एमालेको ‘तेस्रो धार’का कारण बाग्मतीका जनप्रतिनिधि अन्योलमा

नेकपा एमाले औपचारिक रुपमा विभाजन भइसकेपछि प्रदेशदेखि स्थानीय तहसम्ममा असर परेको छ । यसअघि नै केपी ओली समूहमा देखिएका जनप्रतिनिधि नेकपा एमालेमै रहनेमा स्पष्ट छन् भने माधव पक्षमा देखिएकामध्ये धेरैजना अहिले अन्योलमा देखिएका छन् । उनीहरुमध्ये पनि केही माधव नेपाल अध्यक्ष बनेर गठन भएको नेकपा एकीकृत (समाजवादी)मा खुलेका छन् भने केहीले चाहिँ ‘तेस्रो धार’को निर्णय कुरेर बसेका छन् । 

पहिले माधव पक्षमा रहेका, तर अहिले पार्टी विभाजनपछि उनलाई साथ नदिने नेताहरु केन्द्रको मुख ताकिरहेका छन् । माधव पक्षका दोस्रो तहका नेता अझै पनि पार्टी एकताका लागि भन्दै १० बुँदे सहमति कार्यान्वयनका लागि ओलीलाई दबाब दिइरहेका छन् । ओली दुई दिनभित्र सहमति कार्यान्वयनको दिशामा अघि नबढे विद्रोह गर्ने चेतावनी उनीहरुले दिएका छन् ।  

प्रदेशमा ओली समूह बलियो
 
बागमती प्रदेशमा एकल बहुमत रहेको एमालेका ५६ प्रदेशसभा सदस्य छन्।  जसमा ओली पक्षका ३५ र नेपाल पक्षका २१ जना रहेका थिए । तर, माधव नेपाल पक्षकै नेतृत्व गरिरहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य ओली समुहको प्रस्तावमा मुख्यमन्त्री भएपछि प्रदेशको अंकगणित नै परिवर्तन भएको छ ।  

माधव नेपालको नयाँ दल एमाले समाजवादीको केन्द्रीय सदस्यमा बागमती प्रदेशका पाँच सांसदको नाम समावेश थियो। १ सय ९ सांसद रहेको बागमती प्रदेशसभामा एमाले नफुट्दासम्म एमाले एक्लको ५६ सांसद थिए। नेतृ शाक्यले ओली पक्षसँग मिलेर प्रदेश सरकारको जिम्मेवारी सम्हालेसँगै बागमती प्रदेशमा को कुन पक्षमा छन् भन्ने अन्योल भएको छ। एमाले फुटअघि नेपाल पक्षमा रहेका सांसद अब कसको पक्षमा उभिनेछन् भन्ने तत्काल स्पष्ट भइसकेको छैन। 

नेपालले आफ्नो पार्टी नेकपा समाजवादीमा राखेका बागमती प्रदेशका पाँच सांसदमध्ये तीनजनाले कित्ता क्लियर गरिसकेका छन्। नयाँ दलमा राजेन्द्र पाण्डे, मुनू सिग्देल, कृष्णप्रसाद शर्मा खनाल, रमा आले मगर र वसन्त मानन्धरको नाम आएको थियो।  तीमध्ये खनाल प्रदेश सरकारको सामाजिक विकासमन्त्री भएका छन् । रमा आले मगर र वसन्त मानन्धरले एमालेको एकताको पक्षमा रहेको भन्दै तेस्रो धारतर्फ रहेको संकेत गरेका छन् । 

राजेन्द्र पाण्डे बुधबार नेपालसँग दल दर्ताका लागि निर्वाचन आयोग नै पुगेका थिए। यस्तै अष्टलक्ष्मी शाक्यको विश्वास पात्रको रुपमा चिनिएकी नेतृ मुनू सिग्देल भने नयाँ पार्टी तर्फ देखिएकी छिन् । मुनूका पति संघीय सांसद विरोध खतिवडा नेकपा एकीकृत समाजवादी पार्टीको नेतृत्व तहमै छन् । 



को कसको पक्षमा ? 

एमालेको संस्थापन पक्ष अर्थात् कोपी ओली पक्षमा निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलसहित ३५ जना छन् । डोरमणिसहित अजयक्रान्ति शाक्य, आशामाया तामाङ, केशवराज पाण्डे, कैलाशप्रसाद ढुंगेल, गणेशप्रसाद दुलाल, गोमा भुर्तेल, चन्द्र लामा, चेतनाथ सञ्जेल, जुनेली श्रेष्ठ र दावादोर्जे लामा खुलेरै ओली पक्षमका लागेका छन् । 



त्यसैगरी, दीपक निरौला, नारायण सिलवाल, प्रदीप कटुवाल, बद्री मैनाली, बेलीमाया घले, मणिराम फुयाँल, मैना आछामी, योगेन्द्रराज संग्रौला, राजेन्द्र शाक्य, रामकुमार अधिकारी, रामेश्वर फुयाँल, विजय सुवेदी, विनोदकुमार खड्का, शशीजंग थापा, शान्ति थिङ, सरस्वती बस्नेत, सरस्वती बाटी, सरेश नेपाल, सानुकुमार श्रेष्ठ (सभामुख), सीता लामा र ज्ञानेन्द्र शाक्य पनि ओली समूहमै खुलेका छन् ।

तत्कालीन माधव पक्षमा रहेका तर अहिले पार्टी विभाजनमा सामेल नभई तेस्रो धारमा देखिएका नेताहरुको संख्या पनि ठूलै छ । 

अष्टलक्ष्मी शाक्य (मुख्यमन्त्री)सहित अरुणप्रसाद नेपाल, कृष्णप्रसाद शर्मा खनाल (सामाजिक विकासमन्त्री), माधवप्रसाद पौडेल, उर्मिला कर्माचार्य, रचना खड्का, रमा आले मगर, वसन्तप्रसाद मानन्धर, इन्द्रमाया गुरुङ, कुसुमकुमार कार्की, कृष्णप्रसाद भुर्तेल, केशवप्रसाद पोखरेल, जीवन खड्का, देवकी श्रेष्ठ, पार्वती सिलवाल, प्रकाश श्रेष्ठ, मीना ज्ञवाली नेपाल, डा.राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल र शान्तिप्रसाद पौडेल अहिले पार्टी एकताकै पक्षमा लबिङ गरिरहेका छन् ।  

मुनु सिग्देल र राजेन्द्रप्रसाद पाण्डे भने एकीकृत समाजवादीमा खुलेरै लागिसकेका छन् । 

स्थानीय तहमा पनि ओली पक्ष बलियो

बागमती प्रदेशको स्थानीय तहमा पनि नेकपा एमाले बलियो अवस्थामा रहेको छ । १ सय १९ स्थानीय तहमध्ये बागमती प्रदेशमा एमालेबाट निर्वाचित ६४ पालिका प्रमुखमध्ये ३६ जना ओली समूहमा खुलेका छन् ।  केही माधव समूह र केही तेस्रो धारमा रहेका छन् । 

एमालेबाट निर्वाचित ६९ उपप्रमुखमध्ये ३८ जना ओली पक्षमा छन् । जसमा एक पद रिक्त छ । अन्य उपप्रमुखमध्ये केही समाजवादीमा खुलेर लागेका छन् । अधिकांश भने तेस्रो धारको निर्णयको पर्खाइमा छन् । बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका प्रमुख हरिबहादुर महत यस अगाडि नेकपा विवादको बेला ओली पक्षमा देखिएका थिए । अहिले उनी एमाले एक हुनुपर्ने भन्दै तटस्थता जनाएका छन्  । 

यस्तै, उपप्रमुख मीना लामा कता लाग्छिन् भन्ने कुरा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको भूमिकाले प्रभाव पार्ने देखिएको छ । उनी मुख्यमन्त्री शाक्यको शपथग्रहणदेखि हरेक कार्यक्रममा सहभागी भइरहेकी छिन् । 

एमालेले जितेको काठमाडौं महानगरको मेयर विद्या सुन्दर शाक्य ओलीको विश्वास पात्रको रुपमा रहेकोले उनी ओली पक्षमा खुल्ने पक्का रहेको छ । बागमती प्रदेशको एमालेले जितेको ठूला स्थानीय तहमा काठमाडौं महानगर र हेटौंडा उपमहानगरपालिकामा पनि ओली पक्षकै बहुमत देखिएको छ । प्रदेश र स्थानीय तहमा रहेका जनप्रतिनिधिका अनुसार नेकपा एमाले एकताको पक्षमा उभिने धेरै देखिएका छन् । 

एमाले उपाध्यक्ष तथा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यसहित नौजना दोस्रो तहका नेता, जो तेस्रो धारमा रहेर एकताको कुरा गरिहेका छन् उनीहरुको निर्णयपछि मात्रै प्रदेशमा एमाले बलियो कि समाजवादी भन्ने निक्र्यौल हुने देखिन्छ । 

  • प्रकाशित मिति : भदौ ५, २०७८ शनिबार १९:२७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया