यी ठाउँमा लाग्छन् जनैपूर्णिमाको विशेष मेला

श्रावण शुक्ल पूर्णिमाका हिन्दुहरुले जनैपूर्णिमा पर्व मनाउने गर्छन्। यसलाई यस पर्वलाई रक्षाबन्धन, ऋषित तर्पणी नामले पनि चिनिन्छ।

हिन्दुहरुले जनैपूर्णिमाका दिन आत्मा शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन छ। तागाधारी समुदायका व्यक्तिले यस दिन जनै फेर्ने प्रचलन छ। 

नेपालमा समुदाय र भुगोलअनुसार नेपालमा जनैपूर्णिमालाई फरक–फरक तरिका, आस्था र विश्वासका साथ मनाउने गर्दछन्। 

हिन्दु शास्त्रअनुसार कश्यप, अत्री, भारद्वाज, गौतम, जमदग्नी, वशिष्ठ र विश्वामित्र– सप्तऋषिलाई तर्पण दिइने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणीको नाम दिइएको हो।

यस दिन पवित्र खोला, नदी र तलाउमा नुहाएर सप्तऋषिसहित ब्रह्मा विष्णु महेश्वरको पूजा गरी मन्त्रोच्चारण गरी ब्रतबन्ध गरेका हिन्दु पुरुषहरूले पुरानो जनै फालेर नयाँ लगाउने चलन छ। 

तराईमा राखी 



तराई क्षेत्रमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा रंगीचंगी धागोले बनेको राखी बाँध्ने चलन छ। दिदी बहीनीले दाजुभाइको हातमा राखी बाँधि दिएमा दाजुभाइ दीर्घायु तथा सुस्वास्थ्य रहने जनविश्वास छ। पछिल्ला वर्षमा पहाडी क्षेत्रमा पनि राखी बाँध्न थालिएको छ। 

क्वाँटी खाने चलन



जनैपूर्णिमाका दिन विभिन्न ९ थरीका गेडागुडी मिसाएर बनाइएको झोल परिकार क्वाँटी खाने चलन छ। क्वाँटीको प्रचलन विशेषगरी नेवारी समूदायबाट आएको देखिन्छ। अहिले जनैपूर्णिमाका दिन सबै समुदायका व्यक्तिमा क्वाँटी खाने गरिन्छ। 

क्वाँटी खाने चलनलाई कृषि पेशा र स्वास्थ्यसँग पनि जोडेर हेरिन्छ। मसलासहित गेडाडुडीको झोल बनाएर खाँदा वर्षायाम झरीमा रुझेर खेतीपातीका काम गर्दा लागेको सर्दी जान्छ भन्ने अर्थमा पनि यसलाई लिइन्छ।

टुसा आएको गेडागुडी शरीरका लागि पौष्टिकयुक्त हुने भएकाले पनि क्वाँटी खानु लाभदायक मानिन्छ।

कुन–कुन ठाउँमा लाग्छ मेला ?

जनैपूर्णिमाका अवसरमा देशका विभिन्न धार्मिक पर्यटकीयस्थलमा मेला लााग्ने गरेका छन्। उपत्यकामा ललितपुरको कुम्भेश्वर मन्दिरमा पोखरीमा जनैपूर्णिमामा मेला लाग्दछ। पशुपतिनाथ क्षेत्र जनैपूर्णिमामा विशेष चहलपहल हुने तीर्थस्थल हो। 

यो दिन पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, काठमाडौको मणिचूड दह, सिन्धुपाल्चोकको पाँचपोखरी, दोलखाको शैलुङ, बाजुराको बडीमालिकालगायत धार्मिक क्षेत्रमा ठूलो मेला लाग्ने गर्छ। 

गोसाइँकुण्ड 

जनपूर्णिमाका दिन रसुवाको गोसाइँकुण्डमा विशेष मेला लाग्छ। हिन्दुधर्मावलम्बीसँगै बौद्धमार्गीहरु पनि जर्न पूर्णिमाका दिन गोसाइँकुण्ड जाने गर्छन्। यस दिन गोसाइँकुण्डको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास छ।

जनैपूर्णिमाका दिन कुण्डमा स्नान गर्नाले रोगव्याधि हट्ने विश्वास छ। विभिन्न जिल्लाका झाँक्रीहरु गोसाइँकुण्डमा दर्शन गर्न साथै दैविशक्ति लिनका लागि भन्दै जनैपूर्णिमामा गोसाइँकुण्ड जाने गरेको छन्। 

विशेषगरी रसुवा, नुवाकोट, धादिङ र सिन्धुपाल्चोकका झाँक्रीहरु त्यहाँ पुग्ने गरेका छन्। उनीहरुले ‘गोसाइँकुण्ड मादेउ’ का रुपमा पुज्ने गर्छन्। नयाँ झाँक्रीहरुलाई सिद्धि गर्नका लागि पनि जनैपूर्णिमाका दिन गोसाइकुण्ड लैजाने गरेको नेपाल तामाङ बोम्बो संरक्षण समाजका केन्द्रीय सदस्य नर्बु बोम्बो तामाङले जानकारी दिए।

 

पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विष शान्त पार्न महादेव हिमखण्डको काखमा आएका थिए। महादेवले त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूलधाराको उत्पति भएको र त्यही पानीबाट गोसाइँकुण्डको उत्पति भयो भन्ने किंवदन्ती  छ।

पाँचपोखरी 

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकामा पर्दछ पर्यटकीय धार्मिकस्थल पाँचपोखरी। यो हिन्दू धर्मको महत्व बोकेको धार्मिकस्थल हो। इन्द्रावतीको उद्गमस्थल यी पाँच पोखरी सबैका बेग्लाबेग्लै नाम छन्। पाँच पोखरीका नाम भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड हुन्।

स्कन्धपुराणको हिमवत् खण्डमा पञ्चपोखरी नामको महान् तीर्थस्थलको वर्णन छ। जसलाई तीर्थराज प्रयाग र बाँडगंगा (कुरुक्षेत्र) समानका तीर्थस्थल भनिएको छ।

पाँच पोखरी ताल धार्मिक हिसाबले मात्रै नभएर सुन्दरताका हिसाबले पनि उत्तिकै प्रख्यात छ। 

जनैपूर्णिमाका दिन पाँचपोखरी दर्शन गर्नाले मनोकाक्षा पूरा हुने जनविश्वास छ। पाँचपोखरीमा जनैपूर्णिमाको मेला भर्न प्रायजसो तामाङ समुदायका झाँक्री र उनीहरुका आफन्तहरु पुग्ने गरेका छन्। पाँचपोखरीको तीन पटकसम्म मेला भरेर आएपछि मात्रै झाँक्रीको रुप धारण गर्न पाउने तामाङ समुदायमा विश्वास छ। 

तर, यहाँका बोम्बो झाँक्रीहरु हरेक वर्ष पाँचपोखरी दर्शन गर्न जाने गरेका छन्। उनीहरु विशेषगरी जनैपूर्णिमाकै दिन जाने परम्परा छ। 

जटापोखरी 

हिन्दु र बौद्ध धर्मावम्बीहरुको पवित्र तीर्थस्थल जटापोखरीमा जनैपूर्णिमाका दिन विशेष मेला लाग्छ। दोलखा र रामेछापको सिमाना पर्ने जटापोखरीसँगै पाँच पोखरी पनि छन्। सिन्धुपाल्चोकको पाँचपोखरी जस्तै देखिने यो अर्को प्राकृतिक र धार्मिक तीर्थस्थल हो। 

धार्मिक तथा पर्यटकीय हिसाबले समेत रमणीय सो स्थानमा पुग्नका लागि सहज भने छैन।

जनैपूर्णिमाका दिन पाँचपोखरी र जटापोखरीमा भव्य मेला लाग्छ। सो मेलामा रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक,   ओखलढुंगा, सोलुखुम्बु, काठमाडौं उपत्यका तथा तराई र भारतबाट समेत दर्शनार्थीहरू पुग्ने गर्छन् ।

जटापोखरी र पाँचपोखरी जानका लागि जेठदेखि भदौको १५ सम्मलाई उपयुक्त सिजन मानिन्छ। हिउँदको समयमा हिउँ जम्ने सो क्षेत्रमा धार्मिक रुपमा मात्र होइन हिमाली क्षेत्र मजा लिनका लागि पनि पर्यटक जाने गर्छन्।  

बडीमालिकामा विशेष पुजा 

सुदूर र मध्यपश्चिममा ग्रामीण देवताहरू बाह्र भाइ मष्टा र नौ भवानीका कथा निकै प्रसिद्ध छन्। तीमध्ये बाजुरामा रहेकी बडीमालिका कान्छी मानिन्छिन्। मानव बस्तीभन्दा धेरै टाढा पहाडमाथि बस्ने भएकाले वर्षेनी जनैपूर्णिमामा उनलाई पूजा पुर्याइन्छ। 

जनैपूर्णिमाको एक दिनअघि तीर्थयात्रीहरू बडीमालिका पुग्छन्। समुद्री सतहबाट ४ हजार २१६ मिटर उचाइमा रहेको बडीमालिकामा तीर्थालुहरु ४ दिनको पैदलयात्रा गरेर पुग्ने गर्दछन्। 

बडीमालिकाको सौन्दर्य नियाल्न त्यति सजिलो छैन। धनगढीबाट बसको यात्रा गर्नुपर्छ। दोस्रो दिन सिलगढीदेखि बाजुराको तिपाडासम्म पाँच घन्टाको जिप यात्रापछि जरङमा बास बस्नु पर्दछ। तेस्रो दिन करालीचौर हुँदै चौथो दिन बडीमालिकाको त्रिवेणी पुगिन्छ। पाँचौं दिन बडीमालिका मन्दिर आरोहण गर्न सकिन्छ। बडीमालिका जान हिमाल तथा ठूला–ठूला पहाडमा चढ्नुपर्छ।

जनैपूर्णिमा मेलामा अस्थायी पसलहरू हुन्छ। त्रिवेणी मन्दिरमा रहेको गंगा–जमुना मन्दिरमा नुहाएर बडीमालिकाको दर्शन गर्ने परम्परा छ। मन्दिर दर्शन गरेर आठ घण्टाको ओरालो झरेर नाट्यश्वरी मन्दिरमा पूजा अर्चना गरेपछि भाकल पूरा हुने जनविश्वास रहिआएको छ।

  • प्रकाशित मिति : भदौ ५, २०७८ शनिबार १८:५६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया