राष्ट्रपति भण्डारीले ग्रहण गरिन् राजोपाध्यायहरुको श्रावणीकर्मको राजकलशको अभिषेक

राष्ट्रपति विद्यादेवी भण्डारीले उपत्यकाका ब्राह्मण राजोपाध्यायद्वारा श्रावणीकर्ममा स्थापना गरिएको राजकलशको अभिषेक ग्रहण गरेकी छिन् । 

आइतबार राष्ट्रपति भण्डारीले राष्ट्रपति भवन‚ महाराजगञ्जमा काठमाडौं उपत्यकाका ब्राह्मण राजोपाध्यायहरूको कान्तिपुरीय उपाकर्म गुठीद्वारा श्रावणीकर्ममा स्थापना गरिएको राजकलशको अभिषेक ग्रहण गरेकी हुन् । 
 
श्रावण पूर्णिमाका दिन उपाकर्म गुठीका गुठियारहरूद्वारा शोभाभगवतीको विष्णुमती तथा भद्रमतीको दोभानमा विधिपूर्वक श्रावणी स्नान गरी नव यज्ञोपवित धारण गर्दछन् । त्यसपछि अरुन्धतीसहित सप्तर्षिको पूजाका साथै राजकलश स्थापना गरी श्रावणी यज्ञ गरिने परम्परा रहेको छ । 

देवतर्पण‚ ऋषितर्पण र पितृतर्पणका साथै विधिपूर्वक दिवंगत पितृगणमा फलपिण्ड दान गरी श्राद्ध गरिनुका साथै सप्तर्षिको प्रसादस्वरूप कुलका थकालीका हातबाट रक्षाबन्धन (डोरो) बाँध्ने गरिन्छ ।

यसरी श्रावणीकर्म सम्पन्न भएपछि विधिपूर्वक स्थापना गरिएको राजकलश राष्ट्राध्यक्षलाई अभिषेक तथा रक्षा बन्धन गर्ने परम्परा रहेको छ । राष्ट्राध्यक्षबाट दक्षिणास्वरूप एघार चाँदीका मोहर दिने गरिन्छ । 

मुलुकमा गणतन्त्रको स्थापनापछि राजकलश राजदरबारमा पुर्याउने परम्परा केही वर्ष टुटेको भए पनि गत केही वर्षयता राष्ट्राध्यक्षको रूपमा राष्ट्रपतिलाई अभिषेक गराउने चलन छ । 





  • प्रकाशित मिति : भदौ ६, २०७८ आइतबार २१:१५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया