चलचित्र क्षेत्रमा सुन्दरताको व्यापार हुन्छ : करिश्मा मानन्धर

नेपाली चलचित्र क्षेत्रमा अभिनेत्री करिष्मा मानन्धरको सुन्दरतालाई लिएर निकै चर्चा हुने गरेको छ । नेपाली सिने उद्योगमा लामो समय गुजारेकी करिष्माले निकै हिट फिल्म दिएकी छन् । केही संस्थाले उनलाई महानायिकाको उपाधि समेत दिन भ्याएका छन् । उनलाई सदाबहार सुन्दरी भनेर पनि सम्बोधन गरिन्छ।

चलचित्र क्षेत्रमा खासै काम नगर्दा पनि करिश्माकाे चर्चा भने सेलाएन । उनको यो चर्चालाई सिने उद्योगसँग सरोकार राख्नेहरूले उनको सुन्दरतासँग जोड्ने गरेका छन् । करिश्माले भने आफू सुन्दर भएकैले मात्रै लामो समयसम्म नचलेको दाबी गरेकी छन् । उनले शनिबार काठमाडौं मलमा ‘अमिरा ब्यूटी केयर’को उद्घाटन कार्यक्रममा सुन्दरताले चलेको भन्ने भनाइ गलत रहेको बताएकी हुन् ।

कार्यक्रममा करिश्माले भनिन्, ‘मैले चलचित्र क्षेत्रमा निकै लामो यात्रा तय गरेँ । यो सौभाग्य कमै कलाकारले मात्रै पाउँछन् । म त्यो भाग्यमानी कलाकार हुँ ।’ उनले प्रश्न गर्दै भनिन्, ‘मैले कसरी सुन्दरताकै कारण यति लामो यात्रा गरेँ भन्न मिल्छ र ?’ करिश्माले आफ्नो सुन्दरताले अभिनय कौशललाई  छायाँमा नपारेको बताएकी छन् ।

उनले आफ्नो अभिनय औसत रहेको भने स्वीकार गरेकी छन् । भनिन्, ‘मेरो अभिनय क्षमता औसत नै हो । वसन्ती, शुभकामना लगायतका चलचित्रमा मलाई मेरो काम मन परेको थियो । यी चलचित्रबाट मैले अवार्ड पाउँनुपर्थ्याे भन्ने लाग्छ ।’ चलचित्र क्षेत्रमा सबै राम्रा कामले तारिफ नपाउने समेत उनले बताएकी छन्। ‘सबै तालमेल नमिलेर यस्तो भएको हुनुपर्छ’, उनले भनिन् ।

आफू सुन्दरताले नचलेको बताउँदै गर्दा करिश्माले चलचित्र क्षेत्रमा सुन्दरताको व्यापार हुने जिकिर गरिन् । सुन्दरतासँगै कलाकारले आफ्नो अभिनय क्षमतालाई बलियो बनाउँदै लैजानु पर्ने उनको तर्क छ ।

 





  • प्रकाशित मिति : भदौ ७, २०७८ साेमबार १४:३९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया