हेटौंडाका दुई युवाको ‘अपहरण’: यसकारण बन्दैछ थप रहस्यमय

हेटौंडाका दुई युवा अपहरणमा परेको भन्दै प्रहरीले उद्दार गरेको छ । अपहरण गरेर भारत पुर्याइएका भनिएका दुई युवालाई मकवानपुर प्रहरीले उद्धार गरेर हेटौंडा ल्याएको हो ।

यी दुई युवालाई भारतको मोतिहारी पुर्याएर बन्धक बनाइएको सूचना प्रहरीले पाएको थियो ।

उनीहरुलाई सकुशल उद्धार गरेर प्रहरीले शनिबार राति हेटौंडा फर्काएको छ । 

अपहरणमा हेटौंडा ९ स्वागत टोलमा बस्ने २३ वर्षका गोविन्द श्रेष्ठ र २२ वर्षका पवन राना मगर परेका थिए । उनीहरु ३ भदौमा साढे ९ बजे हेटौंडा बसपार्कबाट वीरगन्ज गएको र त्यहाँबाट रक्सौल घुम्न गएको उनीहरु दुवैले पत्रकारहरु समक्ष बताएका छन् । 

अपहरणमा परेका भनिएका २२ वर्षका रानाले चाहिँले आफू काम परेर वीरगन्ज गएको बताएका छन् । अनि त्यहाँबाट नै आफूहरु अपहरणमा परेको उनको कुराले संकेत गरेको छ ।

यता, प्रहरीले चाहिँ उनीहरुलाई हेटौंडा बसपार्कबाट नै अपहरण गरिएको र भारतको मोतिहारी लगेर बन्धक बनाएर परिवारसँग ५ लाख फिरौती मागेको मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताएका छन् ।



तर, अपहरित रानाले चाहिँ आफूहरु रक्सौलसम्म आफ्नै खुसीमा पुगेको र त्यहाँ पुगेपछि मात्र आफूहरुलाई अपहरण गरेर परिवारसँग फिरौती मागिएको बताएका छन् ।

उनका अनुसार अपहरणकारीले उनीहरुको कन्चटमा बन्दुक राखेर परिवारसँग भिडियो कल गराएका थिए । आफूहरुले प्रहरीलाई अपहरणकारीको फोन नम्बर दिन सफल भएको र त्यही आधारमा आफ्नो उद्धार भएको पनि उनले बताएका छन् ।



मकवानपुर प्रहरीका अनुसार उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा शनिबार राति ११ बजेर ५५ मिनेटमा सकुशल अपहरण मुक्त गरी आइतबार बिहान ६ बजे जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याएर आफन्तको जिम्मा लगाइएको छ । 

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताएका छन् । तर, यो घटनाले अनेकौं प्रश्न सिर्जना गरेको छ, जुन अनुसन्धान पछि मात्रै खुल्ने देखिन्छ । 

अपहरण परेका दैनिक ज्यालादारी, मिस्त्री काम गर्ने दुई युवाले दिएको बयान र र प्रहरी दिएको जानकारी कसरी फरक भयो ? यी युवाहरु स्वयंले आफूहरुले मदिरा सेवन गरेको र वीरगन्जमा काम परेर गएको बताएका छन्, तर प्रहरीले उनीहरु हेटौंडा बसपार्कबाट नै अपहरणमा परेको बताएको छ । यो कसरी सम्भव भयो ?

  • प्रकाशित मिति : भदौ ७, २०७८ साेमबार ७:२५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया