प्रदेश २ का अधिकांश स्थानीय तहले सामुदायिक विद्यालयमा विद्यार्थीका लागि सञ्चालन गरिएको दिवा खाजा कार्यक्रममा व्यापक अनियमितता गरेको पाइएको छ ।
कोरोना संक्रमणका कारण २०७६ चैत ११ गतेबाट लकडाउन भई विद्यालय बन्द रहेको अवस्थामा पनि देशभरका ४१ वटा स्थानीय तहले विद्यालयलाई रकम निकासा गरेको पाइएको हो ।
विद्यालय बन्द भएका बेलाको पनि दिवा खाजाको रकम निकासा दिनेमा अधिकांश प्रदेश २ कै स्थानीय तहहरु छन् ।
महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ४१ वटा स्थानीय तहले रकम निकासा गरेको देखिएको छ ।
जसमा प्रदेश २ का मात्रै १० स्थानीय तह छन् ।
देशभरका २८ नगरपालिकाले २०७७ बैशाख, जेठ र असार महिनामा वास्तविकता यकिन नगरी दोस्रो र तेस्रो चौमासिकको पुरै दिवा खाजा १४ करोड २१ लाख ६८ हजार ५८२ रुपैयाँ विद्यालयहरुलाई निकासा गरेको देखिएको छ ।
त्यसैगरी देशभरका १३ वटा गाउँपालिकाले १६६ वटा विद्यालयहरूलाई २०७७ बैशाख, जेठ र असारमा दोस्रो र तेस्रो चौमासिकको दिवा खाजाको ६ करोड ३ लाख ५६ हजार निकासा गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।
दिवा खाजा रकम विद्यालयलाई निकासा दिँदा अभिभावकलाई नगदै वितरण गर्ने व्यवस्था नभएको अवस्थामा रौतहटस्थित परोहा नगरपालिकाले यस वर्ष अभिभावकलाई नगदै बुझाउने गरी दिवा खाजा वापत १ करोड १७ हजार निकासा गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।
महालेखा परीक्षकको कार्यालयले विद्यालय बन्द भएको अवस्थामा उक्त अवधिको खाजा रकम यकिन गरी असुल गर्नुपर्ने ठहर गरेको छ ।
विद्यालय सञ्चालन नभएको समयको पनि दिवा खाजाको रकम निकासा गर्ने प्रदेश २ का स्थानीय तह
१.धनुषाको सबैला नगरपालिकाले १ करोड १३ लाख,
२.गणेशनाथ चारनाथ नगरपालिकाले ८१ लाख,
३.सिरहाको सिरहा नगरपालिकाले १ करोड ३८ लाख,
४.रौतहटको फतुवा विजयपुर नगरपालिकाले ९७ लाख,
५.गरुडा नगरपालिकाले ७७ लाख
६.दुर्गा भगवती गाउँपालिका रौतहटले १ करोड २१ लाख ७१ हजार,
७.यमुनामाई गाउँपालिका रौतहटले ७४ लाख ९९ हजार,
८.छिन्नमस्ता गाउँपालिका सप्तरीले ५९ लाख ८६ हजार,
९.जनक नन्दिनी गाउँपालिका धनुषाले ५५ लाख ९६ हजार,
१०.कौडेना गाउँपालिका सर्लाहीले ५४ लाख ७२ हजार
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।