यस्ताे छ स्वस्तिमाको सफलताको राज

भनिन्छ ‘बिहेपछि छोरी मान्छेको करिअर सकिन्छ ।’ धेरै सम्भावना बोकेका छोरी मान्छे बिहेपछि हराएका पनि छन् । तर, विवाहले करिअरमा कुनै असर नपारेकी अभिनेत्री हुन्- स्वस्तिमा खड्का । उनले करिअरको सुरुवातमै निर्देशक निश्चल बस्नेतसँग विवाह गरिन् । स्वस्तिमाको बिहेसँगै धेरैले आँकलन गरेका थिए ‘अब उनको करिअर र चार्म्स सकियो ।’

बिहेपछि उनको करिअर र चार्म्स दुबै झन् चम्कियो । धेरैले स्वस्तिमालाई भनेका थिए ‘तिमीलाई करिअरमा माथि जान अब गाह्रो हुन्छ ।’ यसो भन्नेमा उनका आफन्त पनि थिए । सुरुमा त स्वस्तिमालाई पनि अब मैले काम पाउँदिन कि भन्ने लागेको थियो । तर, उनको जीवनमा ठिक उल्टो भयो । बिहेपछि उनको चलचित्र करिअर झन् चम्कियो । उनले एकपछि अर्को राम्रो ब्यानरमा काम गरिन् । 

स्वस्तिमालाई अहिले लाग्छ ‘मेरो विवाह भयो, अब मैले काम पाउँदिन, मेरा प्रशंसक घट्छन् भन्ने मानसिकता हामी आफैले बनाएका रहेछौँ ।’ कलाकारले राम्रो अभिनय गर्न नछाडे दर्शकले पनि साथ नछाड्ने उनको तर्क छ । उनी भन्छिन्, ‘कलाकारको धर्म राम्रो अभिनय गर्नु हो । राम्रो काम गर्न नछाडौँ । प्रशंसकहरूलाई उसको विवाह हुनु वा नहुनुसँग कुनै मतलब हुँदैन रहेछ ।’

स्वस्तिमा अफर आएका सबै चलचित्रमा काम गर्दिनन् । भन्छिन्, ‘राम्रो चलचित्रबाट अफर आयो भने वर्षमा ४ वटा चलचित्रमा पनि काम गर्छु । राम्रो अफर आएन भने २ वर्षमा एउटा चलचित्रमा पनि काम गर्दिनँ ।’ स्वस्तिमाको राम्रो चलचित्र भित्र चलचित्रको कथासँगै टिम पनि पर्छ । कोरोनाका कारण अहिले चलचित्र बजार ठप्प छ । यो क्षेत्र चलायमान भैदिएको भए उनको चर्चा अझै बढी हुने थियो । 

बजार सुस्ताएका बेला कलाकारको चर्चा नहुनु सामान्य हो । कोरोनाअघि चलचित्र ‘बुलबुल’बाट उनले निकै चर्चा पाइन् । यो चलचित्रमा गरेको अभिनयका लागि स्वस्तिमा केही राष्ट्रिय तथा अन्र्तराष्ट्रिय अवार्ड हात पार्न सफल भइन् । चलचित्र ‘हजार जुनीसम्म’मा अभिनय गर्दा पनि पनि स्वस्तिमालाई निकै सन्तुष्टि मिलेको थियो । 

नेपाली चलचित्र क्षेत्रमा आफूले डेब्यु गराएका अभिनेत्रीलाई चल्दासम्म अर्को ब्यानरमा जान नदिने निर्माता निर्देशक थुप्रै छन् । तर निर्देशक निश्चल बस्नेतले भने आफ्नै श्रीमतीको काममा पनि कहिल्यै हस्तक्षेप गरेनन् । आफ्ना हरेक कामको निर्णय स्वस्तिमा आफैले गर्दै आइरहेकी छन् । 



निश्चल स्वस्तिमाकाे सुटिङ स्पटमा जाँदैनन् । कामभरि उनलाई स्वतन्त्र छोडिदिन्छन् । अन्तर्वार्ता, फोटोसुटमा सँगै जाने, अनावश्यक शंका गर्ने  निश्चलको बानी छैन । श्रीमानको यो बानी आफ्नो सफलताका लागि प्लस पोइन्ट भएको स्वस्तिमा बताउँछिन् । 
 



  • प्रकाशित मिति : भदौ ४, २०७८ शुक्रबार १२:३२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया