नेपालको एकीकृत समाजवादी पार्टीलाई योगेशले भने– एमालेको फोटोकपी, तेस्रो एमाले

नेकपा एमालेका सचिव योगेश भट्टराईले माधवकुमार नेपालले खोल्ने तयारी गरेको एकीकृत समाजवादी पार्टीलाई तेस्रो एमालेको संज्ञा दिएका छन् । उनले एमालेकै विचारधाराका साथ खुल्न लागेको भन्दै नेपालको पार्टीलाई तेस्रो एमाले बताएका हुन् ।

उनले अहिले माधवकुमार नेपालले नयाँ पार्टी गठन गर्नु कुनै पनि अर्थमा सान्दर्भिक नभएको बताएका हुन् ।

‘अहिलेको विचारधारा असान्दर्भिक भएका हुन् भन्ने हामी टुंगोमा पुगेको भए,’ एक रेडियोसँगको अन्तर्वार्तामा योगेशले मंगलबार विहान भने, ‘दल विभाजनका लागि ४० प्रतिशतबाट घटाएर २० प्रतिशतमा ल्याउन अध्यादेश ल्याउन पर्ने नै थिएन ।’ उनले नेपालले हतार नगरेको भए वा नयाँ दलको गठनका लागि आवश्यकता देखेको भए आफूहरु पनि उनीसँगै मिलेर नयाँ पार्टी बनाउन तयार हुने अवस्थामा रहेको पनि बताएका छन् ।

भट्टराईले अहिले नयाँ पार्टीको कुनै आवश्यकता नभएको भन्दै नेपालको पार्टी अहिलेको एमालेकै फोटोकपी भएको पनि बताएका छन् ।

‘केपी शर्मा ओली नेतृत्वको एमाले पहिलो हो, प्रचण्ड नेतृत्वको माओवादी केन्द्र दोस्रो एमाले हो र माधवकुमार नेपालले खोल्न लागेको पार्टी तेस्रो एमाले हो,’ भट्टराईले भने, ‘यो एमालेको फोटोकपी हो, यसको आवश्यकता छैन भनेर मैले उहाँलाई भनेको थिएँ ।’

उनले नयाँ पार्टी खोल्न नेपालले हतार गरेको पनि प्रतिक्रिया दिएका छन् ।



यतिमात्र होइन, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यादेश ल्याएर पार्टी विभाजन सहज बनाउन खोज्नुलाई उनले माछा माछाकै तेलमा फ्राइ भएको पनि बताएका छन् ।

‘उहाँ आफूले खनेको खाडलमा आफैं पर्ने सम्भावना हुन्छ,’ भट्टराईले भने, ‘किन हो थाहा भएन, शेरबहादुरजीले ठूलो खाडल खन्न लाग्नु भएको छ ।’



यसअघि नेकपा एमालेमा माधवकुमार नेपाललाई नै साथ दिँदै आएका भट्टराई पछिल्लो समय एमाले अध्यक्ष ओलीसँग नजिकिएका छन् । उनीलगायत नेकपा एमालेमा नेपाल समूहका नेताहरुले यसअघि ३ साउनमा प्रधानमन्त्रीमा शेरबहादुर देउवाले विश्वासको मत माग्दा विश्वासको मत दिएका थिएनन् ।

त्यसयता बारम्बार एमाले एकताको आवाज उठाउँदै आएका भट्टराई सोमबार बालकोटमा एमाले अध्यक्ष ओलीलाई भेट्न पुगेका थिए ।

  • प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार ८:२५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया