नेकपा एमाले समाजवादी नामको दल दर्ता गर्न निर्वाचन आयोग पुगेका माधवकुमार नेपालको कित्तामा यसअघि बारम्बार प्रष्ट अडान राख्दै आएका भीम रावल अहिले कता छन् र के गरिरहेका छन् भन्ने स्पष्ट छैन ।
यसअघि नेकपा एमालेमा नेपाल समूहलाई विशेष जोड दिँदै आएका रावल ती नेताहरुमध्ये एक हुन्, जसले नेपाललाई नयाँ पार्टी गठन नगर्न सुझाव दिँदै आएका थिए ।
तर, बुधबार नेपालले नयाँ पार्टीका लागि निवेदन दिए । मंगलबार सरकारले ल्याएको दल विभाजन गर्न सहज हुने अध्यादेशका कारण पनि नेपाल निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिए । उनले नयाँ दल बनाउन दिएको निवेदनमा ९५ सदस्यको नामावली छ । तर, त्यसमा छुटेका छन्, भीम रावल ।
बिहीबार रावलसहित नेकपा एमालेमा नेपाल पक्षमा रहेका ९ जनाले एउटा विज्ञप्ति पनि निकाले, पार्टी एकताको पक्षमा ।
यसको अर्थ हो, रावलसहित यी नेताहरु अहिले नेपाल पक्षमा पनि खुलेका छैनन्, नेकपा एमालेमा अध्यक्ष ओलीको पक्षमा पनि गएका छैनन् ।
केन्द्रमा यी नेताहरु कता जान्छन् भन्ने चासो हुनु स्वभाविक नै हो । उता, सुदूरपश्चिममा पनि राम्रो पकड भएका रावल कता जान्छन् भन्ने कुरा नखुल्दा ठूलो अन्योल देखिएको छ ।
काठमाडौंमा रावल कुन पक्षमा लाग्ने भन्ने नखुल्दा सुदूरपश्चिमका प्रदेश सभा सदस्यहरु पनि बिलखबन्दमा परेका छन्; नेकपा एमालेमै बस्ने कि, नेकपा एमाले समाजवादीमा लाग्ने ?
एकातिर सुदूरका नेताहरु यसबारे अन्योलमा भएका छन् भने अर्कोतिर सुदूरपश्चिम प्रदेश सरकारमा पनि अब गठबन्धनको बनाउने पहल सुरु भएको छ । अहिलेसम्म त्यहाँ यसअघि नेपाल पक्षमा रहेका दुई सांसद पूर्ण जोशी र माया भट्ट मात्र खुलेर नेपाल पक्षमा लागेका छन् ।
सुदूरपश्चिममा यसअघिका अरु नेता तथा सांसदहरु जो खुलेर नेपालको समर्थनमा थिए, उनीहरु पनि अहिले चुपचाप छन् । यसको अर्थ हो, अहिले नेपालको नयाँ पार्टी सुदूरपश्चिममा निकै कमजोर देखिएको छ ।
‘हाम्रो नेता भनेको भीम रावल नै हो,’ यसअघि नेपाललाई समर्थन गर्दै आएका प्रदेश सभाका एक सदस्यले फरकधारसँग भने, ‘उहाँ अहिले नेकपा एमाले एक हुनुपर्छ, बलियो हुनुपर्छ भन्नेमा हुनुहुन्छ । संस्थापनमा हुँदा हाम्रो प्रदेशमा एमालेको पकड पनि राम्रो हुन्छ । त्यसैले पनि उहाँ जता जानुहुन्छ, हामी त्यतै जान्छौँ ।’
यी सांसदले त्यसो भने पनि प्रदेशकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी चाहिँ यसलाई स्वीकार गर्न चाहन्नन् । उनले आफूहरु यसअघि पनि नेपालको पक्षमा रहेको र अब पनि नेपालकै पक्षमा रहने बताएकी छिन् ।
‘सुदूरपश्चिममा बहुमत प्रदेश सांसद अहिले पनि नेपालको पक्षमा नै हुनुहुन्छ,’ जोशीले फरकधारको प्रश्नमा दाबी गरिन्, ‘यसअघि नेपाल पक्षमा खुलेका १७ सांसद प्रायः सबै नेपाल पक्षमा नै उभिनुहुन्छ ।’
सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रको नेतृत्वको सरकारले सरकार बनाउँदा नेकपा एमालेका १७ सांसद नेपाल पक्षमा देखिएका थिए भने ७ सांसद ओली पक्षमा ।
प्रदेश सभामा नेकपा एमालेका २५ जना सदस्यमध्ये पूर्वमन्त्रीसमेत रहेका प्रदेश सांसदहरू पठानसिंह बोहरा, लिलाधर भट्ट, गेल्बुसिङ बोहरा, रतन थापा, माया तामाङ बोहरा, नेपालु चौधरी र बलदेव रेग्मी ओली पक्षमा खुलेका थिए ।
अन्य १७ जना भीम रावलको पक्षमा देखिएका थिए । रावल नेपाल पक्षमा भएकाले उनीहरुलाई पनि नेपाल पक्षको रुपमा लिइएको थियो । तर, अहिले नेपालले नयाँ दल दर्ता गरेपछि रावलको पक्षमा यसअघि लागेका दुई सांसद् प्रकाश बहादुर शाह र अर्चना गहतराजले पनि के गर्छन् भन्ने स्पष्ट भइसकेको छैन ।
रावल निकट भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले भने नयाँ दल खोले पनि नेपाललाई नै साथ दिने संकेत गरेका छन् । ‘म कता लाग्छु भन्ने विषयमा धेरैले अनुमान गरिसकेका होलान् । हामीलाई नयाँ पार्टी रोज्ने वा पुरानोमा बस्ने छुट्याउका लागि २१ दिनको सुविधा छ,’ उनले भने, ‘हामी छिट्टै निचोडमा पुग्छौँ । तपाईंहरूले थाहा पाइहाल्नुहुन्छ ।’
५२ सदस्यीय प्रदेश सभामा नेकपा माओवादीका १३, नेपाली काँग्रेसका १२ र राजपाका २ प्रदेश सभा सदस्य रहेका छन् । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशले प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई २१ दिनभित्र पार्टी छान्न पाउने समय दिएको छ । यस अवधिभित्र नयाँ पार्टीमा प्रवेश गरे पनि सांसद पद सुरक्षित रहने सुविधा पनि दिएको छ । यसर्थ २१ दिनपछि मात्रै यहाँका प्रदेश सांसदमध्ये कति जना नेपालको नयाँ पार्टीमा र कति जना एमालेमै रहन्छन् भन्ने कुरा टुंगो लाग्ने देखिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।