दिव्येश्वरी गेष्ठ हाउसको कोठा नम्बर ११०, बिल धेरै उठेपछि राखियो ‘होक्स बम’

बितेको शनिबार होटलको कोठामा बम राखिएको सूचना भक्तपुर प्रहरीलाई आयो । सूचना थियो, ‘दिव्येश्वरी गेष्ठ हाउसको पहिलो तल्लाको कोठा नम्बर ४ मा शंकास्पद वस्तु छ, नाङगो तार जडान छ । तौलियाले ढाकेको छ, कृपया तपाईंहरू आइदिनुपर्‍याे ।’

भक्तपुर प्रहरीलाई यो सूचना आउनासाथ प्रहरी टोली तत्कालै ‘मूभ’ भयो । प्रहरी वृत ठिमीबाट प्रहरी नायब उपरिक्षक नरहरि रेग्मीको नेतृत्वमा टोली घटनास्थलमा पुग्यो। घटनास्थलको अवस्था बुझेपछि प्रहरीको टोलीले कोठा नम्बर चारमा राखिएको शंकास्पद वस्तुलाई ‘डिस्पोज’ गर्न नेपाली सेनालाई खबर गर्‍याे । त्यसपछि सेनाको टोली आएर करिब साढे दश बजेतिर शंकास्पद वस्तुलाई निष्क्रिय पार्‍याे । 

अनि खुल्यो यो शंकास्पद वस्तुको रहस्य । सेनाले शंकास्पद वस्तु निष्क्रिय बनाउँदा त्यहाँ कुनै विष्फाेटक पदार्थ भेटिएन । भेटियो त केवल- त्यो कुकुरभित्र ब्याट्रीको तार राखी बत्तीको प्लगमा जोडेको । अनि सेनाले भन्योे- यो ‘होक्स बम’ हो ।

के हो ‘होक्स बम’ ?

होक्स अर्थात् फेक बम । यसलाई अझ सरल भाषमा बुझ्ने हो भने नक्क्ली बमलाई ‘होक्स बम’ भनिन्छ । नेपाली सेनाका अनुसार यो सामान्यत : अरूलाई तर्साउनको लागि राखिन्छ । यस्ता बम प्रत्येक वर्ष देशका केही स्थानमा राखेको पाइन्छ ।

सेनाका अनुसार यो भक्तपुरको होटलमा राखिएको बम झैं नै अन्य ठाउँमा पनि प्रेसर कुकर वा झोलाभित्र तार जोडी निकालेर बाहिर छोडिन्छ । नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेल भन्छन्, ‘वर्षभरि यस्ता बम देखा पर्छ, अनि हाम्रो आइडिडीको टोली गएर त्यसलाई निष्क्रिय बनाउने काम गर्छ । तर यो वास्तवमा बम भने होइन, तर्साउनको लागि वा असुलीको लागि मात्र राखिएको हुन्छ।’  



किन राखियो होक्स बम ?

भक्तपुरको मध्यपुर ठिमी-४ मा रहेको दिव्येश्वरी गेष्ठ हाउसमा काभ्रे घर भएका ग्राहक नबिन तामाङ बस्दै आएका थिए ।  बुद्धचित्तको माला बेच्नका लागि उनी कोठा नम्बर ११० मा बस्दै आएका थिए । ३२ साउनबाट होटलमा बस्दै आएका तामाङको बिल धेरै उठन थाल्यो, तर उनको व्यवसायमा खर्च अनुसार फाइदा भएन । 



अनि धेरै बिल उठेपछि होटल सञ्चालकले पैसा माग्न थाले, तर उनले तिर्न सकेनन् । यही विषयमा होटल सञ्चालकसँग उनको झगडा भएको ‘क्लु’ प्रहरीले पायो । यसैलाई आधार बनाएर सोधपुछ गर्दै जाँदा धेरै बिल उठाएकाले ‘होक्स बम’  राखिदिएको तामाङले स्वीकारे । 

बम राखेको तामाङले स्वीकारेपछि भक्तपुर प्रहरीले उनलाई नियन्त्रणमा लियो । भक्तपुर प्रहरी हिरासतमा रहेका तामाङमाथि थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीका प्रवक्ता दीपक गिरीले जनाए । ‘तामाङ बुद्धचित्त मालाको कारोबारी हो, करिब १०/१२ वर्षदेखि यही होटलमा बस्दै पनि आइरहेका थिए । तर यो पटक उसको व्यवसाय चलेन, तर्साउनलाई ‘होक्स बम’ राखे । कुकरमा विष्फोट हुने प्रणाली राखिएको थिएन, तर्साउन मात्र खोजेको जस्तो पनि देखिन्छ,’ प्रवक्ता गिरीले भने ।

तामाङले होटललाई चालीस हजार रुपैयाँ तिर्नुपर्ने रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । तामाङमाथि विस्फोटक पदार्थ सम्बन्धी कसुर मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।  

  • प्रकाशित मिति : भदौ ६, २०७८ आइतबार १४:१८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया