको हिसाबमा केही कतैबाट क्रिकेटमा नै जोडिन आउने छु ।’

अहिले पारस आफ्नाबारे आएका लेख-समाचार पढ्ने र आफ्नै समीक्षा गर्ने कार्यमा पनि समय दिइरहेका छन् । विभिन्न पत्रपत्रिका, अनलाइन तथा अन्य माध्यममा आएका समाचार तथा समीक्षा उनले सेयर गरिरहेको देख्न सकिन्छ । इन्स्टाग्राममा कहिले उनी कुकुरसँगको फोटो सेयर गर्छन् त कहिले कतै साथीसँगका रमाइला क्षण । यसबाट पनि उनी मस्तमौलाना स्वभावका हुन् भन्ने बुझ्न सकिन्छ । उनका बारेमा केही समयअघि कप्तान ज्ञानेन्द्र मल्लले भनेका थिए, ‘पारस अनफिल्डभन्दा पनि अफफिल्ड निकै रमाइलो गर्न मन पराउने मान्छे हुन् ।’

साथीसँग घुम्ने, क्रिकेटका गफ गर्ने र आफ्नोबारे सोच्ने यो निकै उपयुक्त समय रहेको पारस आफैले अन्तर्वार्तामा बताएका छन् । उनले भनेका छन्, ‘क्रिकेट खेलाडीबाट पूरै संन्यास लिएको होइन । च्यारिटी गेम खेल्न सक्छु । घरेलु तथा अन्तर्राष्ट्रिय लिगहरु खेल्न सक्छु । तर, अहिल्यै केही सोचिसकेको भने छैन ।’

पारसले क्रिकेट छोडेकोमा फ्यानको निराशा 

‘निकै लामो समय क्रिकेटमा जोडिनु भयो पारस दाइ । उहाँले नेपाली क्रिकेटमा आशाको दियो बालिदिनु भयो । अझ एक-दुई वर्ष नेपाली क्रिकेटलाई उहाँजस्तो खेलाडी तथा कप्तानको जरुरत थियो । वी विल मिस यु पारस दाइ,’ क्रिकेट समर्थक देवेन्द्र मरासिनी भन्छन् । मरासिनी २५ वर्षका भए । कीर्तिपुरमा बस्दै आएका उनी पारसले छिट्टै क्रिकेट छोडेकोमा दुःखी छन् । ‘पारसजस्तो खेलाडी नेपाली क्रिकेटले अब पाउँदैन,’ उनले थपे ।

देवेन्द्रसँगै उनका चारजना साथीले त झन् अब नेपाली क्रिकेट हेर्न के जानु भन्नेसम्मको प्रतिक्रिया दिए । उनकै साथी राजन मिश्र भन्छन्, ‘कुशल भुर्तेलजस्तो खेलाडी आउन त आएका छन्, तर पारस दाइको ठाउँ कसैले पूर्ति गर्न सक्दैन । तपाईं अपरिवर्तनीय र अतुलनीय हुनुहुन्छ पारस दाइ, तपाईंको कमी मैदानमा निकै महसुस हुनेछ,’ उनले भने ।

मेलिना तामाङ पनि पारस खड्काको डाइहार्ड फ्यान हुन् । उनी भन्छिन्, ‘मैले नेपाली क्रिकेट मन पराउनुको कारण नै पारस दाइ हो ।’ उनी बानेश्वरस्थित एम्बिसन कलेजकी विद्यार्थी हुन् । ‘पारस दाइबिना मैदान अधुरो हुन्छ,’ उनी थप्छिन् ।

पारस भने आफ्नो निर्णयमा सन्तुष्ट देखिन्छन् । भन्छन्, ‘मैले स्वतःस्फूर्त रूपमा खुसीखुसी बिदा लिएको हुँ । फ्यानले त छिटो छोडेको प्रतिक्रिया दिनुहुन्छ । तर म मेरो निर्णयमा खुसी छु ।’ ‘मैले नेपालको जर्सी लगाएर नखेलौँला, तर कतै न कतै क्रिकेटसँगै जोडिन आउने छु,’ उनले थपे ।

  • प्रकाशित मिति : भदौ ४, २०७८ शुक्रबार ९:१०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया