जापान र भुटानले कोरोना खोप त दिए, तर मिति सकिनै लागेका, किन ?

विश्वभर अहिले कुनै कुराको सर्टेज छ भने त्यो हो, कोरोनाभाइरविरुद्धको खोप ।

झन्, नेपालजस्ता विकासोन्मुख देशमा त कोरोनाविरुद्धको भ्याक्सिन पाउन निकै कठिन भएको छ । अनि यस्तो अवस्थामा केही विकसित देशहरुले कोरोनाविरुद्धको खोप उपलब्ध गराइरहेका छन् ।

नेपाललाई सहयोगस्वरुप कोरोनाभाइरसविरुद्धको खोप दिने देशहरुमध्ये हुन्— जापान र भुटान पनि ।

जापानले कोरोनाविरुद्धको १६ लाख डोज अस्ट्राजेनिका खोप नेपाललाई दिने बताएको थियो । यसमध्ये अब सात लाख ६३ हजार डोज खोप नेपाल आउन बाँकी छ । जापानले अनुदानमा दिएको खोप यसअघि कोभिशिल्डको पहिलो डोज लगाएका १३ लाख ६८ हजार जनालाई लगाइयो । त्यस्तै, बाँकी रहेको खोप १८ वर्ष उमेर पुगेका कक्षा १२ का विद्यार्थी, यसअघि खोप लगाउन छुटेकाहरू लगायतलाई लगाइँदैछ । 

त्यस्तै, भुटानबाट पनि नेपालका लागि सहयोग भनेर दुई लाख ३० हजार डोज अस्ट्राजेनिकाको खोप नेपाल आयो । यी खोप सबै लगाइसकिएको स्वास्थ्य सेवा विभागका निर्देशक डा. तारानाथ पोखरेलले जानकारी दिए ।

भुटान र जापानले नेपाललाई खोप दिएको विषयमा निकै चर्चा भयो, तर एउटा विषय यसबारे खासै चर्चामा आएको छैन । त्यो हो, यी दुवै देशले डेट एक्सपायर हुनै लागेका खोप नेपाललाई दिएका हुन् ।



नेपालमा भुटानबाट आएको खोपको म्याद सकिन तीन सातामात्र बाँकी थियो भने जापानबाट आएका खोप दुई महिनापछि काम नलाग्ने हुँदै थिए । जापानबाट अहिलेसम्म नेपाल आएका खोपको प्रयोग मिति सकिन दुई महिनामा मात्र रहेको पोखरेलले बताएका छन् । तर, उनका अनुसार अब आउने खोपको एक्सपायरी डेट कति छ भन्नेबारे अहिलेसम्म अत्तोपत्तो छैन ।

मिति सकिन लागेपछि सरकारले एस्ट्राजेनेका खोप लगाउने लक्षित समूहको दायरा बढाएको छ । सरकारले १८ वर्ष उमेर पुगेका कक्षा १२ का विद्यार्थीहरु र सीमा नाकाका प्रवेश नाकाहरुबाट नेपाल प्रवेश गर्ने १८ वर्ष पुरा भएका नागरिकलाई एस्ट्राजेनेका खोप दिन लागिएको हो ।  



जापानबाट आएको खोपका मिति यही अगस्टमा सकिँदै छ । सरकारले मिति सकिनु अघि नै लक्षित समूहको दायरा बढाएर यो खोप उपलब्ध गराएको छ ।

सामान्यतया खोपको प्रयोग मिति सकिनु भन्दा जति समय बढी हुन्छ त्यति राम्रो हुन्छ । तर, मिति सकिनुभन्दा एक दिन अगाडिसम्म पनि खोप लगाउन सकिने पोखरेल बताउँछन् ।

तर, मिति सकिनै लागेका खोप किन दिए त जापान र भुटानले ?

‘यसबारे त हामीले प्रश्न उठाउनै मिल्दैन नि,’ डा. पोखरेलले भने, ‘हामीले किनेर ल्याउने भएको भए त्यही आधारमा हुन्थ्यो । तर, यो त दाताले दिएको खोप हो । त्यो पनि सम्बन्धित देशमा बचेकाले, त्यसैले हामीले त जतिसक्दो छिटो खोप लगाउने व्यवस्था मिलाइरहेका छौँ ।’

  • प्रकाशित मिति : भदौ ४, २०७८ शुक्रबार २१:३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया