अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानलाई आर्थिक संकट पर्दै गएको छ । यो अवस्थामा चीनले सोमबार तालिबानको कब्जामा रहेको अफगानिस्तानलाई वित्तीय सहयोग गर्ने संकेत गरेको छ । सत्तामा तालिबान पुगेपछि काबुललाई विभिन्न देश तथा संस्थाहरूले आर्थिक सहयोग रोक्का गरेका छन् । तर, चीनले भने युद्धग्रस्त उक्त देशलाई मद्दत गर्नेबारे ‘सकारात्मक भूमिका’ निर्वाह गर्ने बताएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार पत्रकार सम्मेलनमा भने, ‘अफगान संकटको मुख्य दोषी अमेरिका हो र अमेरिकाले अफगानिस्तानलाई पुनःनिर्माणको यो चरणमा छाडेर हिँड्न कुनै पनि हालतमा मिल्दैन ।’ वेनबिनले अफगानिस्तानको अहिलेको बिग्रँदो हालत अमेरिकाकै कारण भएको आरोपसमेत लगाए ।
अहिले अफगानिस्तानका केन्द्रीय बैंकका प्रमुख निर्वासनमा छन् । उनका अनुसार, अमेरिकी मद्दत रोक्का भएपछि अफगानिस्तानले चीन र पाकिस्तानतिर आशाको नजर दौडाएको छ । यो भनाइबारेको प्रश्नमा प्रवक्ता वेनबिन भन्छन्, ‘म स्पष्ट रूपमा भन्न चाहन्छु- अफगानिस्तानलाई यो हालतमा पुर्याउने मुख्य बाह्य कारक अमेरिका नै हो । यो देशलाई केही पनि नगरी अमेरिका त्यत्तिकै फर्केर जान पाउँदैन । मलाई आशा छ, अमेरिकाले मानवीय सहायता र पुनःनिर्माणमा आफ्नो वचन पूरा गर्ने छ र प्रतिबद्धतालाई कायम राख्ने छ ।’
‘न्युयोर्क टाइम्स’ मा गत साता प्रकाशित एक खबरमा अफगानिस्तानमा आफ्नो अभियान अन्त्य भएपछि पनि अफगान सेन्ट्रल बैंकसँग जोडिएको अर्बौं डलर रकम अमेरिकाको नियन्त्रण रहेको बताइएको थियो । उता, जर्मनीले पनि अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि शरिया कानुन लागू गरेकाले वित्तीय मद्दत नगर्ने बताइसकेको छ । युरोपियन युनियनका अधिकारीले जबसम्म देशको वास्तविक अवस्थाको जानकारी दिइँदैन तबसम्म अफगानिस्तानलाई कुनै पनि भुक्तानी नदिने घोषण गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वेनबिन भन्छन्, ‘चीनले सधैं अफगान नागरिकप्रति मैत्रीपूर्ण नीति अपनाउँदै आएको छ । हामीलाई आशा छ, त्यहाँ अराजकता र लडाइँको तत्कालै अन्त्य हुने छ र अर्थतन्त्र पुनः सुचारु हुने छ । चीन क्षमता निर्माण, शान्ति, पुनःनिर्माण र नागरिकको आजीविकाको स्थितिमा सुधारका निम्ति अफगानलाई मद्दत गर्ने सवालमा सकारात्मक भूमिका निर्वाह गर्ने छ ।’
उनले तालिबानले छिट्टै राजनीतिक योजना बनाउनेमा पनि विश्वास व्यक्त गरे । वेनबिन भन्छन्, ‘हामीलाई यो खबर प्राप्त भएको छ । अफगान मुद्दामा चीनको धारणा सुसंगत र स्पष्ट छ । हामीलाई विश्वास छ, अफगानिस्तानमा एक समावेशी र खुल्ला सरकार बन्न सक्छ । त्यसको विदेश र आन्तरिक नीति हुने छ, जुन विवेकपूर्ण र उदार हुने छ । र, त्यसबाट अन्तर्राष्ट्रिय समुदाय तथा उनीहरुका आफ्ना नागरिकको आकांक्षा एवम् साझा इच्छा पूरा हुन सक्ने छ ।’ उनी थप्छन्, ‘अब अफगानिस्तानमा हाम्रो दूतावासले सामान्य रूपमा काम गर्न थालिसकेको छ । हाम्रो दूतावासद्वारा गरिएको व्यवस्थाका कारण अफगानिस्तानबाट अधिकांश चिनियाँ नागरिक पहिला नै चीन फर्किसकेका छन् ।’
अफगानिस्तानमा तालिबान सत्ता कायम भएपछि संसारका अधिकांश देशले यसको विरोध गरेका छन् । तर, चीनलगायत केही देशले यसमा मौन रहेका छन् या समर्थन नै जनाएका छन् । चीनले अहिले अफगानिस्तानको तालिबान सरकारलाई समर्थन गर्नु र वित्तीय सहयोगका लागि सकारात्मक बन्नुमा उसको अमेरिकाप्रतिको नकारात्मक धारणाले काम गरेको कतिपय विश्लेषकको भनाइ छ ।
विगतमा करिब दुई दशक अफगानिस्तानमा शान्ति स्थापना र पुनःनिर्माणको नाममा अमेरिकाले अर्बौं डलर खन्यायो । तर, त्यो देशले न त पुनःनिर्माणको गति समाउन सक्यो न त शान्ति स्थापना नै भयो । त्यहाँ मौलाएको भ्रष्टाचार, खराब प्रशासनका कारण देशले अपेक्षित विकास गर्न सकेन । अमेरिका यही कारण त्यहाँबाट फर्किएको हो।अमेरिका फर्किएपछि चीनले त्यहाँ हात हाल्ने चाहना प्रकट गरेको छ ।
विगतमा सोभियत संघले समेत त्यहाँ विकास निर्माणका साथै शान्ति स्थापनाका लागि ठूलो धनराशि खर्चिएको थियो । तर, उसले पनि रित्तो हात फर्कनु परेको थियो । चीनको हातमा के पर्ला ? धेरै कुर्नु पर्दैन, निकट भविष्यले नै त्यो देखाउने छ ।
(एजेन्सीहरूको सहयोगमा)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।