अर्थशास्त्रको नोबेल पुरस्कार दुई अमेरिकी प्राध्यापकलाई

यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकी अर्थशास्त्रीलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा भएको छ ।

रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले सोमबार सन् २०१८ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीहरु विलियम डी नोर्धाउस र पाउल एम रोमरलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरेको हो ।

उनीहरूले दिगो र दीर्घकालीन आर्थिक वृद्धि कसरी प्राप्त गर्ने भन्ने सम्बन्धमा वर्तमानमा उठेका अधिकांश प्रश्नको जवाफ खोजेका एकेडेमीले उल्लेख गरेको छ । उनीहरुले बजार अर्थशास्त्रले प्रकृति र ज्ञानसँग राख्ने अन्तरक्रियात्मक सम्बन्धको व्याख्या गर्ने मोडलहरु निर्माण गरी आर्थिक विश्लेषणको क्षेत्रलाई उल्लेख्य रुपमा फैलाएका छन् । 

नोर्धाउस र रोमर दुवै अर्थशास्त्रका प्राध्यापक हुन् । दुवैले अर्थशास्त्रमै पिएचडी गरेका छन् । नोर्धाउस अमेरिकाको न्यु हेभनस्थित येल युनिभर्सिटीमा कार्यरत छन् भने रोमर न्युयोर्कस्थित एनवाइयु स्टर्न स्कुल अफ बिजनेसमा कार्यरत छन् । 

रोमरले ज्ञानले कसरी दीर्घकालीन आर्थिक वृद्धिलाई निर्देशित गर्छ भन्ने कुरा प्रस्तुत गरेका छन् । जब केही प्रतिशतको वार्षिक आर्थिक वृद्धि दशकभन्दा लामो समयसम्म निरन्तर रहन्छ, त्यसले जनताको जिन्दगी नै बदलिदिन्छ ।

यसअघिका म्याक्रोइकोनोमिक रिसर्चहरुले प्रविधिको विकासलाई आर्थिक वृद्धिको पहिलो कारक तत्व मानेका थिए, तर आर्थिक निर्णय र बजारको अवस्थाले कसरी नयाँ प्रविधिको उत्पत्ति निर्धारण गर्दछन् भन्ने स्पष्ट पारेका थिएनन् । पाउल रोमरले यस समस्याको समाधान गरे । उनले इकोनोमिक फेर्सहरुले नयाँ उपाय र प्रविधिको विकासमा फर्महरुको इच्छाशक्तिलाई कसरी नियन्त्रण गर्दछ भन्ने कुरा स्पष्ट पारे ।



१९९० मा प्रकाशित रोमरको यो समाधानले अर्थतन्त्रको ‘इन्डोजिनस ग्रोथ थ्योरी’को जग बसालेको छ । यो सिद्धान्त वैचारिकसँगै व्यावहारिक पनि छ । रोमरको सिद्धान्तले नयाँनयाँ आइडिया र दीर्घकालीन समृद्धिलाई प्रोत्साहन गर्ने नीतिबारे थुप्रै नयाँ खोजहरुलाई जन्म दिएको छ । 

नोर्धाउसले भने समाज र प्रकृतिबीचको अन्तरक्रियात्मक सम्बन्धबारे अन्वेषण गरेका छन् ।



१९७० को दशकमा फोसिल फ्युलको प्रयोगबाट बढ्दै गएको ग्लोबल वार्मिङप्रति वैज्ञानिकहरुको चिन्ता बढ्न थालेसँगै नोर्धाउसले यस विषयमा अध्ययन थालेका हुन् । १९९० को दशकको मध्यतिर अर्थतन्त्र र जलवायुबीचको विश्वव्यापी अन्तरक्रियाबारे एकीकृत एसेसमेन्ट मोडल प्रस्तुत गर्ने पहिलो व्यक्ति बने ।

उनको मोडलले भौतिकशास्त्र, रसायनशास्त्र र अर्थशास्त्रका सिद्धान्तका साथै अनुभवसिद्ध प्रमाणहरुलाई समेटेको छ । उनको मोडल अहिले विश्वभर फैलिएको छ । अर्थतन्त्र र जलवायु कसरी सँगसँगै विकास हुन्छन् भन्ने देखाउन यस मोडलको व्यापक प्रयोग भइरहेको छ ।  
 

  • प्रकाशित मिति : असोज २२, २०७५ साेमबार १७:२०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया